सशस्त्रबाट अवकाशपछि मौरीपालनमा मख्ख महेश

  २०७९ मंसिर ८ गते १३:१०     राजिव न्यौपाने

काठमाडौं । संखुवासभाको चैनपुर नगरपालिका वडा नं. ७ का महेश कुमार श्रेष्ठ अवकाश प्राप्त सशस्त्र प्रहरी बलका वरिष्ठ हवल्दार हुन् । उनीले लगभग १९ वर्ष निरन्तर देशको लागि सेवा गरे । लामो समय प्रहरी बलमा काम गरेका श्रेष्ठले सेवाबाट अवकाश पाएपछि अब के गर्ने भन्ने हुटहुटीले उनलाई सतायो ।

त्यो समयमा उनी घरायसी काममा व्यस्त भए । खेतबारीमा काम गर्ने । गाईवस्तु हेर्न । यस्तै–यस्तै कामहरुमा उनीको दैनिकी बित्थ्यो । ‘घरको काम गरेर मात्र भएन, अब केही गर्नु पर्छ भने सोच आयो, आफ्नै व्यापार गर्न मन लाग्यो तर के गर्ने भन्ने योजना नै बनेन, उनले आफ्नो विगत स्मरण गर्दै भने, ‘घरमा एक/दुई घार मौरी थियो अब मौरी व्यवसाय नै गर्नु पर्छ भन्ने लागे पछि सुरु गरेको हुँ ।’

उनी अब मौरी व्यवसायतर्फ लागे । घरमा रहेको १/२ घार मौरीलाई विस्तार गरे । आधुनिक मौरी ल्याएर पालन गर्ने भन्दा पनि रैथाने मौरीलाई विस्तार गर्नतर्फ उनको ध्यान गयो । सुरु–सुरुमा मौरी पालनवाट राम्रै आम्दानी गर्न सकिन्छ भन्ने विश्वासै नलागेको उनी बताउँछन् ।

सुरुमा मौरीका ४/५ घार बनाए । त्यसबाट मह बेचे । मह बेचेको पैसाबाट घारहरु थपे । पछि विस्तारै आम्दानी हुन थालेपछि श्रेष्ठ झन् उत्साहित भए । त्यस पश्चात् झन् सक्रियताका साथ मौरी पालनमा लागे ।

मौरीको बारेमा आफुलाई खासै जानकारी नभएको उनी बताउँछन् । तर, समयक्रमसँगै मौरी पालन गर्न थालेपछि बुझ्दै गएको श्रेष्ठ सुनाउँछन् । अहिले उनलाई मौरी पालन गर्न थालेको ६ वर्ष भइसकेको छ ।

श्रेष्ठका अनुसार अहिले उनको घरमा मौरीका ३० घार छन् । उज्यालो भएदेखि साँझ नपर्दासम्म मौरी भुनभुन आवाज सुनिन्छ । श्रेष्ठको घर, र बारीभरिका माहुरी घार देख्ने जोकोही अहिले छक्क पर्छन् ।

‘म सँग आधुनिक मौरी छैन, यहाँका रैथाने मौरी भएको कारण अन्य मौरीको जस्तो डुलाएर हिँड्नु पर्दैन, धेरै हेरबिचार पनि चाहिँदैन, मौरीको लागि चरन यहाँ समय अनुसार हुने गरेको छ, यहाँ सिजनमा मात्र मह काढिन्छ,’ उनले बिकासन्युजसँग भने । उनी वर्षको तीन पटक घारबाट मह निकाल्छन् ।

‘हाम्रो ठाउँमा तीन पटक मह घारबाट निकालिन्छ, फूल फुल्ने समय वा बालीनाली लगाएको सिजनमा, प्रत्येक मौरीको चरन गर्न ठाउँ नभएको कारण पटक–पटक मह निकाली रहन मिल्दैन, यो ठाउँ अनुसार फरक–फरक पनि हुन सक्छ,’ उनले भने ।

विभिन्न ठाउँबाट फूलको रस संकलन गरेर मौरीले बनाएको मह औषधिको रूपमा पनि प्रयोग गरिएको पाइन्छ । श्रेष्ठले उत्पादन गरेको मह स्थानीय बजारमा नै खपत हुदै आएको छ । ‘महको माग उच्च छ, उत्पादन कम छ, खपत गर्ने भन्दा पनि कसरी महको बढी उत्पादन गर्ने भन्ने चिन्ता हुन्छ,’ उनले भने ।

श्रेष्ठले प्रति बोतल १२ सय रुपैयाँका दरले महको बिक्री गर्दै आएका छन् । मौरी घारको संख्या कमी भएसँगै महको उत्पादन सोचे अनुरूपको नहुने पनि श्रेष्ठ बताउँछन् । समय समयमा मात्र घारबाट मह निकालेर स्थानीय बजारमा नै बिक्री गर्दै आएका श्रेष्ठले वषिर्क डेढ लाख रुपैयाँ बराबरको मह बिक्री गर्दै आएको बताउँछन् ।

‘यो रकमबाट घर खर्च चल्दैन तर आफूलाई खर्च भने हुन्छ, पहिला मौरी पाल्ने रहर थियो अहिले दैनिकी भइसक्यो,’ उनी हाँस्दै भन्छन् । उनले छिट्टै डेढ सय मौरीको घारको संख्या पुर्याउन लक्ष्यमा छन् । उनी सरकारी नियकायबाट तालिम पाउन सके अझैँ व्यवसाय बढाउनमा सहयोग पुग्ने बताउँछन् । 

‘पहाडी क्षेत्रमा विकासे मौरी हुँदैन, रैथाने मौरी नै यहाँको लागि उपयुक्त हुन्छ, बिस्तारै यहाँको संख्यालाई बढाउँदै जाने हो, डेढ सय घार पुर्याएपछि आम्दानी पनि राम्रो हुने सोचको छु,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.