दैजीछेला औद्योगिक क्षेत्रको काम अघि बढ्यो, २ हजारले रोजगारी पाउने

  २०७९ पुष १३ गते १६:३३     विकासन्युज

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकास्थित दैजीछेला औद्योगिक क्षेत्र निर्माणको काम शुरू भएको छ ।

अढाई दशकदेखि चर्चामा रहेको औद्योगिक क्षेत्र निर्माणस्थलका लागि रुख छपानको काम शुरू भएको नगर प्रमुख भोजराज बोहराले बताए ।

‘प्रस्तावित औद्योगिक क्षेत्र निमार्णस्थलका लागि २५ हजार रुख छपानको काम शुरू भएको छ,’ उनले भने, ‘रुख छपान सकिएपछि निर्माणअघि बढ्छ यसका लागि सरकारले १ अर्ब रुपैयाँ बजेट विनियोजन गरिसकेको छ ।’ औद्योगिक क्षेत्रको २ वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।

रुख छपानको काम शुरू भए पनि जग्गाको स्वामित्व हस्तान्तरण हुन बाँकी रहेको बालाजुस्थित औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ ।

‘वन कार्यालयबाट रुख छपानको काम शुरू भएको छ । जग्गाको स्वामित्व हस्तान्तरण प्रक्रियामै छ,’ लिमिटेडका सूचना अधिकारी प्रकाश खड्काले भने, ‘बजेट अपुग र ईआईई लगायतको कामले निमार्णमा ढिलाइ भएको हो ।’ उनले झन्झटिलो प्रक्रिया र सरकारको प्राथमिकतामा नपर्नुले पनि औद्योगिक क्षेत्र निमार्णको कामले गति लिन नसकेको बताए ।

औद्योगिक क्षेत्र स्थापनाका लागि वडा नम्बर २ स्थित जनचेतना सामुदायिक वन र वडा नम्बर ३ स्थित वेदकोट सामुदायिक वनको ९०० बिघा जमिन उपलब्ध गराउने घोषणा गरिएको थियो । कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले दैजीछेला औद्योगिक क्षेत्रको चर्चा धेरै भएकाले अब स्थापनामा ढिलाइ गर्न नहुने बताए ।

‘महाकाली नदीमा बनेको ४ लेनको पक्की पुल भारतको एसियन राजमार्गसँग जोडिए मात्रै औद्योगिक क्षेत्रले सार्थकता पाउँछ,’ उनले भने, ‘औद्योगिक क्षेत्र र नाका भारतसँग जोड्न सरकारले प्राथमिकताका साथ काम गर्नुपर्छ ।’

औद्योगिक क्षेत्रका लागि २०६६ सालमा जिल्ला वन कार्यालयले जग्गा उपलब्ध गराउने निर्णय गरेपछि जनचेतना सामुदायिक वन र बेदकोट सामुदायिक वनको ९०० बिघा जमिन दिने निर्णय भएको थियो । मन्त्रिपरिषद्ले पनि ४ किल्लाभित्र औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरिसकेको छ । डीपीआर र र्ईआईएको काम समेत सम्पन्न भइसकेको छ ।

दैजीछेला औद्योगिक क्षेत्रभित्र खाद्य, वन तथा कृषि, धातु, प्लास्टिक, इन्जिनीयरिङ र फेव्रिकेटिङ, मिनरल वाटर, कागज, सिमेन्ट, छड लगायत १०० उद्योग स्थापना गर्न सकिने अध्ययन प्रतिवेदनमा उल्लेख छ । औद्योगिक क्षेत्र स्थापना भए २ हजार बढी व्यक्तिले रोजगारी पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.