२०७९ असोज ९ गते १८:५० विकासन्युज
काठमाडौं । वस्तुगत व्यवसायीहरुले नेपालमा तालिम सिकेर विदेश जाने संख्या बढ्दा व्यवसाय सञ्चालन गर्न समस्या हुने गरेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न ६ वटा वस्तुगत संघसँग सिप तथा तालिम सम्झौता कार्यक्रममा बोल्दै व्यावसायीहरुले यस्तो गुनासो गरेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत रहेको स्वास्थ तथा सीप बिकास समितिका सभापति हेमराज ढकालले तालिम लिएर विदेश जाँदा व्यवसाय सञ्चालन गर्न समस्या भएको बताए । कम्पनीमा थोरै समय काम गर्ने अनि केही सिप सिकेपछि विदेश जाने गरेको उनको भनाइ छ ।
‘तालिम प्राप्त कर्मचारी वैदेशिक रोजगारमा जाँदा सीप सिकाएको प्रभावकारी भएन, केही समय काम गर्छन्, मेनपावरमा पासपोर्ट दिन्छन्, भिजा आउने वित्तीकै विदेश जान्छन्,’ उनले भने, ‘दक्ष जनशक्तिको अभाव हुँदा उद्योगहरु सञ्चालन गर्न समस्या भयो, काम गर्दागर्दै तालिम दिने व्यवस्था हुनुपर्छ, तालिम सिकेर विदेश जान रोक्नुपर्छ ।’
विभिन्न वस्तुगत संघसँगको समन्वय गरेर महासंघको २२ लाखलाइ रोजगारी दिने लक्ष्य पुरा गर्नुपर्ने उनले बताए । १ सय बिलियनको अर्थतन्त्र बनाउने भिजन पेपर २०३० लाई पूरा गर्न सीप तालिमको व्यवस्था गरेर रोजगारी दिनु पर्ने उनको भनाइ छ । साना तथा मझौला उधोगले उत्पादन गरेका वस्तुलाई महत्व नदिँदा आयात बढेको उनले बताए ।
रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल (रेबान) का अध्यक्ष अरनिको राज भण्डारीले तालिमसँगसँगै रोजगारीको समेत जिम्मेवारी लिएको बताए । कोरोना महामारीको समयमा होटलहरु पूर्ण रुपमा ठप्प हुँदा समस्या पर्नुका साथै दक्ष जनशक्तिको क्षमता समेत घटेको उनको भनाइ छ ।
‘कोरोना महामारीको समयमा व्यवसाय ठप्प हुँदा दक्ष जनशक्तिको क्षमता समेत घटेको छ, लामो समयदेखि काम बाट बन्चित भएका ब्यक्तीलाई तालिम दिँदा सहज हुनेछ, आवश्यकता हेरेर तालिमको व्यवस्था गरेर रोजगारी दिन्छौं,’ उनले भने ।
नेपाल एशोसियसन अफ टूर एण्ड ट्राभेल एजेन्टकी युविका भण्डारीले पर्यटन क्षेत्रमा तालिमका लागि आवेदन दिने संख्या बढी रहेको बताइन् । आफूहरुले तालिम दिएका ब्यक्तिहरु विदेश जाँदा व्यवसाय सञ्चालन गर्न समस्या हुने गरेको उनको भनाइ छ । साथै उनले पर्यटन क्षेत्रमा दक्ष कर्मचारीको अभाव रहेको बताइन् ।
फिसरी एशोसियसनका अध्यक्ष अम्बिका अधिकारी काम गर्ने जनशक्तिको अभाव रहेको बताउँछन् । माछापालन क्षेत्रमा काम गर्ने दक्ष जनशक्ति अभाव भएका बेला महासंघको तालिमले सहयोग पुग्ने उनको धारणा छ ।
‘आफैं काम गर्ने मान्छेलाईं तालिम दिदै आएको थियौं, महासंघले तालिम दिने भएपछि मत्स्य पालन व्यावसायीलाई सहज हुनेछ, मत्स्य पालन सम्बन्धी तालिमको व्यवस्था देशभरि हुनुपर्छ,’ उनले भने ।
नेपाल अलैंची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष राजकुमार कार्कीले नेपालको निर्यात क्षेत्रमा अलैचीं एक नम्बरमा पर्ने भएकाले अझै ब्यापक गर्नुपर्ने बताए । पछिल्लो समय भारते पनि आफैं उत्पादन गरिरहेकाले गुणस्तरमा जोड दिनु पर्ने उनको भनाइ छ ।
‘नेपालको निर्याताम अलैंची एक नम्बरमा छ, भारतमा मात्रै निर्यात गर्नु परेको छ तर, पछिल्लो समय भारत आफैंले पनि उत्पादन गर्दा गुणस्तरीयतामा जोड दिनु परेको छ, अलैंचीको मुख्य बजार झापा हो, समयमा तालिम दिएर अझै ब्यापक बनाउनु पर्छ,’ उनले भने ।
जुत्ता उत्पादक संघका महासचिव ग्यानेन्द्र प्रसाद दाहालले विदेशी कामदारको भरमा व्यवसाय सञ्चालन गर्नु परेको गुनासो गरे । भारतबाट कामदार ल्याएर व्यवसाय सञ्चालन गर्दा ठूलो रकम बाहिर जाने गरेको उनले बताए ।
‘जुत्ता व्यवसायमा दक्ष जनशक्तिको अभाव हुँदा बिदेशीबाट कामदार ल्याउनु पर्छ, विदेशबाट जनशक्तिको भरमा व्यवसाय संचालन गर्नु पर्ने बाध्यता छ, उनीहरुले ठूलो रकम पनि नेपालबाट बाहिर लगेर जान्छन्, नेपालमा जनशक्ति उत्पादन गर्न तालिमको आवश्यकता छ,’ उनले भने ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.