म्याग्दीमा स्वास्थ्य एकाइ स्थापना गर्न ३५ लाख संकलन

  २०७९ मंसिर २७ गते १०:२४     विकासन्युज

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–१ पूर्णगाउँमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गर्न ३५ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग जुटेको छ । यसका लागि यही मङ्सिर १५ देखि २२ गतेसम्म श्रीमद् भागवत धनधान्याञ्चल महायज्ञ आयोजना गरिएको थियो । महायज्ञ आयोजक समितिका प्रचार–प्रसार संयोजक खगेन्द्र खत्रीले सोमबार आम्दानी विवरण सार्वजनिक गरेका हुन् ।

‘३५ लाख ५९ हजार छ सय रुपैयाँ सहयोग घोषणा भएको छ’, उनले भने, ‘घोषणा भएको मध्ये  ३१ लाख नगद प्राप्त भइसक्यो ।’ ४४ मुरी धान र छ मुरी जौँ सङ्कलन भएको छ । सामान्य बिरामी हुँदा आधारभूत स्वास्थ्य सेवा लिनसमेत घण्टौँ पैदलयात्रा गर्नुपर्ने बाध्यता भएपछि समुदायले आफैँ लगानी जुटाउन पूर्णगाउँको शिवालय र लक्ष्मीनारायण मन्दिर परिसरमा महायज्ञ सञ्चालन गरिएको थियो । महायज्ञमा देवराज सुवेदीले कथावाचन गरेका थिए ।

महायज्ञका कार्यालय सचिव नीलकण्ठ सुवेदीले यज्ञबाट सङ्कलन भएको ३० प्रतिशत रकम शिवालय मन्दिर सञ्चालनका लागि कोष खडा गर्ने र ७० प्रतिशत रकमलाई सामुदायिक स्वास्थ्य एकाइ स्थापनार्थ परिचालन गरिने जानकारी दिए ।

पूर्णगाउँमा दुई सयभन्दा बढी घरधुरीको बसोबास छ । यो वडाको स्वास्थ्यचौकी कुहुँमा छ । पूर्णगाउँबाट कुहुँ पुग्न एक घण्टा पैदलयात्रा गर्नुपर्छ । स्वास्थ्य संस्था टाढा हुँदा औषधोपचारमा समस्या भएकाले सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गर्न लागिएको महायज्ञ आयोजक समितिका अध्यक्ष दुर्गादत्त आचार्यले बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.