अर्घाखाँचीले पनि सुरु गर्यो सिमेन्ट निर्यात, २६५ रुपैयाँका दरले पठायो २ हजार बोरा

  २०७९ असोज ३१ गते १३:१२     विकासन्युज

काठमार्डौं । अर्घाखाँची सिमेन्टले पनि भारतमा सिमेन्ट निर्यात सुरु गरेको छ । पहिलो चरणमा पाल्पा सिमेन्ट इन्डस्ट्रिजले नेपाली सिमेन्ट भारत निर्यात गरेकोमा दोस्रोमा अर्घाखाँची सिमेन्टले सिमेन्ट निर्यात गरेको हो ।

गत असारमा पाल्पा सिमेन्टले ‘तानसेन’ ब्रान्डको सिमेन्ट भारततर्फ निकासी गरेको थियो । कम्पनीले पहिलो दिनमा नै तीन ट्रक सिमेन्ट निर्यात गरेको थियो । यस पटक अर्घाखाँची सिमेन्टले २ हजार बोरा सिमेन्ट भारत निर्यात गरेको हो ।

कम्पनीले आज (सोमबार) २ दुई ट्रकमा सिमेन्ट निर्यात गरेको जनाएको छ । कम्पनीले भारतको युपी सहरमा सिमेन्ट निर्यात गरेको जनाएको छ । कम्पनीले प्रतिबोरा २ सय ६५ रुपैयाँका दरले सिमेन्ट निर्यात गरेको बताएको छ ।

अर्घाखाँची सिमेन्टले यसलाई ठूलो उपलब्धिको रुपमा लिएको छ । गुणस्तरीय सँगै निर्यातलाई निरन्तरता दिनका लागि आफु प्रतिबद्ध भएको कम्पनीले जनाएको छ ।

कम्पनीले सोमबार एक कार्यक्रमको आयोजना गर्दै सिमेन्ट निर्यात सुरु गरेको हो । कार्यक्रममा बोल्दै कम्पनीका सञ्चालक पशुपति मुरारकाले आफ्नो एउटा सपना पुरा भएको बताएका छन् । उनले अझै सिमेन्ट निर्यातलाई नियमित बनाउनका लागि अनवरत रुपमा लाग्ने बताएका छन् ।

सरकारले सिमेन्ट, स्टील लगायत सामान निर्यातमा ८ प्रतिशत अनुदान र वार्षिक १० करोड बढीको विद्युत खपत गर्ने उद्योगलाई २ देखि १५ प्रतिशतसम्म महसुलमा छुट दिने घोषणा गरेको थियो । चालु आर्थिक वर्षको बजेटमार्फत् सो व्यवस्था गरेको थियो । त्यसका लागि कार्यविधि पनि बनिसकेको छ ।

सिमेन्ट उत्पादक संघको तथ्यांक अनुसार नेपालमा ५० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन । तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्दै आएका छन । यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झण्डै २ करोड २० लाख टन जति रहेको अनुमान छ ।

उत्पादनको मात्रा हालको आन्तरिक मागभन्दा बढी जस्तो छ । सरकारले २०७२ को भूकम्पपछि पुनर्निर्माणका कामलाई तीव्रता दिँदा पछिल्ला केही वर्षमा सिमेन्ट उद्योगले तीव्र व्यापार गरे जस्तो थियो । विगत सात वर्षमा भूकम्पबाट क्षति भएका पाँच लाखभन्दा बढी निजी घर र हजारौं विद्यालय भवन, सम्पदा स्थल, स्वास्थ्य चौकी र अन्य संरचनाको पुनर्निर्माण गरिएको छ ।

निर्यात र विद्युत महसुलमा छुट पाउने भएपछि उद्योगीहरु उत्साहित भएका छन् ।  सरकारको उक्त छुटसँगै पाल्पा र अर्घाखाँची सिमेन्टपछि जगदम्बा, सर्वोत्तम र सौर्य लगायत सिमेन्ट उद्योग पनि निर्यातको तयारीमा छन् ।

3 comments on "अर्घाखाँचीले पनि सुरु गर्यो सिमेन्ट निर्यात, २६५ रुपैयाँका दरले पठायो २ हजार बोरा"

  • Pankaj Panjiyar says:

    265 for India and Nepali customer have to pay higher price. Is this fair to Nepali customer? What kind of business strategy is this?

  • Satyam maha purush says:

    नेपाल मा प्रति बोरा (५०केजी)५९०-६४०सम्म लिने अनि भारतमा २६५मै उपलब्ध गराउने यो सिमेण्ट कम्पनिपनि नेपाली जनतालाइ मूर्ख बनाइरहेको पाइयो। होइन भने ब्यापारि नै चोर हुन।

  • Binodkumar says:

    Company dubaune khel ho.Indialai sastoma diyera Nepalma mahangoma bechne chor Company parecha.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.