२० करोडको लगानीमा बनेपामा बहुतले पार्किङ बन्ने, एक सय गाडी अट्ने

  २०७९ मंसिर २६ गते १४:०३     विकासन्युज

काठमाडौं । बनेपा नगरपालिकाले बहुतले मेकानिकल पार्किङ निर्माण गर्ने भएको छ । सवारी साधनको चाप र अव्यवस्थित सवारीसाधनको पार्किङलाई व्यवस्थित गर्नको लागि सो पार्किङ बनाउने नगरपालिकाले बताएको छ ।

नगरपालिकाले नगर विकास कोषसँग मिलेर पार्किङ बनाउने योजना अगाडि सारेको नगर प्रमुख शान्ति रत्न शाक्यले बताए । बहुतले मेकानिकल पार्किङ नगरपालिकाको बस पार्कमा निर्माण हुनेछ ।

नगर प्रमुख शाक्यका अनुसार नगर विकास कोषले पार्किङ निर्माण गर्नको लागि सम्झौता र टेन्डर भएपछि मात्र निर्माण कार्य सुरु हुनेछ । ‘नगर विकास कोषले २ सय वटा गाडी पार्क गर्न मिल्ने पार्किङको प्रस्ताव लिएर आएको थियो तर हामीले एक सय वटा मात्र गाडी अट्ने पार्किङ बनाउने भनेर भनेका छौं, अहिले त्यही अनुसार पार्किङ बनाउने तयारी भइरहेको छ,’ उनले भने ।

बनेपामा निर्माण हुने बहुतले मेकानिकल पार्किङको डिजाइनको काम अन्तिम चरणमा पुगेको नगर विकास कोषका सूचना अधिकारी सूर्यबहादुर कार्कीले बताए । नगरपालिकाको सहमति अनुसार नै कोषले अहिले पार्किङको विषयमा अध्ययनको काम भइ रहेको छ ।

कोषले छिट्टै डीपीआर लगायत सम्पूर्ण काम सकाएर नगरपालिका र कोषबीच पार्किङ निर्माण सम्बन्धि सम्झौता हुने बताइएको छ । प्राविधिक विषयको पास भइ पार्किङ निर्माणका लागि लगानी जुटिसकेपछि सम्झौता गर्ने पनि कार्कीले जानकारी दिए ।

पार्किङ स्थलको निर्माण गर्दा कति खर्च लग्छ भन्ने जानकारी डीपीआर तयार भएपछि मात्र आउने पनि कार्कीले बताए । तर, उक्त पार्किङ १५ देखि २० करोड रुपैयाँको लगानीमा तयार हुने कार्कीको भनाइ छ ।

‘नगरपालिकाको बस पार्कमा पार्किङ बनाउन पुग्ने जग्गा छ, त्यो जग्गामा पार्किङ बनाउने हो, त्यहाँ बस पार्क छ, त्यसलाई बिगार्नु हुँदैन, त्यसलाई पनि व्यवस्थित बनाउँदै, सोही ठाउँमा पार्किक बनाउने सोचमा नगर र कोष हो,’ उनले भने ।

कार्कीका अनुसार बसपार्क भित्रको ८ आना भन्दा बढी जग्गामा बहुतले मेकानिकल पार्किङ तयार हुनेछ । कोषले पार्किङ बनाउँदा गरिदिएको लगानी निश्चित समयपछि नगरपालिले कोषलाई फिर्ता गर्नुपर्छ । नगर र कोषबिच सम्झौता भएपछि टेन्डरको आव्हान हुन्छ, त्यस पश्चात् मात्र उक्त पार्किङ निर्माणको चरणमा जाने छ ।

यस्तै, नगर विकास कोषले यही मोडलको पार्किङ बुटवल उपमहानगरपालिकामा पनि निर्माण गर्ने तयारी गरिहरेको छ । सो ठाउँमा पनि पार्किङको निर्माण गर्नको लागि जग्गा लगायतका प्राविधिक रिपोर्टहरूको संकलन गर्ने काम भइ रहेको कार्कीले बताए । पूर्ण रूपमा रिपोर्ट आएपछि मात्र यसको विषको जानकारी हुनेछ ।

नगर विकास कोषको उद्देश्य भनेको नै शहरमा पूर्वाधार विकास गरी सफा सहरको रूपमा विकास गर्नु हो, यो उद्देश्य अन्तर्गत सहरमा पार्किङ नहुँदा उपत्यका भित्र धेरै जाम हुने समस्या आयो, त्यस पछि हामीले बहुतले मेकानिकल पार्किङ बनाउनको लागि लगानी गरिदिने सोच बनाएका हौं,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.