पुसमा बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर नघट्ने, मंसिर कै लागू हुने

  २०७९ मंसिर २९ गते ७:४१     विकासन्युज

काठमाडौं । पुसमा बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर नबढाउने भएका छन् । बैंक तथा वित्तीय संस्थाहरुले मंसिर महिनाकै ब्याजदरलाई पुसमा पनि निरन्तरता दिने भएका हुन् ।

बैंक तथा वित्तीय संस्थाहरुले पुसका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार स्थिर राखेका हुन् । मंसिरको अन्तिम दिन आज बिहीबार बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर स्थिर राखेर सूचना प्रकाशन गरेका हुन् ।

यसअघि मंसिरमा वाणिज्य बैंकहरुले कात्तिकको ब्याजदरलाई मंसिरमा लागू गरेका थिए भने विकास बैंक तथा फाइनान्स कम्पनीहरुले भने ब्याजदर घटाएका थिए । तर, पुसमा भने बैंक तथा वित्तीय संस्थाहरुले मंसिरको ब्याजदरलाई यथावत राखेका हुन् ।

नेपाल बैंकर्स संघले तीन महिनामा ब्याजदर पुनरावलोकन गर्ने गरेको छ । बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले तीन महिनामा बेस रेट परिवर्तन गर्नुपर्ने भएकाले सोही अनुसार नै छलफल गरेर ब्याजदरबारे निर्णय गर्ने गरेको बताए ।

विकास बैंकहरुले ब्यक्तिगत मुद्दती निक्षेपमा १२.८५ प्रतिशतसम्म र संस्थागत मुद्दती खातामा १०.८५ प्रतिशतसम्म ब्याजदरलाई तोकेका छन् । यस्तै साधारण बचत खातामा भने ९.५० प्रतिशतसम्म ब्याजदर तोकिएको छ भने रेमिट्यान्स बचत खातामा १०.५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन् । सोही ब्याजदर पुसमा लागू हुनेछ । यसअघि विकास बैंकहरुले मंसिरमा निक्षेपमा ०.१५ प्रतिशत ब्याजदर घटाएका थिए ।

फाइनान्स कम्पनीहरुले ब्यक्तिगत मुद्दती निक्षेपमा १३.३५ प्रतिशतसम्म र संस्थागत मुद्दती निक्षेपमा ११.३५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन् । साधारण बचत खातामा भने फाइनान्सको ब्याजदर १० प्रतिशतसम्म ब्याजदर तोकेका छन् । साही ब्याजदर पुसमा लागू हुनेछ । यसअघि फाइनान्स कम्पनीहरुले ३ महिनाको निक्षेपमा ०.२ प्रतिशत र १ वर्षभन्दा माथिको निक्षेपमा ०.१५ प्रतिशत ब्याजदर घटाएका थिए ।

वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३३ प्रतिशत र संस्थागततर्फ ९.१३३ प्रतिशत ब्याज तोकेका छन् । रेमिट्यान्स मुद्दति खातामा १५.३३३ प्रतिशतसम्म ब्याज तोकेका छन् । साधारण बचत खातामा भने बैंकहरुले १०।३३३ प्रतिशत ब्याज निर्धारण गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले प्रकाशन गरेको ब्याजदर पुस १ देखि लागू हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.