पुरानो मेडिकल कलेजमा सुरु भयो न्युरो मेडिसिन सेवा

  २०७९ माघ ५ गते १८:००     विकासन्युज

चितवन । कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरले निःशुल्क न्यूरो मेडिसिन सेवा शुरु गरेको छ । अस्पतालले विशिष्टिकृत सेवा विस्तार गर्ने क्रममा ओपिडि टिकट निःशुल्क गरेर न्यूरो मेडिसिन सेवा शुरु गरेको हो ।

नयाँ सेवाकाे सुरुवातसँगै अस्पतालबाट अब नशाका विभिन्न समस्याहरुको उपचार हुनेछ । अब अस्पतालमा टाउको दुख्ने, माइग्रेन, हातखुट्टा झम्झमाउने, हातखुट्टा बाउडिने, हातखुट्टा पोल्ने, उठ्न बस्न गाह्रो हुने, प्यारालाइसिस, छारेरोग, स्मरण शक्तिमा कमी, पार्किन्सन्स, नशा च्यापिएको लगायत नसा सम्बन्धी सम्पूर्ण समस्याको उपचार हुने अस्पतालले जानकारी दिएकाे छ ।

यस विभागमा उपचार गर्न आउने बिरामीका लागि प्रयोगशाला (ल्याब) र रेडियोलोजी सेवामा ५० प्रतिशत छुट दिईएको अस्पतालले जनाएको छ ।

भारतको एम्सबाट डिएम गरेका न्यूरोलोजिष्ट प्राडा. अभयकान्त तिवारी आएसँगै अस्पतालले यो सेवा शुरु गरेको हो । प्रा.डा. तिवारीसँग ३५ वर्ष लामो अनुभव रहेको छ । अस्पतालमा लामो समयदेखि न्यूरो मेडिसिन सेवा पूर्ण रुपमा सञ्चालन हुन सकेको थिएन ।

यसैगरी उपप्राध्यापक डा. प्रवेश पन्तले पनि सोही विभागबाट सेवा दिंदै आएका छन् । डिएम अध्ययनरत पन्त र प्राडा. तिवारीले न्यूरो मेडिसिन विभागका सम्पूर्ण उपचार सेवा दिँदै आएको अस्पतालले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.