यी ७ नेपाली ब्राण्ड : जो विश्व प्रसिद्ध र महँगो मूल्यमा बिक्छन्

  २०७९ माघ २ गते १७:२७     विकासन्युज

काठमाडौं । नेपालमा केही बन्दैन, एउटा सियो पनि विदेशबाट आयात गर्नु पर्छ भन्ने वाक्यांश तपाईं हामीले बेलाबखत सुनिरहन्छौं । यो वाक्यांशमा पुरै सत्यता भने छैन । नेपालमै उत्पादन गरेर विश्व ब्राण्ड बनेका वस्तुहरु पनि बजारमा धेरै छन् । नेपालमा उत्पादन भएर विश्वमा चर्चित र विश्व ब्राण्डका रुपमा परिचित वस्तुहरुले प्रशिद्धी मात्रै कमाएका छैनन् राम्रै पैसा पनि कमाएका छन् ।

कतिपय वस्तुहरु मानिसको दैनिकी जोडिएका छन् भने कतिपय वस्तुहरु मानिसहरुले सुख सयलका लागि प्रयोग गर्ने गरेका छन् । ती वस्तुहरु विश्व बजारमा पुगेर प्रशिद्धी मात्रै कमाएका छैनन्, अब्बल र प्रतिस्पर्धी पनि बनेका छन् । ती वस्तुहरु विश्व ब्राण्ड बन्ने दौडमा पनि छन् । आज हामीले पाँच नेपाली उत्पादनको विषयमा चर्चा गरेका छौं । जुन वस्तु विश्व बजारमा चर्चित मात्रै छैनन्, महँगो पनि उतिकै छन् ।

दी गोर्खा लेदर

दी गोर्खा लेदर कम्पनी एक विश्व प्रशिद्ध कम्पनी हो । यसले उत्पादन गरेका उत्पादनहरु विश्व बजारमा चर्चित छन् । यो कम्पनीले विभिन्न किसिमका लेदरका झोला तथा पर्सहरुको उत्पादन गर्छ । कम्पनीले उत्पादन गरेको एउटा सामान्य झोलाको मूल्य नै न्यूनतम डेढ लाख रुपैयाँ पर्छ भने पर्सको पनि न्यूनतम ३० हजारदेखि १ लाख बढी पर्छ । यस कम्पनीले विभिन्न रङ्गका पर्स तथा झोलाहरु उत्पादन गर्छ । गोर्खा सैनिकको नामबाट स्थापना भएको यस कम्पनीको स्थापना सन् १९७० मा भएको हो ।

हिमालयन पेट सप्लाई

हिमालयन पेट सप्लाई कम्पनीले कुकुरले खाने छुर्पीको उत्पादन गर्दै आएको छ । घरपालुवा कुकुरहरुलाई खानाका रुपमा प्रयोग गरिने छुर्पी पनि विश्व चर्चित र महँगो उत्पादन हो । यस कम्पनीको अफिस अहिले जापान सिङ्घापुर, अमेरिका, अष्ट्रेलिया लगायत विभिन्न ठाउँमा रहेको छ । यस कम्पनीले १५० अमेरिकी डलबर बढीको मूल्य तोकेको छ । छुर्पी नेपालमा उत्पादन भएर निर्यात हुन्छ । निर्यात भएको छुर्पीबाट हिमलायन पेट सप्लाईले कुकुरको खानाका रुपमा उत्पादन गरेर बिक्री गर्दै आएको छ । नेपाली युवा–युवतीबीच लोकप्रिय छुर्पी (दुर्खा) अमेरिकामा कुकुरका लागि पोषिलो खाना मान्निछ । कम्पनीले वार्षिक करिब ५० करोड रुपैयाँको छुर्पी अमेरिका निर्यात गर्ने गरेको बुझिएको छ ।

कोबोल्ड वाच

कोबोल्ड वाच आकर्षक डिजाइनको घडी उत्पादन गर्ने कम्पनी हो । यस कम्पनीले उत्पादन गरेको घडी रोलेक्स घडी भन्दा पनि महँगो पर्ने बताइएको छ । काठमाडौंको कोबोल्ड वाच कम्पनीले निर्माण गरेको कोबोल्ड हिमालय घडीको मुख्यालय भने अमेरिकामा छ । डायलमा सगरमाथाको चट्टान र अधिक चिसो खप्न सक्ने क्षमताकै कारण कोबोल्ड हिमालय सिरिजका घडी यूरोपेली मुलुकका नागरिकको पहिलो रोजाइ बनेको कम्पनीको दाबी छ ।

सगरमाथाबाट ल्याएर यस घडीमा पत्थर राखिएको कारण यो घडी महँगो हुने बताइएको छ । कोबोल्ड कम्पनीले बनाएको एउटा घडीको मूल्य नै १५ हजार बढी अमेरिकी डलर पर्छ । यो घडी मुख्यतः अमेरिका, नेपाल र जर्मनीमा बन्छ । यो घडीको मूल्य २ लाखदेखि झण्डै १७ लाखसम्म पर्छ । निर्यातभन्दा पनि नेपाल आउने विदेशीहरूले कोबोल्ड हिमालय सिरिजका घडी खरीद गर्ने गरेका छन् ।

शेर्पा एड्भेञ्चर गियर

हिमाल आरोहणमा वा हाइकिङमा प्रयोग हुने कपडाका लागियो कम्पनी प्रशिद्ध छ । यसमध्ये शेर्पा एड्भेन्चरले ज्याकेट, डाउन ज्याकेट, स्वेटर, हुकलगायतका उत्पादनका माध्यमबाट विश्वका धेरै मुलुकमा न्यानो छरेको छ । शेर्पा एड्भेन्चर गियरले त अमेरिकामा आउटलेट नै खोलिसकेको छ । त्यस्तै विभिन्न डिलर र प्रयोगकर्तामार्फत शेर्पाका उत्पादन पश्चिमा देश विशेषगरी यूरोपेली मुलुकहरूमा निर्यात हुन्छन् । यस कम्पनीको सामान महँगो पनि उतिकै हुन्छ ।

यार्सागुम्बा ह्विस्की

नेपालको हिमाली भेगमा पाइने सर्वगुण सम्पन्न टिपिकल वस्तु हो ‘यार्सागुम्बा’ । जसले विश्व बजारमा नेपालको पहिचान दिलाउँछ । त्यही यार्सागुम्बाकै कारण पनि नेपाल विश्वमा चिनिन थप मद्दत पुगेको छ । अहिले नेपाली उत्पादन यार्सागुम्बा ह्विस्की पनि एक चर्चित ब्राण्ड बनेको छ ।

विश्व बजारमा स्थापित पेयपदार्थहरुलाई टक्कर दिँदै यार्सागुम्बा चर्चित ब्राण्डका रुपमा अगाडि बढेको छ । यस कम्पनीले हिमाली भेगमा पाइने यार्सागुम्बा संकलन गरी ह्विस्की उत्पादन गर्छ । कम्पनीले पेय पदार्थ उत्पादन गर्न सुरु गरेको धेरै समय भएको छैन । तर, छोटो समयमा नै विश्व बजारमा लोकप्रियता पाएको छ । यो ब्राण्डको ह्विस्कीको मूल्य न्यूनतम २५० डलर पर्छ ।

गोल्ड स्टार

किरण शूज म्यानुफ्याक्चरिङ प्रालिले उत्पादन गर्ने गोल्डस्टार जुत्ता पनि विश्व बजारमा आफ्नो उपस्थिति जनाइसकेको छ । हाल भारतसँगै अष्ट्रेलिया, ओमान, कतार, जापान, अमेरिका, मलेसिया, साउदी र मोरक्कोमा गोल्डस्टार जुत्ता निर्यात हुन्छ । बाँकी विश्वबजारमा भने अधिकृत बिक्रेताहरूमार्फत् पुगिरहेको छन् ।

अहिले गोल्डस्टार जुत्ता लगाउने स्वदेशीभन्दा पनि विदेशी बढिरहेका छन् । कोरोनाअघिको समयमा गोल्डस्टारले भारतमा एक किसिमको बजार स्थापित गरेको थियो । अहिले पनि ‘रि–स्टाबिलिस’ हुने प्रयासमा गोल्डस्टार छ । कुल उत्पादनको ५० प्रतिशत भारत निर्यात हुने कम्पनीका अध्यक्ष अमिर प्रताप अध्यक्ष राणा बताउँछन् । सन् २०१५ मा कम्पनीले बढी निर्यात गरेर बढी कर तिरेवाफत उत्कृष्ट करदाताको रुपमा पनि सम्मानित भएको थियो । उद्योगले दैनिक दैनिक एक लाख जोर जुत्ता उत्पादन गर्दै आएको छ । सन् २०१५ मै यो उद्योगले ३ अर्ब रुपैयाँको निर्यात गरेको थियो । ३ हजारले रोजगारी पाएको किरण सुज उद्योग उद्योग गत वर्ष सबैभन्दा बढीलाई रोजगारी दिने कम्पनीका रुपमा सम्मानित पनि भएको थियो ।

‘हामी अझै धेरै देशमा निर्यात गर्ने तयारी गरिरहेका छौं, कोभिडपछि धेरै व्यवसायलाई ‘रि–स्टाबिलिस’ हुन गाह्रो छ, धेरै देशको नीति परिवर्तन पनि भएको छ, हामीलाई अब सरकारको पनि साथ चाहिन्छ,’ राणा भन्छन्, ‘म सबैभन्दा बढी मानिसलाई रोजगारी दिने, उच्च करदाता बन्ने र गोल्डस्टारलाई ग्लोबल ब्राण्ड बनाउने प्रयासमा छु ।’

वाइवाइ

वाईवाई चाउचाउ पनि नेपाली ब्राण्ड हो । नेपालका एक मात्रै डलर अर्बपति विनोद चौधरीको चौधरी ग्रुपले उत्पदान गर्ने वाइवाइ चाउचाउ अहिले विश्व ब्राण्ड बनेको छ । चौधरी ग्रुपको वाइवाइ चाउचाउ दक्षिणएशिया, जापान, क्यानाडा, बेलायत, अमेरिकालगायत विश्वका ३० भन्दा बढी राष्ट्रमा निर्यात भइरहेको छ । अहिले विश्वमा साढे दुई अर्ब प्याकेट बिक्री भइरहेको वाइवाइ ले विश्वको चाउचाउ बजारको २.३ प्रतिशत हिस्सा ओगटेको चौधरी ग्रुपको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.