अर्बौंको कारोबार गर्ने उद्योगी बञ्जाडे कसरी आए सडकमा ? (भिडियोसहित)

  २०७९ कार्तिक २० गते १७:२७     राजिव न्यौपाने

काठमाडौं । बुटवलका नारायण बञ्जाडे तिन दशकदेखि औद्योगिक तथा व्यवसायी क्षेत्रमा रमाइरहेका छन् । सानो लगानीबाट व्यवसायिक यात्रा सुरु गरेका नारायण अहिले बुटवलको सबैभन्दा ठुला उद्योगीका रूपमा परिचित छन् । आफ्नै देशमा औद्योगिक क्षेत्रको विकास गरी रोजगारी सिर्जना गर्नुपर्छ भन्ने मनसायले व्यवसायिक यात्रामा लागेका नारायणको व्यवसाय सुरुमा राम्रै चल्दै थियो ।

आफ्नो उद्योगबाट उत्पादन भएका सामानले बजारको माग पाउन थालेपछि नारायण झन् उत्साहित भए । र, आफ्नो उद्योगको विस्तार गर्न तर्फ लागे । बैंकबाट सस्तो ब्याजमा ऋण लिएर उद्योगको विस्तार गर्नुका साथै थप जनशक्ति पनि थप्दै गए । बैंकको सस्तो ब्याजका कारण उनलाई उद्योग सञ्चालन गरी वस्तु उत्पादन गर्न कुनै समस्या भएन ।

बैंकबाट थप ऋण लिँदै व्यवसाय विस्तार गर्दै गए । किस्ता पनि समयमै तिर्दै गए । त्यसकारण पनि उनी बैंकको लिष्टमा असल ऋणीका रुपमा गनिए । उद्योगको बजार पनि राम्रै थियो । कर्मचारीहरुले पनि समयमै तलब पाउँथे ।

व्यवसायिक यात्रा कहिले चुनौती र समस्याहरु नआउने होइन । ती समस्याहरुको समाधान गर्दै उनी अगाडि बढे । अहिले उनका बुटवलको विभिन्न ठाउँमा घर बनाउने थ्रिडी प्यानल, फर्निचर, टायल लगायतको उद्योगहरू सञ्चालनमा छन् । बैंकको ब्याज समयमा तिर्ने र ऋण पनि चुक्ता गर्दै जाने मनसायले बैंकबाट केही रकम र आफ्नो लगानीबाट एन्जी मार्केट सपिङ कम्प्लेक्स पनि बुटवलमा सञ्चालनमा ल्याए ।

उनका अनुसार सो कम्प्लेक्स साढे २ बिग्गा जग्गामा ८० हजार स्क्वायर फिट फैलिएको छ । एन्जी मार्केट भाटभटेनीपछिको सबैभन्दा ठूलो कम्प्लेक्सको रूपमा सञ्चालनमा रहेको कम्पनीको दाबी छ ।

तर, यही बिचमा उनलाई एउटा सकस पर्यो । अहिले बैंकको ब्याजदर बढेसँगै किस्ता तिर्न नसकेपछि उद्योग नै बन्द गरेर बस्नु पर्ने अवस्था आएको उनी बताउँछन् । बैंकको व्याज बढेसँगै अहिले एकै चोटि दोब्बरले किस्ता बढेको उनले सुनाए । उनले यति धेरै ब्याज तिर्न सक्ने क्षमता आफ्नो नभएको सुनाए ।

‘बैंक हाम्रो शत्रु हैन, कोभिड हुँदा पनि बैंक वित्तीय क्षेत्र नाफामा जाने, अन्य व्यवसाय चौपट हुँदा सबै हेरेर बस्ने, ब्याज बढाएको बढाइ गर्ने, हामी सबै डुब्दा बैंक पनि डुब्छ भन्ने कुरा भुल्नु हुँदैन, त्यसैले समयमा नै यस क्षेत्र तर्फ सरकारको ध्यान जानु आवश्यक छ,’ उनले विकासन्युजसँग भने ।

अहिले आफ्नो उद्योगहरूबाट कुल क्षमताको ३० प्रतिशत मात्र उत्पादन हुँदै आएको उनले जानकारी दिए । तीन दशको व्यवसायिक यात्रामा अहिलेसम्म यस्तो अवस्थामा नभोगेको उनको अनुभव छ ।

‘बैंकले एकलाई दुई, दुईलाई तिन गरेर व्याज बढाएका छन्, कागजमा मात्र ब्याज बढाएर हुँदैन, असुल गर्नको गर्नको लागि व्यवसायीहरूसँग पैसा छैन, डिपोजिट गर्नेहरूले बैंकबाट पैसा निकाल्न थाले भने हामीले भन्दा हजार गुणा बैंकलाई समस्या देखिन्छ,’ उनले भने । यसरी नै ब्याजदर बढ्दै गएमा देश नै टाट पल्टिन सक्ने उनको धारणा छ ।

५ सय भन्दा बढी बेरोजगार हुने

उद्योगी बन्जाडेले आफ्नो उद्योगहरुमा प्रत्यक्ष रूपमा ५ सयभन्दा बढीलाई रोजगारी दिएका छन् । अप्रत्यक्ष रूपमा हजारौंलाई रोजगारी दिएको उनको भनाइ छ । उनको सपिङ कम्प्लेक्समा मात्र २ सय बढी कर्मचारीहरू कार्यरत छन् । ब्याज बढेपछि उनीहरूलाई तलब दिन नसक्ने अवस्था आएका कारण कर्मचारीलाई समेत निकाल्नु पर्ने बाध्यता आइलागेको उनी बताउँछन् ।

‘मेरो उद्योग धरासायी हुने बित्तिकै ५ सय जना बेरोजगार हुन्छन्, हामीले नै दिएका तलबबाट उनीहरूको चुल्हो बलिरहेको छ, वेरोजगार बनेपछि उनीहरूको चुल्हो बल्दैन, म एउटा सामान्य व्यवसायीको त यस्तो अवस्था छ भने झन् ठूला उद्योगी व्यवसायीको हालत के होला ?’ उनले प्रश्न गरे ।

‘हामीले कमाएको रकम बाहिर लादैनौं, हामी पनि यही देशका नागरिक हौं, भएको पैसालाई स्वदेशमै लगानी गरी रोजगारी सिर्जना गर्ने वातावरण मिलाउने हो, अब हामी पनि पलायन हुने बाहेक केही पनि छैन,’ उनले निराश हुँदै भने ।

एक अर्ब ऋण

विभिन्न बैंकबाट उनले एक अर्ब रुपैयाँ ऋण लिएका छन् । उनले उद्योगको विकास तथा विस्तार गर्नको लागि सो रकम ऋण लिएको बताएका छन् । सस्तो ब्याज हुँदा नियमित रुपमा ब्याज तथा किस्ता तिर्दै आएको बताए पनि उनले हाल ब्याजदर बढेपछि सकस परेको बताए ।

‘हिजो ८/९ प्रतिशत व्याजमा ल्याएको ऋणको व्याज आज १३/१४ प्रतिशतमा पुगेको छ, आम्दानी भन्दा ऋणको व्याज बढी छ, अब व्याज तिर्न सक्दिनँ,’ उनले भने ।

अहिले उनी बैंकको ब्याज बढी भएको भन्दै सडकमा उत्रिएका छन् । शुक्रबार मात्रै उद्योग व्यवसायीहरु बैंकको ब्याजदर उच्च भएको भन्दै विरोध गर्न सडकमा उत्रिए । उनी पनि सोही विरोध कार्यक्रममा देखिएका थिए ।

One comment on "अर्बौंको कारोबार गर्ने उद्योगी बञ्जाडे कसरी आए सडकमा ? (भिडियोसहित)"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.