तीन दिने महिला नेतृत्व शिखर सम्मेलन गर्दै उद्योग परिसंघ

  २०७९ असोज २ गते १९:१२     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघले तीन दिने वोमेन्स् लिडरशीप समीट २३ (महिला नेतृत्व शिखर सम्मेलन) गर्ने भएको छ । परिसंघले आगामी पुस २९ गतेदेखि माघ १ गतेसम्म (जनवरी १३, १४ र १५, २०२३) मा महिला नेतृत्व शिखर सम्मेलन आयोजना गर्न लागेको हो ।

परिसंघको महिला नेतृत्व मञ्चको संयोजनमा काठमाडौंमा उक्त सम्मेलन आयोजना गर्न लागिएको हो । कोभिड १९ महामारीपछि महिला नेतृत्वका तीनवटा प्रमुख क्षेत्रमा केन्द्रित रहेर सम्मेलन आयोजना गर्न लागिएको हो । कोभिड १९ का कारण महिलामा परेको असर, त्यसका विषयमा छलफल र समाधान खोज्ने उद्देश्य यो सम्मेलनको रहेको छ ।

यसैगरी सम्मेलनलाई लैङ्गिक समानताका विषयसहित महिला नेतृत्वहरुबीच विचार आदानप्रदान गर्ने, साझा रणनीति बनाउने, महिलाहरुका सफलता सुनाउने, महिलाहरुलाई प्रोत्साहित गर्ने र एकअर्काबाट सिक्ने अवसरको रुपमा प्रयोग गरिनेछ ।

नेतृत्वमा महिला, अर्थतन्त्रमा महिलाको योगदान र परिवर्तनका संवाहक महिला विषयमा छुट्टाछुट्टै सत्रमा छलफल हुनेछ ।

परिसंघले पहिलो पटक आयोजना गर्न लागेको महिला नेतृत्व शिखर सम्मेलनले परिवर्तन प्रेरित महिला, नेता, विज्ञहरूलाई एउटै थलोमा ल्याउँछ । यो शिखर सम्मेलन वर्तमान एवं सफल उदाहरणहरूमा केन्द्रित हुनेछ, जसले महिलाहरुलाई प्रेरित गर्नेछ ।

सम्मेलनमा राजनीति, आर्थिक, सामाजिक, वातावरणलगायतका क्षेत्रमा स्थापित, रुपान्तरणकारी एवं प्रभावशाली राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती कमाएका महिलाहरुको सहभागिता हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.