एनआईबिएल ग्रोथ फण्डले बिजनेस ग्रोथ हेरेर लगानी गर्छ, लगानीकर्तालाई डबल फिर्ता दिन्छ : डीसीईओ थापा

  २०७९ पुष ६ गते १३:३५     विकासन्युज


एनआईबिएल एस क्यापिटलले पुस ७ गते बिहीबारदेखि हालसम्मकै ठूलो म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ । क्यापिटलले एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईबिएल ग्रोथ फण्ड नामक म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो । लगानीकर्ताहरुले यो फण्डमा छिटोमा पुस १२ गते र ढिलोमा पुस २१ गतेसम्म आवेदन दिन सक्नेछन् । एनआईबिएल एस क्यापिटलले ल्याउन लागेको ग्रोथ फण्ड कस्तो हो, के छ योजना, लगानीकर्तालाई कति प्रतिफल दिने लक्ष्य राखेको छ ? यिनै विषयमा केन्द्रित भएर एनआईबिएल एस क्यापिटलका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मेख बहादुर थापासँग विकासन्युजका सीआर भण्डारीले कुराकानी गरेका छन् ।

एनआईबिएल ग्रोथ फण्ड ल्याउँदै हुनुहुन्छ । यो कस्तो प्रकारको फण्ड हो ?

एनआईबिएल ग्रोथ फण्ड बन्दमूखी प्रकारको फण्ड हो । यसकोआकार १ अर्ब ६० करोड रुपैयाँको हो । ओभर सब्स्क्राइब भयो भने वा बढी आवेदन पर्याे भने २५ प्रतिशतसम्म बढाउन पाउने व्यवस्था छ । ओभर सब्स्क्राइब्ड भयो भने २ अर्बसम्मको आकार हुन सक्छ । यसैले यसलाई हालसम्म कै ठूलो योजना भनिएको हो । एनआईबिएल ग्रोथ फण्ड अन्य फण्डको नेचरमा कुनै फरक छैन । एनआईबिएल एस क्यापिटलले एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत एनआईबिएल समृद्धि फण्ड-१ (परिपक्व), एनआईबिएल प्रगति फण्ड (अर्काे वर्ष परिपक्व हुने), एनआईबिएल समृद्धि फण्ड-२ र एनआईबिएल सहभागिता फण्ड निष्काशन गरिसकेको छ ।

ग्रोथ फण्डले मुख्य लगानी इक्विटीमा गर्ने हो । ग्रोथ फण्ड भएकाले पनि यसको ग्रोथ गर्नुपर्छ । फण्डको डिभिडेण्ड पे आउट पनि बजारको माग अनुसार नै वितरण गर्ने हो । ग्रोथ फण्डमा धेरै लाभांश वितरण नगर्ने निती लिएको हुन्छ । लगानीकर्ताहरुले ऋणपत्र, मुद्दती निक्षेपमा लगानीमा रकम होल्ड गरिरहेका हुन्छन् ।

एनआईबिएल ग्रोथ फण्डका विशेषता के-के हुन् ?

एनआईबिएल ग्रोथ फण्ड बजारमा आइरहेका फण्ड जस्तै हो । यसको साइज ठूलो भएको हुँदा फ्लेक्जिबिलिटी हुन्छ । ग्रोथ फण्ड भएको हुँदा सकेसम्म इक्विटीहरु छनोट गर्दा दीर्घकालमा राम्रो ग्रोथ गर्न सक्ने कम्पनी, रेभिन्यू गर्न सक्ने, बिजनेश ग्रोथ राम्रो भएको इक्विटीलाई विशेष प्राथमिकतामा राखिएको छ । जसले गर्दा अल्पकालमा कम पर्फमेन्स गरेर दीर्घकालमा राम्रो ग्रोथ गर्ने यो फण्डको उद्देश्य हुन्छ । ठूलो साइजको भएको हुनाले पनि धेरै नाफा उठाउन सजिलो हुन्छ । एभरेजिङ गर्नुपर्याे भनेपनि बजारको उतारचढावमा प्ले गर्न सकिन्छ ।

सेयर बजार घटेर तल्लो तहमा पुगेको छ । म्युचुअल फण्डमा पनि आकर्षण कम देखिन्छ । लगानीकर्ताको मनोबल पनि घट्दो छ, यो बेला फण्ड बिक्री हुन सक्छ

अहिले बजारमा लो लागेको छ । लो लागेको लामो समय भइसकेको छ । बजार वियरिस ट्रेण्डिङमा छ । कम्पनीहरुको सेयर मूल्य दयनीय छ । बैंकहरुको सेयर मूल्य डेढदुई सयको हाराहारीमा झरेको छ । बीमा लगायत अन्य सेक्टरको पनि धेरै कम मूल्यमा कारोबार भइरहेको छ । सेयर बजारको स्थिति हेर्ने हो भने म्युचुअल फण्ड किन्ने अवसर उपयुक्त समय हो । किनभने बजारको सुन्दरता भनेको हाई पछि लो आउनु र लो पछि हाई हुनु हो । अहिले हेर्दा यहि नै उपयुक्त समय हो । लगानी सुरु गर्नका लागि ज्यादै नै उपयुक्त समय छ ।

ठूलो फण्ड भएको हुनाले फर्दर बजार घटेपनि एभरेज गर्दै किन्न सक्ने यो फण्डको क्षमता हुन्छ । भोलिका दिनमा बढ्यो भने फाइदा लिन अवश्य नै सकिन्छ । यो फण्डबाट छानि छानि सेयर किन्ने मौका हुन्छ । मज्जाले विश्लेषण गरेर हरेक सेक्टरको कुन राम्रो सेयर हो, कति मूल्यमा किन्ने हो र अझै नेगोसेसन गरेरै किन्न सक्ने क्षमता छ ।

अर्काे साइटमा हेर्दा लगानीकर्तामा नैराश्यता छ । सेयर बजार घटेर मात्रै होइन समग्र आर्थिक अवस्थाले गर्दा निराशजनक स्थिति देखिन्छ । अलिकति फण्ड उठाउन गाह्रो हुन्छ की भन्ने लागेको छ । तर, आईपीओको ट्रेण्ड हेर्ने हो भने १२/१३ लाखभन्दा बढी नै आवेदन परेको छ । फण्डमा यति धेरै आउँदैन तरपनि अहिले फण्ड जारी गर्दा विदेशमा पनि रिचआउट गर्ने कोशिस भइरहेको छ । सर्वसाधारणमा सहभागिता कसरी बढाउने भनेर जोड दिइरहेको छौं ।

साथै, सर्वसाधारणलाई म्युचुअल फण्ड कस्तो लगानीको माध्यम हो भनेर बुझाउन सचेतनामुलक काम पनि भइरहेको छ । बजारको यस्तो स्थिति भएपनि सर्वसाधारणको सहभागीता उल्लेख्य हुन्छ भन्ने अपेक्षा छ । कतिपय संस्थाहरुसँग कुरा पनि भइसकेको छ । संस्थाहरुले दीर्घकाल फण्ड हो भनेर बुझेका छन् । लगानी गर्न राम्रो मौका भएकाले फण्ड बिक्री हुन्छ ।

म्युचुअल फण्डको सेयर मूल्य घटेको बेला असर गर्छ की ?

यसले पनि प्रभाव पार्छ । यसले सर्टटर्म ट्रेडरलाई प्रभाव पार्ने हो । जसले लङ्टर्म होल्ड गर्छु भनेर मनस्थिति बनाएर खरिद गर्नुभएको हुन्छ उहाँहरुलाई यसले ठूलो असर पार्दैन । बजारमा रिफ्लेक्ट हुन्छ । मेरो लगानीको मूल्य घट्छ की वा वर्थ नै घट्छ की भन्ने महशुस हुन्छ । तर, बजार यहाँभन्दा धेरै तल झर्ने ठाउँ छैन । राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क हेर्ने हो भने अर्थतन्त्र सुधारोन्मुख छ । विस्तारै सुधार हुँदै जाँदा सेयर बजार पनि सुधार हुँदै जाने देखिन्छ । जसलाई तत्काल पैसा चाहिएको छ उसलाई मात्रै सेयर मूल्यले असर गर्ने हो । दीर्घकाल लगानी गर्नेलाई केही फरक पर्दैन ।

कसैले बढेको बेला म्युचुअल फण्ड खरिद गर्ने भन्नुहुन्छ भने कसैले घटेको बेला । यसले लगानीकर्तामा दुविधा पार्दैन ?

म्युचुअल फण्ड दीर्घकाल इन्स्ट्रुमेन्ट हो । म्युचुअल फण्ड खरिद गर्न सधैं उपयुक्त समय हो । घटेको बेला पनि किन्ने हो । बढेको बेला पनि किन्दा उपयुक्त हुन्छ । म्युचुअल फण्ड खरिद गरेर दीर्घकालका लागि होल्ड गर्याे भने जहिले पनि किन्दा पनि हुन्छ । घटेको बेला होस् वा बढेको होस् । किनभने म्युचुअल फण्डले आ-आफ्नो रणनीति बनाएको हुन्छ । जहिले पनि बजार घट्दा म्युचुअल फण्ड बजारभन्दा कम घट्छ । बढ्दा खेरि पनि बजारभन्दा कम बढ्छ । म्युचुअल फण्ड जोखिम कम गर्ने किसिमको लगानी हो ।

बैंकको मुद्दती निक्षेपमा जोखिम हुँदैन । त्यसमा पनि अलिअलि रिस्क त हुन्छ । कुनै-कुनै बैंक डुबेको देखिएकै छ । तर, सामान्यतया बैंकहरुको मुद्दतीमा जोखिम हुँदैन । सर्टेन ब्याजदर पाइन्छ, त्यो फिक्स हो । जस्तो, अहिले मुद्दती निक्षेपमा १२ प्रतिशत ब्याजदर पाइन्छ । जस्तोसुकै संकट आएपनि १२ प्रतिशत नै पाइने हो । घटेर १० प्रतिशत वा बढेको बेला १५ प्रतिशत पनि पाइँदैन ।

बचतबाट माथि उक्लिएर लगानी गर्ने हो भने सबैभन्दा पहिलो खुड्किलो म्युचुअल फण्ड हो । ३२ सय अंकमाथि गएको बजार अहिले १८ सय अंकको हाराहारीमा छ । झण्डै १४ सय त गुमाइसकेको छ । लगानीकर्ताले ४० प्रतिशत लगानी गुमाइसकेका छन् । तर म्युचुअल फण्ड धेरै घटेको छैन । १०/१५ प्रतिशत मात्रै घटेको छ । योभन्दा धेरै घटेको छैन । म्युचुअल फण्डमा लगानी गर्दा केही हदसम्म जोखिम कम हुन्छ ।

त्यसैले म्युचुअल फण्डले बजारको घटबढलाई व्यवस्थापन गरेर कसरी जोखिम गरेर रिटर्न बढी जेनेरेट गर्ने हो । म्युचुअल फण्ड दीर्घकालका लागि जहिले किने पनि राम्रो हो तर सर्टटर्म ट्रेड गर्ने हो भने बियरिस बजारमा गाह्रो हुन्छ । म्युचुअल फण्ड किन्ने नै हो भने लो लागेको बेला हो । अहिले किन्नुभयो भने घट्ने ठाउँ छैन, अब बढ्ने हो । पुरानो म्युचुअल फण्ड वा आईपीओ नै किने पनि अहिलेको समय उचित हो । अहिले किन्दा सस्तो मूल्यमा सेयर पाइन्छ ।

एनआईबिएल ग्रोथ फण्डले कुन-कुन क्षेत्रमा लगानी गर्छ ?

इक्विटीमा ६५/७० प्रतिशत लगानी गर्ने योजना छ । हरेक सेक्टरमा ग्रोथ फ्याक्टर भएको, विजनेश ग्रोथ राम्रो भएका, भविष्यमा राम्रो गर्न सक्ने इक्विटीमा बढी लगानी गर्ने योजना छ । बैंकिङ्ग क्षेत्रमा राम्रोसँग अध्ययन गरेर लगानी गर्ने हो । नाम नै ग्रोथ फण्ड भएकाले विजनेश ग्रोथ बढी गर्न सक्ने कम्पनीलाई बढी प्राथमिकता दिइनेछ ।

फण्डले कमाएको नाफाबाट इकाईधनीहरुलाई कतिसम्म प्रतिफल दिन सक्छ ?

हरेक वर्ष प्रतिफल दिने प्रक्षेपण छ । फण्डको वर्थ बढाएर मध्यम लाभांशमा जाने योजना छ । मुद्दती निक्षेपको हाराहारीमा रिटर्न (१२÷१५ प्रतिशत) रिटर्न दिने प्रक्षेपण गरिएको छ । कम्तिमा पनि मुद्दती निक्षेपको रिटर्न बिड गर्नुपर्ने अन्तर्राष्ट्रिय अभ्यास छ । किनकी इकाईधनीहरुले स्ट्याण्डर्ड फिक्स्ड छोडेर आएका हुन्छन् । सकेसम्म ग्रोथ मै न्याभ बढाएर एकैचोटी दिने प्रक्षेपण छ । न्याभ अन्तिममा २० रुपैयाँ फर्काउने छ । शतप्रतिशत रिटर्न अन्तिममा दिने हाम्रो प्रक्षेपण हो । १० रुपैयाँ लगानी गरेर २० रुपैयाँ फिर्ता दिने प्रक्षेपण गरिएको छ ।

यसअघि जारी गरेका म्युचुअल फण्डबाट कस्तो अनुभव छ ?

यसअघिका म्युचुअल फण्डबाट राम्रो अनुभव छ । एनआईबिएल एस क्यापिटलले पहिलोपटक एनआईबिएल समृद्धि वान फण्ड जारी गरेको थियो । ७ वर्षे अवधिमा एभरेज वार्षिक १८ प्रतिशत प्रतिफल दिन सफल भएका छौं । यसले राम्रो अनुभव भएको छ ।

एनआईबिएल प्रगति फण्डका इकाईधनीहरुलाई भने सुरुका वर्षहरुमा प्रतिफल दिन सकिएन । तर, पछिल्लो समय भने इकाईधनीहरुलाई राम्रो प्रतिफल बाँडको छौं । ओपन इण्डेड सहभागीता फण्डका इकाईधनीहरुलाई ३ वर्षमा ६४ प्रतिशत रिटर्न दिइसकेका छौं । एफडीलाई बिड गर्ने हाम्रो सिद्धान्त हो । अहिलेका जस्तो खराब समय आएन भने एनआईबिएल ग्रोथ फण्डका इकाईधनीहरुलाई एभरेजमा १५/२० प्रतिशत रिटर्न दिन सकिन्छ ।

म्युचुअल फण्डको लाभांशदर घटेको छ, कुनै वर्ष ह्वात्तै लाभांश बढाउने कुनै वर्ष स्वाट्टै किन घटाउनु हुन्छ ?

म्युचुअल फण्डको लाभांश दर घटेको छ । डिभिडेण्ड पोलीसी (लाभांश नीति) मेन्टेन गर्ने अभ्यास छैन । भएको बेला झ्याप्पै दिने नहुँदा चुप लागेर बस्ने प्रवृत्ति छ । हरेक वर्ष यति डिभिडेण्ड मेन्टेन गर्छु भन्ने परिपाटि छैन । म्युचुअल फण्डको लाभांश दर एउटै रेसियोमा देखिँदैन । बजारमा हेर्ने हो भने कुनै वर्ष ५० प्रतिशत दिएको छ भने कुनै वर्ष ५/७ प्रतिशतमा पनि झरेका छन् । म्युचुअल फण्डले ठ्याक्कै डिभिडेण्ड पोलीसी फ्लो गर्न सकेका छैनन् । एनआईबिएलले जारी गरेका फण्डको पनि एकनाश छैन । कुनै-कुनै स्थापित कम्पनीले फ्लो गरेको भएपनि अन्य सेक्टरमा नी डिभिडेण्ड पोलीसी पर्पल्ली फ्लो गरेको देखिँदैन ।

म्युचुअल फण्डमा एकनाश दिन पनि गाह्रो हुन्छ । म्युचुअल फण्डको लगानी बजारमा हुन्छ । बजार राम्रो भएको बेलामा डिभिडेण्ड दिनुपर्छ भन्ने हुन्छ । फण्डको नाफा आफैसँग राखिराख्यो भने बजार घटेको बेला डबल असर पार्ने होकी भन्ने हुन्छ । म्युचुअल फण्डहरुले डिभिडेण्ड पोलिसी अनुसार मेन्टेन गर्ने की नगर्ने विषयमा बहस हुन जरुरी छ । नेपाली बजारमा के गर्दा उपयुक्त हुन्छ भन्ने कुरामा छलफल गर्न आवश्यक छ । स्थिर अर्थतन्त्रमा स्थिर लाभांश स्वभाविक हो । नेपालमा फ्लेक्च्युसन धेरै हुने भएकाले स्थिर राख्न गाह्रो भएको हुन सक्छ ।

म्युचुअल फण्डको प्रकृतिमा पनि भर पर्छ । लाभांशमा ग्रोथ फण्डको प्रकृति फरक हुन्छ । ब्यालेन्सड फण्ड र इनकम फण्डको सिद्धान्त एउटा रेञ्जमा दिनु पर्छ भन्ने हुन्छ । तर, ग्रोथ फण्डको अन्तर्राष्ट्रिय अभ्यास डिभिडेण्ड नै नदिने हुन्छ । ग्रोथ फण्डले भ्याल्यू बढाएर अन्तिममा एकैचोटी दिने अभ्यास छ ।

एनआईबिएल ग्रोथ फण्ड ४ दिनमा सबै बिक्री होला ? कस्तो प्रतिक्रिया आएको छ ?

४ दिनमा बिक्री गर्ने कोशिस गर्ने हो । गाह्रो पनि हुन सक्छ । अहिलेसम्म प्रतिक्रिया राम्रो आएको छ । हाम्रो फण्ड नआएको धेरै ग्याप भएको छ । जसले गर्दा त्यति धेरै गाह्रो हुँदैन की भन्ने छ । इकाईधनीहरुले ४ दिनमा नै सबै फण्ड खरिद गर्नुहुन्छ भन्ने अपेक्षा छ । यसअघिका फण्डबाट पनि उहाँहरु उत्साहित हुनु भएको छ ।

यसअघिका म्युचुअल फण्डको अवस्था के छ ?

सबै फण्डको राम्रो छ । विभिन्न कारणले समृद्धि मुचुअल फण्ड २ मा राम्रो गर्न सकिएन । त्यो फण्ड बजार माथि जाने बेला ल्याएका थियौं । हामीले खरिद गर्दा गर्दै बजार घट्यो । त्यसमा राम्रो गर्न नसकेर लाभांश पनि दिन सकिएको छैन । हुन त २ वर्ष मात्र भयो । बजार घटेदेखि नै स्टक अकुमेलेट भइरहेको छ । अब बजार बढेपछि उक्त फण्डका इकाईधनीहरुलाई राम्रो लाभांश दिन्छौं ।

ग्रोथ फण्डका इकाईधनीहरुलाई कति प्रतिशत सन्तुष्टि बनाउनु हुन्छ ?

इकाईधनीहरुलाई शतप्रतिशत सन्तुष्ट बनाउने प्रयास हामी गर्छाैं । विगतका फण्डहरुमा त्यो गरेर पनि देखाउन सफल भएका छौं । हामीसँग स्थापित टिम छ । हाम्रोमा मुभमेन्ट पनि त्यति धेरै छैन । फण्ड स्पोन्सरका रुपमा प्यारेन्ट कम्पनी एनआईबिएल पनि छ । पर्फमिङ फण्डको हिसावमा शतप्रतिशत नै सन्तुष्ट बनाउने लक्ष्य छ ।

म्युचुअल फण्डमा आईपीओमा जस्तो आकर्षण हुँदैन नि, किन ?

नेपाल मात्रै यस्तो देश हो, जहाँ १ सय रुपैयाँ वा पार भ्यालुमा आईपीओ पाइन्छ । अन्य मुलुकमा हेर्ने हो भने आईपीओको मूल्य १० रुपैयाँ भइसकेको छ । अझै कुनै देशमा १ रुपैयाँ भइसकेको छ । कतिपय देशमा सेयर स्प्लिट पनि भएका छन् । अमेरिकातिर सेन्टमा आईपीओ पाइन्छ । पार भ्यालु वा जतिको त्यतिमा इस्यू हुने नेपालमा मात्रै हो । यसकारण १ सय रुपैयाँ सूचीकृत हुँदा जस्तो कम्पनी पनि २र३ सय रुपैयाँ हुन्छ । त्यो आकर्षण छ । आईपीओ पर्याे भने २/३ गुणा त फाइदा हुन्छ भन्ने हिसावले आकर्षण बढेको हो ।

यदि भोलिका दिनमा प्रिमियम मूल्यमा इस्यू भयो आकर्षण घट्छ । १ सय रुपैयाँमा पाइने भएर आकर्षण बढेको हो । म्युचुअल फण्डलाई त्यो सुविधा छैन । म्युचुअल फण्ड त फ्रेस हो । कसैले कम्पनी स्थापना गर्याे भने आईपीओ जारी गर्नका लागि ३ वर्ष कुर्नु पर्ने हुन्छ । त्यसमा समय खर्च भएको छ, लगानी बढेको छ, कामहरु धेरै भएर एउटा भ्यालु आइसकेको हुन्छ । त्यो भ्यालु कम्पनीले १ सय रुपैयाँमा दिएको हुन्छ । यसकारण मात्रै त्यसको आकर्षण बढेको हो । भोलिका दिनमा १५० रुपैयाँभन्दा बढी मूल्यमा बिक्री हुने हो भने आकर्षण अटोमेटिक घट्छ ।

म्युचुअल फण्डको भविष्य कस्तो छ ?

म्युचुअल फण्ड अझै आउँछन् । म्युचुअल फण्ड सुरु भएको १० वर्ष पुरा भयो । म आफै नेपाल धितोपत्र बोर्ड छोडेर सिद्धार्थमा जाँदा इन्भेष्टमेन्ट ग्रोथ स्किम वान भनेर पहिलो फण्ड ल्याएको थिए । म्युचुअल फण्डको इण्डष्ट्रि ११ औं वर्षमा प्रवेश भएको छ । ११ वर्षमा म्युचुअल फण्ड के हो, कस्तो लगानी हो भन्ने सचेतना सर्वसाधारणमा पुगेको छ । हाल म्युचुअल फण्डमा २८/३० अर्ब लगानी छ । पहिलो म्युचुअल फण्ड ल्याउँदा ५० करोड आकार थियो ।

बजारमा म्युचुअल फण्डको पुगेको छ । १० वर्षअघि म्युचुअल फण्डका बारेमा कर कार्यालय, नेपाल राष्ट्र बैंक, बीमा समितिलाई पनि थाहा थिएन । प्रोभिजनको व्यवस्था थिएन । हामीले सबै ठाउँमा गएर लबिङ गर्याै । बीमा समितिमा म आफैले प्रस्तुती गरेको थिए । राष्ट्र बैंक, कर लगायतसँग पनि धेरै बहस भयो । अहिले एउटा फेजमा म्युचुअल फण्ड आइपुगेको छ । अहिले ओपन इण्डेड म्युचुअल फण्ड पनि आइसकेको छ । हामीले नै पहिलो पटक ल्याएको हो । त्यो पनि २० करोडबाट सुरु गरेको हो । अहिले १ अर्ब पुगेको छ । त्यसलाई बढाएर २ अर्ब पुर्याउने योजना छ ।

लगानीकर्तामा फण्डका बारेमा ज्ञान बढ्दै गएकाले म्युचुअल फण्डको आकार अझै बढ्छ । अझै पनि गर्व गर्न लायकको आकारमा पुगेको छैन । ४/५ वर्ष अघिको तथ्याङ हेरेको थिए, भारतमा म्युचुअल फण्डको आकारा १० लाख करोड थियो । तर, नेपालमा ३० अर्ब मात्रै छ । हाम्रो जस्तो देशमा अझै पनि म्युचुअल फण्डको स्कोप छ ।

म्युचुअल फण्डमा सहुलियतको व्यवस्था हुनु पर्छ । भारतमा म्युचुअल फण्डमा कर योग्य आयबाट घटाउन पाउने सुविधा छ । नेपालमा त्यो सुविधा छैन । त्यो लबिङ गरेको थुप्रै वर्ष भइसक्यो । क्लोजिङमा त्यो व्यवस्था नभएपनि ओपनिङमा दिनुपर्छ भनेर माग गरेको वर्षाै भइसक्यो अहिलेसम्म हुन सकेको छैन ।

लाइफ इन्स्योरेन्सको प्रिमियम, कर्मचारी सञ्चाय कोष र नागरिक लगानी कोषलाई छुट दिन्छ । म्युचुअल फण्डमा छुटको व्यवस्था गर्याे भने इण्डष्ट्रि अझै ठूलो हुन्थ्यो । नियामकले पनि विस्तार गर्ने उद्देश्यले सोचेको छैन । इण्डष्ट्रि ठूलो होस् भन्दा पनि अल्झाइराख्ने प्रवृत्ति नियामक निकायको छ । यस्तो मनस्थिति हटेर सहजीकरण गर्याे भने मुचुअल फण्डको विकास हुन्छ ।

2 comments on "एनआईबिएल ग्रोथ फण्डले बिजनेस ग्रोथ हेरेर लगानी गर्छ, लगानीकर्तालाई डबल फिर्ता दिन्छ : डीसीईओ थापा"

  • pramod sapkota says:

    NIBLPF 7.91/SBCF 6.91/MMF1 6.96/SLCF 7.08/RMF1 7.21—-more then 30% profit in secondary market….then why apply IPO @ rs.10

  • pramod sapkota says:

    म्युचुअल फण्डको भविष्य कस्तो छ ?

    म्युचुअल फण्ड अझै आउँछन् । म्युचुअल फण्ड सुरु भएको १० वर्ष पुरा भयो । wrong answer 1st mutual fund…..https://www.sharesansar.com/company/ncmmf

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.