बिजनेसविहिन बन्यो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, जिम्मेवार निकाय नै दोषारोपणमा

  २०७९ कार्तिक २ गते १६:२७     नारायण अर्याल

काठमाडौं । गत जेठ २ गते प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरे । सोही दिन बिहान अन्तर्राष्ट्रिय रुपमा प्रतिष्ठित जजिरा एयरवेजले विमानस्थलमा उडान पनि गर्यो । गत सेप्टेम्बर १६ देखि दैनिक उडान गर्दै आएको जजिराले असोज अक्टुबर १० गतेबाट भने आफ्नो उडानमा कटौती गरेको छ । अब जजिराले हप्तामा ३ दिन मात्रै उडान गर्ने जनाएको छ । यात्रु संख्यामा कमी भएपछि उडान कटौती गर्नुपरेको जजिरा एयरवेजका कन्ट्री म्यानेजर अमित नागरथले बताएका छन् ।

सो विमानस्थल बनेपछि गौतमबुद्धको जन्मभूमिमा आउने अन्तर्राष्ट्रिय पर्यटक बढ्ने अपेक्षा गरिएपनि अहिलेसम्म त्यसो हुन सकेको छैन । विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार अहिले विमानस्थलमा औसतमा २० ओटा आन्तरिक उडान हुने गरेको छ भने जजिरा एयरवेज बाहेक अन्यले उडान गरेका छैनन् । उनका अनुसार बुडापेस्ट हंगेरीमा प्रधान कार्यालय रहेको विज एयरले गौतमबुद्ध विमानस्थलमा उडान गर्नको लागि अनुमति मागेको छ ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा श्रम मन्त्रालय र नेपाल आयल निगमका कारण अन्तर्राष्ट्रिय जहाजहरुको नियमित सञ्चालनमा कठिनाई भएको बताएका छन् । विमानस्थलमा अलजजिराले गरिरहेको नियमित उडान कटौती गरेको विषयमा जिज्ञासा राख्दा महानिर्देशक अधिकारीले सो कुरा बताएका हुन् ।

‘विमानस्थल निर्माण गर्ने र सञ्चालन गर्ने निकाय भनेको नेपाल नागरिक उड्डयन प्राधिकरण हो’, उनले भने, ‘श्रम स्वीकृति दिने काम काठमाडौंमा नै नआई नहुने व्यवस्था छ ।’ सबै क्षेत्र मिलेर मात्रै विमानस्थलको सफलतापूर्वक सञ्चालन हुनसक्नेमा त्यसो नभएको महानिर्देशक अधिकारीले बताए ।

‘एउटा सामान्य श्रम कार्यालयको अफिस भैरहवामा नखोलेको विषयमा मेरो गुनासो छ’ महानिर्देशक अधिकारीले भने -‘भैरहवामा श्रम कार्यालय खोल्नुपर्छ भनेर मैले भन्ने कुरा हो ?’

गौतमबुद्ध विमानस्थल बनायो चलेन भनेर उठेको प्रसंगप्रति महानिर्देशक अधिकारीले असहमति जनाउँदै भने ‘गौतमबुद्ध विमानस्थल बनायो चलेन, बनाउनु गल्ती हो कि  श्रम कार्यालय नखोल्नु गल्ती ?’ श्रम कार्यालय खोल्ने र आयल निगमले इन्धनको मूल्य समायोजन गरेपछि विमानस्थल राम्रोसँग सञ्चालन हुने अधिकारीको जिकिर छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिेरे मन्त्रालयले लुम्बिनी प्रदेशमा श्रम कार्यालय सञ्चालन नगरेको विषय स्वीकारर्छन् । तर अहिले अनलाइन प्रणाली भएकाले श्रम स्वीकृतिको काम अनलाइनमार्फत् नै गर्न सकिने उनले बताए ।

वैदेशिक रोजगारमा जाने नेपालीहरु काठमाडौं आउनु पर्ने अवस्था नरहेको उनको भनाइ छ । ‘पहिलाको शिक्षा कार्यालय बसेको कार्यालयलाई मर्मत सम्भार गरेर हामीले श्रम कार्यालय राखेका छौं, त्यहाँ वैदेशिक रोजगारीमा जानेहरुको श्रम स्वीकृति दिने अड्डाको रुपमा अधिकार प्रत्यायोजन गरेर खोलिएको छ’, उनले भने । पहिलो पटक वा दोस्रो पटकको श्रम स्वीकृति लिन काठमाडौं आउनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

मेडिकल चेकअप गर्ने संस्थाहरु र मेनपावरहरुलाई उनीहरुको संस्थामार्फत प्रदेश स्तरमा जानको लागि मन्त्रालयले पत्रमार्फत निर्देशन गरेको प्रवक्ता घिमिरेले बताए । तर, अहिलेसम्म भने शाखाको अनुमति लिएका अधिकांश म्यानपावरहरु प्रादेशिक स्तरमा गएका छैनन् । त्यस्तै प्रदेशस्तरमा मान्यताप्राप्त मेडिकल चेकअप स्थापना गर्ने कुरामा पनि मन्त्रालयले चासो दिएको छैन। तर, प्रवक्ता घिमिरेले श्रम सम्बन्धी नयाँ ऐनको प्रक्रिया अगाडि बढेकोले त्यसले धेरै विषयलाई सम्बोधन गर्ने बताए । उनले श्रम मन्त्रालयको कारणले गौतम बुद्ध विमानस्थलको सञ्चालनमा समस्या भएको भन्ने भनाइमा आफ्नो असहमति रहेको जिकिर गरे ।

एउटा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माण गरिसकेपछि त्यसको अन्तर्राष्ट्रिय र राष्ट्रियस्तरमा प्रचारप्रसारको काममा नागरिक उड्डयन प्राधिकरणले उच्चस्तरको पहल नगरेको विषय पनि केही पक्षले उठाएका छन् । बुद्धको जन्मभूमिमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माण भएको विषयमा अन्तर्राष्ट्रिय जगतमा प्रचार प्रसारमा कमी भएको देखिएको छ । तर, महानिर्देशक अधिकारीले भने श्रम कार्यालय राख्नेले नराख्ने र पर्यटन बोर्डले पर्यटन क्षेत्रको प्रचारप्रसार नगर्ने हो भने विमानस्थलको प्रचारप्रसार गरेर मात्रै विमानस्थल नचल्ने बताएका छन् ।

विमानस्थलले सो विमानस्थलबाट उडान भर्ने जहाजलाई ल्यान्डिङ पार्किङमा एक वर्षसम्मको लागि छुटको व्यवस्था पनि गरेको छ । सो विमानस्थललाई सफलतापूर्वक सञ्चालन गर्न सबै जिम्मेवार निकायले आ–आफ्नो जिम्मेवारी पूरा गरेमा मात्रै सम्भव हुने विषय दोहोर्याउँदै उनी भन्छन्, ‘राज्यले तोकेअनुसार सबैले काम गरेमा विमानस्थल राम्रोसँग सञ्चालन हुन्छ’, उनले भने, ‘प्राधिकरणले एयरपोर्ट बनायो, श्रम मन्त्रालयले कार्यालय खोल्दिने, नेपाल आयल निगमले तेलको उचित मूल्य कायम गर्ने र पर्यटन बोर्डले प्रवद्र्धनको काम गरे पुग्छ ।’

नेपाल पयर्टन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनन्जय रेग्मीले आफूहरुले आफ्नो तर्फबाट प्रवद्र्धनको क्षेत्रमा गर्नुपर्ने काम गरेको तर विमानस्थललाई सही ढंगले सञ्चालन गर्ने विषयमा क्यानको भूमिका नै सकारात्मक नरहेको बताएका छन् । रेग्मीले भियतनामले उडान गर्नको लागि इच्छुक भएकोमा क्यान सकारात्मक नरहेको बताए ।

‘क्यानले आइकाओसँग अनुमति नलिने, आज भियतनाम नेपाल आउन तयार छ, कोरियाले प्लेन चलाउन माग गरिरहेको छ, तर क्यानबाट एउटा चिठी समेत गएको छैन’, उनले भने, ‘क्यानले कुनै इनिसियसन नलिने, एयरपोर्ट बनाउन र ठेक्कापट्टाभन्दा माथि रुची नभएकोले नेपाली एयरपोर्टहरु नचलेका हुन् ।’

अदूरदर्शी ठेक्कापट्टामा रमाउने मान्छेहरुले धमाधम एयरपोर्ट बनाउने तर त्यसको पहिला कुनै अग्रिम योजना नबनाउने गर्दा सो अवस्था आएको रेग्मीले प्राधिकरणलाई आरोप लगाए । गौतमबुद्ध एयरपोर्ट सञ्चालनको लागि नेपाली एयरलाइन्स बौद्धमार्गी मुलुकहरुमा पहिला किन नचलाएको भन्ने प्रश्न सीईओ रेग्मीको छ ।

पर्यटन बोर्डले लुम्बिनीको लागि बौद्धमार्गी देशहरुमा प्रवद्र्धन गर्ने तर अरबियन मुलुकहरुमा जहाज उडाएर पर्यटक नआउने उनले बताए । ‘बोर्डले पर्यटन प्रवद्र्धन बौद्धमार्गी देशहरुमा गएर गर्ने हो, कतारबाट जजिरा एयरलाइन्स चलाएर बुद्धिष्ट पर्यटक आउँछन’, उनले प्रश्न गरे, ‘के लुम्बिनी मक्कामदिना हो र ?’

लुम्बिनी एयरपोर्ट बनाएको गौतम बुद्धको जन्मभूमी हो बौद्धमार्गी पर्यटकहरु आउँछन भनेर बनाएको हो, त्यो अनुसार सम्बन्धित निकायले भूमिका नखेलेको सिइओ रेग्मीले बताए । ‘नेपाल पर्यटन बोर्डले आफुले गर्ने प्रचारप्रसारको काम राम्रोसँग गरेको छ, तर एयरलाइन्स बनाउने र सञ्चालन गर्ने निकाय चाहिँ सिरियस छैनन्, ठेक्कापट्टामा रमाएका छन्, कारण यही हो’, उनले भने ।

नेपाल आयल निगमले इन्धनको मूल्य अन्तर्राष्ट्रिय स्टान्डर्डअनुसार नलिएको कारणले पनि समस्या देखिएको महानिर्देशक अधिकारीको भनाइ छ । ‘नेपाल आयल निगमले इन्धनको मूल्य संसारकै सबैभन्दा महंगो लिएको छ’, उनले भने, ‘१ लिटर तेलमा ७०/७५ रुपैयाँ नाफा खाएर बेच्ने यो अन्याय नै भएको छ वास्तवमा भन्ने हो भने ।’

अधिकारीका अनुसार विमानस्थलको निर्माण अन्तर्राष्ट्रिय मापदण्डअनुसारको भएकै कारणले अलजजिराले उडान भरेको र यात्रु अभावको कारणले मात्रै उसले आफ्नो उडान कटौती गरेको हो । सो विमानस्थलमा यात्रु वृद्धि गर्नको लागि श्रम स्वीकृति कार्यालय खोल्नुपर्ने, मेडिकल सर्टिफिकेट दिने व्यवस्था हुनुपर्ने र नेपाल आयल निगमले अन्तर्राष्ट्रिय स्तरको मूल्य कायम गर्नुपर्ने महानिर्देशक अधिकारीले बताए ।

सम्बन्धित समाचार :

यात्रु नभएको भन्दै जजिराले रोक्यो दैनिक उडान, भन्यो : खर्च पनि नउठ्ने ठाउँमा विमान चलाउँदैनौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.