‘सहकारीको संख्या ५ हजारमा झार्नुपर्छ, ब्याजदर स्वचालित हुनुपर्छ’

  २०७९ असोज ९ गते ११:१८     चित्रा कुमारी थामसुङ सुब्बा

नेपालमा ३० हजारको हाराहारीमा सहकारी संस्थाहरु सञ्चालनमा छन् । अहिले केन्द्र सरकार मात्रै नभएर प्रदेश र स्थानीय तहका सरकारले पनि सहकारी संस्था दर्ता गर्न पाउँछन् । तीनै तहको सरकारले सहकारीको दर्ता, नियमन र प्रबद्र्धन गर्न पाउने व्यवस्था मिलाएको छ । जसले गर्दा सहकारी संस्थाको संख्यात्मक वृद्धि भयो । अब सहकारी क्षेत्रमा गुणात्मक वृद्धि गर्नु उत्तिकै आवश्यक छ ।

हामीले संख्या धेरै भयो अब गुणात्मक वृद्धि गर्नुपर्छ भनेर आवाज उठाइरहेका छौं । सहकारीको संख्या धेरै भइसक्यो गुणात्मक वृद्धिमा जोड दिनुपर्छ । अहिलेको युग प्रतिस्पर्धात्मक हो । अहिले जति राम्रो सेवा दिन सकियो सदस्यहरुको विश्वास त्यति नै धेरै बढ्छ । सहकारी संस्था सदस्यहरुको आधारमा सञ्चालन हुन्छन् । संस्था जति सानो भयो त्यसको कस्ट अफ फण्ड, व्यवस्थापन लगायत अन्य खर्च पनि उत्तिकै बढी हुन्छ । संस्थाको व्यवस्थापन खर्च कम गर्न, संस्थालाई स्मार्ट बनाउन सहकारी संस्थाहरु मर्जरमा जान जरुरी छ ।

पछिल्लो चरण बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकमको अभाव छ । कोरोना महामारी पछिको अर्थतन्त्र, रुस र यूक्रेनबीच युद्धका कारण आर्थिक मन्दीको समस्या उत्पन्न भएको छ । बैंक तथा वित्तीय संस्थामा लगानी योग्य रकमको अभाव हुँदा सहकारी क्षेत्रमा त्यसको चाप परेको हो । अहिले पनि बैंक तथा वित्तीय संस्थाले अस्वीकृत गरेका ऋणीहरु कर्जा चाहियो भनेर सहकारी संस्थामा आइरहनु भएको छ । ऋणीहरुलाई नियमित सेवा सुविधा प्रवाह गर्नका लागि सहकारी बलियो, सबल, सक्षम हुनुपर्छ ।

सहकारी संस्थाहरु ३० हजारबाट ५ हजारमा झार्नुपर्छ । कतिपय संस्थामा एउटा ब्यक्ति र अर्काे संस्थामा त्यहि ब्यक्ति सदस्य हुनुहुन्छ । अब सहकारी संस्थाहरुलाई ५ हजारमा झार्नेगरी योजनाबद्ध रुपमा लाग्नुपर्छ । अहिले संकटका बेलामा सहकारी क्षेत्रमा प्रभाव परेको हुँदा न्यूनिकरण वा समाधान गर्न सहकारी संस्थाहरुलाई एकीकरण गर्नु पर्ने आवश्यकता परेको हो । अहिले सुरुवात भएर राम्रो भएको छ । अब सरकारले पनि मर्जरमा गएका संस्थाहरुलाई प्रोत्साहन गर्न कर छुट लगायतको व्यवस्था गर्नुपर्छ ।

अहिलेसम्म सरकारले मर्जरका लागि दबाव दिएको छैन । मर्जर दबाव अथवा जवरजस्ती गर्ने पनि होइन । सदस्यहरुबीच आपसी छलफल र सञ्चालक समितिले छलफल गरेर मर्जर गर्नुपर्ने भएकाले यसमा दबाव दिनु हुँदैन । बरु मर्जरको स्वीकृति नियामकले दिने हुँदा मर्जरका प्रक्रियाहरु छिटोछरितो गराउनु पर्छ । साथै, नियमाकले सहुलियतको व्यवस्था मिलाउन पहल गर्नु पर्छ । हालसम्म कतिवटा संस्था मर्जर भएका छन् भनेर एकिन तथ्याङ्क नभएपनि धेरै सहकारी संस्थाहरु मर्ज भइसकेका छन् । सहकारी विभागमा मर्जरको स्वीकृति लिने संख्या बढेको छ । देशैभरि मर्जरको अभियान चलेको छ । सहकारी संस्थाहरु पहिलादेखि नै मर्ज हुँदै आएका छन् । अहिले एउटा अभियान मात्रै चलेको हो ।

बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले मर्जरका लागि दबाव दिने गरेको छ । बैंक तथा वित्तीय संस्था सहकारी संस्थाभन्दा एडभान्स हो । प्रतिस्पर्धी बन्नका लागि बैंक तथा वित्तीय संस्थालाई मर्जर गराइ रहेको छ भने सहकारी संस्था त स्वभाविक रुपमा मर्जरमा जानै पर्छ । तर मर्जरपश्चात् शुसासित, मर्यादित रुपमा सञ्चालन हुनुपर्छ । सहकारी संस्थाहरुले सहकारीका मूल्य र सिद्धान्त अनुसार काम गर्नुपर्ने हुन्छ । पछिल्लो समय सहकारीमा देखिएका विभिन्न समस्याले मात्रै सहकारी संस्थालाई मर्जरमा जान दबाव पुगेको होइन । दुई तीन वर्षअघि राम्रा राम्रा संस्थाहरु पनि मर्ज भएका थिए । ३० हजार संस्थालाई तत्काल मर्जर गराएर ५ हजारमा झार्न नसकिए पनि यसलाई अभियानको रुपमा लगेर केही वर्षमा ५ हजारमा झार्नुपर्छ ।

अब हामी थर्ड कोओर्पाेरेटिभ कंग्रेस गर्ने तयारीमा छौं । यसअघि पहिलो र दोस्रो कोओप्रेटिभ कंग्रेस सम्पन्न गरिसकेका छौं । ४/५ वर्षमा कोओप्रेटिभे कंग्रेस गरिन्छ । अब तेस्रो कोअप्रेटिभ कंग्रेसको आयोजना गर्ने तयारी छौं । देशभरिका कोओप्रेटर बसेर बिग फोरममा छलफल गरेर निष्कार्श निकाल्ने गरीन्छ । तेस्रो कोओप्रेटिभ कंग्रेसमा पनि सहकारीका कति वटा संस्था आवश्यक हो भनेर निक्र्याैल गर्ला । पछिल्लो समय देखिएको समस्या विश्वब्यापी हो । कोरोना महामारीले २/३ वर्ष बजार ठप्प भयो । रुस र यूक्रेनको युद्धले मूल्य वृद्धि बढ्न गइ समस्या उत्पन्न भएको हो । त्यहि समस्या सहकारीमा क्षेत्रमा परेको हो । सहकारी संस्थाहरु शुसासित र व्यवस्थित हुनै पर्छ । सहकारी संस्थाहरु सदस्य केन्द्रित हुने भएकाले सबैभन्दा ठूला सदस्य हुन भनेर संस्था सञ्चालन गर्नुपर्छ । संस्था सञ्चालन गर्नका लागि दक्ष कर्मचारी, व्यवस्थापक समूह, सञ्चालक समिति आवश्यक छ ।

सहरकारी संस्थाभित्र इन्टर्नल कन्ट्रोल सिस्टम हुन्छ । यदि सहकारीमा त्यो सिस्टम बलियो छ भने सहकारी संस्था पनि बलियो हुन्छ । त्यो सिस्टमले सहकारी संस्थात्रि के कस्ता गरिविधिहरु भइरहेका छन् भनेर हेरिरहेको हुन्छ । तर, पछिल्लो समय सहकारी संस्थाहरु लहडमा दर्ता भइरेहका छन् । लहडमा दर्ता भएपनि सहकारी संस्थालाई कसरी सञ्चालन गर्ने भनेर सिकाउनु पर्ने हुन्छ । यो कुराको पनि कमी भएको नै हो । सहकारी संस्था प्राविधिक विषय हो । जसरी चलाएपनि हुन्छ त्यहि ठीक हो भन्ने प्रवृत्तिले पनि यो समस्या आएको हो । सहकारीको मूल्य र सिद्धान्त धेरै राम्रा छन् । त्यहि अनुसार चल्यो भने यस्ता किसिमका प्रभाव र समस्या आउँदैन ।

बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढेको छ । तर, सहकारीको सन्दर्भ ब्याजदर तोकिएको छ । सन्दर्भ ब्याजदरमा क्याप लगाएको छ । ऋणमा सहकारीले १६ प्रतिशतभन्दा बढी दिन पाउँदैनन् । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढेको हुँदा यस विषयमा पनि छलफल भइरहेको छ । सहकारी विभागको रजिष्ट्रारको संयोजकत्वमा ब्याजदर समिति छ । त्यो समितिले उपसमिति बनाएको छ । सहकारी संस्थाको ब्याजदर बैंक तथा वित्तीय संस्थाको जस्तो स्वचालित रुपमा हुनुपर्छ भनेर माग गरेका छौं । ब्याजदर बजारले निर्धारण गर्ने हो । बजारमा ब्याजदर उच्च भयो सहकारीले बढाउन पाउनु पर्याे, बजारमा घट्यो भने सहकारीले पनि घटाउनुपर्याे । सन्दर्भ ब्याजदर रिभ्यू हुनुपर्छ भन्ने हाम्रो माग हो ।

(राष्ट्रिय सहकारी महासंघकी जनरल म्यानेजर चित्रा कुमारी थामसुङ सुब्बासँग सीआर भण्डारीले गरेको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.