बिजनेस विस्तारमा राष्ट्रिय बीमा कम्पनी आक्रामक, ५ वटामा देखियो मन्दी (सूचीसहित)

  २०७९ कार्तिक २२ गते १४:०९     विकासन्युज

काठमाडौं । पछिल्लो समय राष्ट्रिय बीमा कम्पनी बिजनेस विस्तारमा आक्रामक बन्दै गएको छ । नेपाल सरकारको स्वामित्व प्राप्त कम्पनीले अन्य कम्पनीको तुलनामा सर्वाधिक प्रतिशतले प्रिमियम बढाएर आक्रामक देखिएको हो ।

कम्पनीले चालु आवको तीन महिनामै एक अर्ब २६ करोड रुपैयाँ बढी बीमाशुल्क आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८३.०४ प्रतिशतले बढी हो । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को असोज मसान्तसम्म ४४ करोड ६७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।

त्यस्तै, उक्त बीमाशुल्क अन्य १८ कम्पनीको तुलनामा सर्वाधिक पनि हो ।

त्यसैगरी, बिजनेसमा आक्रामक देखिनेको दोश्रोमा लुम्बिनी जनरल इन्स्योरेन्स छ । गत आवको तुलनामा कम्पनीले आफ्नो बिजनेस ३८.१४ प्रतिशतले बढाएर ५० करोड २४ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गर्न सफल भएको छ ।

रकमको आधारमा राष्ट्रिय बीमा कम्पनीलाई शिखर इन्स्योरेन्सले पछ्याएको छ । शिखरले पनि तीन महिनामै १ अर्ब बढी अर्थात एक २ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १.६७ प्रतिशतले बढी हो ।

तेश्रोमा सगरमाथा इन्स्योरेन्स छ । समीक्षा अवधिमा इन्स्योरेन्सले ८५ करोड २१ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा भने ६.०२ प्रतिशतले घटी हो । गत वर्षको पहिलो त्रैमासमा सगरमाथा इन्स्योरेन्सले ९० करोड ६७ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको थियो ।

समितिको तथ्याङ्क अनुसार अधिकांश निर्जीवन बीमा कम्पनीको बिजनेस बढेको छ । तर ५ वटा कम्पनीमा भने मन्दी देखिएको तथ्यांकले देखाउँछ । गत वर्षको तुलनामा यूनाईटेड, एनएलजी, प्रिमियर, सगरमाथा र जनरल इन्स्योरेन्सको बिजनेस चालु आवमा घटेको छ । जसमध्ये यूनाईटेड इन्स्योरेन्सको सर्वाधिक अर्थात २६।५८ प्रतिशतले घटेको छ । गत वर्ष ४४ करोड २ लाख रुपैयाँ प्रिमियम संकलन गरेको कम्पनीले चालु आवमा भने ३२ करोड ३१ लाख रुपैयाँ मात्रै संकलन गर्न सफल भएको छ ।

गत वर्षको तुलनामा चालु आवमा निर्जीवन बीमा कम्पनीको व्यवसाय औसतमा निर्जीवन बीमा व्यवसाय ११.८५ प्रतिशतले बढेको छ । बीमा समितिका अनुसार कम्पनीहरुले तीन महिनामै १० अर्ब ८४ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । जुन गत वर्ष ९ अर्ब ६९ करोड रुपैयाँ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.