बैंकको एउटा शाखाले साढे ४ हजारलाई सेवा दिँदै, बझाङको साइपालमा पुग्न सकेनन् बैंक

  २०७९ भदौ ३० गते १३:१०     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो शाखा सञ्जाल विस्तारमा व्यापकता ल्याएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार ७७ वटा जिल्लाका ७५२ वटा स्थानीय तहमा वाणिज्य बैंकहरुले आफ्नो बैंकिङ्ग सेवा प्रदान गरिरहेका छन् । अझै एउटा स्थानीय तह अर्थात् बझाङको साइपालमा भने वाणिज्य बैंकको शाखा पुग्न सकेको छैन ।

केन्द्रिय बैंकको तथ्याङ्क अनुसार वाणिज्य, विकास र वित्त कम्पनीका शाखा सञ्जालको संख्या ६ हजार ४२० वटा रहेका छन् । राष्ट्र बैंकका अनुसार ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको शाखा सञ्जाल ५ हजार १३५ वटा छन् ।

२६ वटा वाणिज्य बैंकका ५ हजार ३१ वटा शाखा, १७ वटा विकास बैंकका १ हजार १२० वटा शाखा, १७ वटा फाइनान्स कम्पनीका २६९ वटा शाखा र ६५ वटा लघुवित्तका ५ हजार १३५ वटा शाखा कार्यालय रहेका छन् ।

प्रदेश नं. १ मा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीका ९९२ वटा शाखा, मधेश प्रदेशमा ६९७ वटा शाखा, बागमति प्रदेशमा २ हजार २४५ वटा शाखा, गण्डकी प्रदेशमा ८२९ वटा शाखा, लुम्बिनी प्रदेशमा १ हजार ४४ वटा शाखा, कर्णाली प्रदेशमा २२४ वटा र सुदूरपश्चिम प्रदेशमा ३८९ वटा गरी कुल ६ हजार ४२० वटा शाखा सञ्जाल रहेका छन् ।

देशभरको तुलनाका आधारमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुको एउटा शाखाले ४ हजार ५४७ जनालाई सेवा दिने गरेको राष्ट्र बैंकले जनाएको छ । तर, लघुवित्तहरुको संस्थाहरुको शाखा सञ्जालसहित जोड्ने हो भने एउटा शाखाले २ हजार ५२६ जनालाई सेवा प्रदान गर्ने गरेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

प्रदेश नं. १ मा वाणिज्य बैंकका ७६६ वटा, विकास बैंकका १९४ वटा र फाइनान्स कम्पनीका ३२ वटा गरी कूल ९९२ वटा शाखा सञ्चालनमा रहेका छन् । प्रदेशको १ मा ४९ लाख ७२ हजार २१ कूल जनसंख्या रहेकोमा बैंक तथा वित्त संस्थाको एउटा शाखाले ५ हजार १२ जनालाई सेवा प्रदान गर्ने गरेका छन् ।

यस्तै, मधेश प्रदेशमा वाणिज्य बैंकका ५७५ वटा, विकास बैंकका ८४ वटा र फाइनान्स कम्पनीका ३८ वटा शाखा गरी कूल ६९७ वटा शाखा सञ्चालनमा छन् । मधेशमा ६१ लख २६ हजार २८८ जनसंख्या रहेकोमा बैंक तथा वित्त संस्थाको एउटा शाखाले ८ हजार ७९० जनालाई सेवा दिने गरेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, बागमति प्रदेशमा वाणिज्य बैंकका १ हजार ८१५ वटा, विकास बैंकका ३२३ वटा र फाइनान्सका १०७ वटा गरी कूल २ हजार २४५ वटा शाखा सञ्चालनमा छन् । यस प्रदेशमा ६० लाख ८४ हजार ४२ जनसंख्या रहेकोमा एउटा शाखाले २ हजार ७१० जनालाई सेवा दिने गरेका छन् ।

यस्तै, गण्डकी प्रदेशमा वाणिज्य बैंकका ६०२ वटा शाखा, विकास बैंकका १९० वटा शाखा र फाइनान्सका ३७ वटा शाखा गरी प्रदेशभरि ८२९ वटा शाखा सञ्चालनमा छन् । यस प्रदेशमा २४ लाख ७९ हजार ७४५ जनसंख्या रहेकोमा बैंक तथा वित्त संस्थाको एउटा शाखाले २ हजार ९९१ जनालाई सेवा दिने गरेको छ ।

यस्तै, लुम्बिनी प्रदेशमा वाणिज्य बैंकका ७४२ वटा, विकास बैंकका २५६ वटा र फाइनान्सका ४६ वटा गरी कूल १ हजार ४४ वटा शाखा सञ्चालनमा छन् । यस प्रदेशमा ५१ लाख २४ हजार २२५ जनसंख्या रहेकोमा बैंक तथा वित्तीय संस्थाको एउटा शाखाले ४ हजार ९०८ जनालाई सेवा प्रदान गर्ने गरेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै, कर्णाली प्रदेशमा वाणिज्य बैंकका २ सय वटा, विकास बैंकका २१ वटा र फाइनान्सका ३ वटा गरी कूल २२४ वटा शाखा सञ्चालनमा छन् । यस प्रदेशमा १६ लाख ९४ हजार ८८९ जना रहेकोमा बैंक तथा वित्त संस्थाको एउटा शाखाले ७ हजार ५६६ जनालाई सेवा दिने गरेका छन् ।

सुदूरपश्चिम प्रदेशमा वाणिज्य बैंकका ३३१ वटा, विकास बैंकका ५२ वटा र फाइनान्सका ६ वटा शाखा गरी कूल ३८९ वटा शाखा सञ्चालनमा छन् । यस प्रदेशमा २७ लाख ११ हजार २७० जनसंख्या रहेकोमा एउटा शाखाले ६ हजार ९७० जनालाई सेवा दिइरहेका छन् ।

जिल्लागत हिसाबमा हेर्ने हो भने सबैभन्दा धेरै जाजरकोटमा एउटा शाखाले १३ हजार ५२६ जनालाई सेवा दिने गरेका छन् । यस्तै, बैतडीमा एउटा शाखाले १२ हजार ८६३ जनालाई, रौतहटमा एउटा शाखाले ११ हजार ७९५ जना, सप्तरीमा ११ हजार ३२१ जना, अछाममा १० हजार ९४४ जना, रोल्पामा १० हजार २७१ जना, दैलेखमा १० हजार १३३ जनालाई एउटा शाखाले सेवा दिने गरेका छन् ।

यस्तै, मनाङमा एउटा शाखाले ५१३ जना र मुस्ताङमा एउटा शाखाले ८५९ जनालाई सेवा दिने गरेका छन् । बैंक तथा वित्त संस्थाका मनाङमा ११ वटा र मुस्ताङमा १७ वटा शाखा सञ्चालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.