चुनौतिपूर्ण अर्थतन्त्रलाई सुधार्ने पहिलो कामः प्रधानमन्त्री दाहाल

  २०७९ पुष १२ गते ७:४२     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको जटिल र चुनौतिपूर्ण अर्थतन्त्रलाई सुधार्ने पहिलो काम भएको बताएका छन् । नयाँ सरकार गठन भएपछि बसेको मन्त्रीपरिषद्को पहिलो बैठकले यस्तो निर्णय गरेको प्रधानमन्त्री दाहालले बताए ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको नवनिर्मित मन्त्रीपरिषद्को पहिलो बैठकपछि उनले नेपालको अर्थतन्त्र जटिल भएकाले त्यसलाई सुधार्ने, प्रभावकारी उपायबाट समाधान गर्ने आफ्नो सरकारको मुख्य प्राथमिकतामा रहेको बताए । उनले अबको सरकारले सुशासन कायम गर्नेपनि बताए ।
उनले राहदानी, लाइसेनमा सर्वसाधारण जनताले खेप्नु परिरहेको समस्यालाई समाधान गर्नेकुरा पनि पहिलो प्राथमिकतामा रहेको बताए । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले चाँडै प्रतिनिधि सभाको बैठक बोलाउने निर्णय गरेको पनि बताए । प्रधानमन्त्री दाहालले गम्भीर रुपले देश र जनताका समस्याहरुको सम्बोधन गर्ने प्रतिवद्धता जनाए ।

‘जनतामा एउटा आशा र भरोसा बढेको देखिएको छ, थुप्रै जटिलता र चुनौतिहरु छन्, निर्वाचनमा मतदान जस्तो प्रकृति देखियो, परिणाम जस्तो देखियो त्यसलाई समेटेर मन्त्रीपरिषद् बनेको छ, नेपालको अर्थतन्त्र जटिल र चुनौतिपूर्ण दिशातिर छ, सुधार्ने, प्रभावकारी बनाउने हो, सुशासनतिर गम्भीर ढंगले अघि बढ्ने हो, जनताले ठाउँठाउँमा पाइराखेका सास्ती र दुःखलाई कम गराउन जस्तो राहदानी, लाइसेन सम्बन्धी लामा लाइन देखेका छौँ, यसको प्रभावकारी सेवा दिने किसिममा केन्द्रित भएका छौँ,’ उनले भने ।

प्रधानमन्त्री दाहालले मन्त्रीपरिषद्मा आएका सबैको केही नयाँ काम गर्ने हुटहुटीले गर्दा आफू स्वतन्त्र भएर देश र जनताको लागि काम गर्ने स्पष्ट पारे । सोमबार प्रधानमन्त्री दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री पदको शपथग्रहण गरेका थिए । प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेले पनि पद तथा गोपनियताको शपथग्रहण गरेका थिए । ८ सदस्यीय मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, नेकपा (माओवादी केन्द्र) बाट उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधान एवं गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं सांसद रवि लामिछानेले शपथग्रहण गरेका थिए । त्यस्तै मन्त्रीहरु मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानले पनि मन्त्रीको पद तथा गोपनियताको शपथग्रहण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.