निर्यात सुरु गरेसँगै पूर्ण क्षमतामा चल्ने तयारीमा अर्घाखाँची र श्री स्टील

  २०७९ कार्तिक १ गते १७:५०     विकासन्युज

काठमाडौं । कोरोना महामारीले नेपाली अर्थतन्त्रमा परेको नकारात्मक प्रभावका कारण नेपाली उद्योग तथा व्यवसायिक क्षेत्रहरु विगतको अवस्थामा सञ्चालन हुन सकेका छैनन् । बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको अभावको कारण पछिल्लो समयमा व्यवसायिक तथा निजी घरजग्गाको कारोबार न्यून भएको विभिन्न तथ्यांकहरुले देखाएका छन् । बैंकमा पैसा नभएकै कारण सर्वसाधारणले देखि उद्योग व्यवसाय विस्तारका लागि पनि बैंकबाट पैसा पाउने अवस्था छैन । बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको अभाव भएकै कारण त्यसको प्रत्यक्ष असर नेपाली सिमेन्ट तथा छड उद्योगहरुमा पनि परेको छ । उत्पादन क्षमताको अभावका कारण उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा निर्यातयोग्य उद्योगहरुलाई अनुदान उपलब्ध गराउने नीति ल्याएसँगै केही सिमेन्ट तथा छड उद्योगहरुले आफ्नो उत्पादन निर्यात गर्न थालेका छन् । निर्यात प्रारम्भसँगै उद्योगहरु अब पूर्ण क्षमतामा चल्न सक्ने आसा रहेको उद्योगी व्यवसायीहरु बताउँछन् । असारको अन्तिम साता तानसेन सिमेन्टले भारतमा निर्यात सुरु गर्यो । गत साउन ४ गतेबाट श्री स्टील्स प्राइभेट लिमिटेडले भारतमा टिएमटी छडको निर्यात सुरु गरेको थियो । श्री स्टील्सले भारतको उत्तर प्रदेशमा निर्यातको पहिलो दिन ३५ टन छडको निर्यात गर्यो ।

कम्पनीले आइएसआई सर्टिफिकेट पाएपछि पेपर प्रकृया पुरा गर्नको लागि मात्रै सो स्टील निर्यात गरेको थियो । तर, त्यसपछि भने नियमित निर्यातको कार्य नभएको सिद्धार्थ ग्रुपका म्यानेजिङ डाइरेक्टर राजेशकुमार अग्रवालले बताए । भारतीय व्यवसायीहरुले तिहारपछिमात्रै स्टीलको माग गरेकोले अहिले निर्यात नियमित नभएको उनको भनाइ छ ।

श्री स्टील उद्योगको दैनिक उत्पादन क्षमता ८ सय टन रहेको छ । तर, बजारमा माग नभएकाले उद्योगले अहिले २ सय टनको हाराहारीमा मात्रै उत्पादन गरिरहेको छ । अग्रवालका अनुसार अहिले बजारमा दैनिक जम्मा १ सय टन छडको बिक्री भइरहेको छ ।

सरकारले निर्यातमा उपलब्ध गराउने भनेको ८ प्रतिशतले केही राहत हुने भएपनि प्रयाप्त भने नभएको उनको भनाइ छ । निर्यातमा प्रतिस्पर्धा सहज नभएको अग्रवालको भनाइ छ । ‘भारतमा पनि पहिलेभन्दा माग घटेको अवस्था छ, सरकारले उपलब्ध गराउने ८ प्रतिशतले हामी केही गर्न सक्छौं भन्ने हो’ उनले भने ।

भारतबाट कच्चा पदार्थ ल्याएर भारतमा नै निर्यात गर्दा भारतमा भन्दा स्वभाविक रुपमा महँगो हुने उनी बताउँछन् । ‘हामीले सबै कच्चा पदार्थ बाहिरबाट ल्याउनु पर्ने र कोइला दक्षीण अफ्रिकादेखि ल्याउनपर्दा भारतमा भन्दा स्वभाविक रुपमा महँगो हुन्छ,ं भारतबाट नेपालमा कच्चा पदार्थ ल्याएर भारतमा नै बेच्दा स्टीलको प्रतिकेजी ६ प्रतिशत भाडा बढी लाग्छ’ उनले भने ।

त्यस्तै, अर्घाखाँची सिमेन्ट लिमिटेडले असोज ३१ गते ‘अर्घाखाँची’ ब्राण्डको सिमेन्ट भारत निर्यात गरेको छ । सो उद्योगले पहिलो दिन भारतको युपी सहरमा २ हजार बोरा सिमेन्ट निर्यात गरेको थियो । अर्घाखाँची सिमेन्टले प्रतिबोरा २ सय ६५ रुपैयाँ भारुमा सिमेन्ट भारत निर्यात गरेको जनाएको छ ।

अर्घाखाँची सिमेन्टको दैनिक उत्पादन क्षमता ४ हजार मेट्रिक टन रहेको छ । तर, बजारमा मागको अभावको कारणले विगत ९० दिनमा ३० दिन पनि उद्योग सञ्चालन हुन नसकेको कम्पनीका निर्देशक राजेश अग्रवाल बताउँछन् । कम्पनीले नेपाली बजारमा सम्पूर्ण कर सहित कम्पनीले ४ सय ९० रुपैयाँमा सिमेन्ट बिक्री गरिरहेको उनको भनाइ छ ।

सिमेन्ट छड भनेको ब्राण्डमा आधारित विषय भएकाले भारतमा स्थापित उद्योगहरुसँग प्रतिस्पर्धा गर्ने कुरा गाह्रो हुने भएपनि भारतीय बजारमा प्रवेश पाएसँगै आफ्ना उद्योगहरु आगामी दिनमा पूर्ण क्षमतामा सञ्चालन हुनसक्ने विश्वास आँफूहरुमा रहेको अर्घाखाँचीका निर्देशक अग्रवाल बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.