लघुबीमाका लागि हालसम्म कसैले दिएनन् आवेदन, अध्यक्ष भन्छन्- अन्तिममा भटाभट आउँछन्

  २०७९ भदौ २४ गते १४:५३     विकासन्युज

काठमाडौं । हालसम्म कुनै पनि कम्पनीले लघुबीमाको इजाजतपत्र लिनका लागि आवेदन दिएका छैनन् ।

बीमा समितिले आवेदन खुला गरेको १३ दिन पुग्दासम्म कुनै पनि कम्पनीले लाइसेन्स लिनका लागि आवेदन नदिएको समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले बताए । उनले हालसम्म कुनै पनि कम्पनीले आवेदन नदिएपनि अन्तिम समयसम्म धेरै आवेदन आउने विश्वास व्यक्त गरे ।

‘बीमा समितिमा कसैले पनि लघुबीमाका लागि आवेदन दिएका छैनन्,’ अध्यक्ष सिलवालले भने, ‘लघुबीमा कम्पनीको लागि हालसम्म एउटा पनि प्रस्ताव नआएपनि अन्तिम समयमा लगानीकर्ताहरु भटाभट आउँछन् ।’

समितिले गत भदौ १० गते लघुबीमा कम्पनीको लाइसेन्सका लागि आवेदन खुला गरेको थियो । लघुबीमाको लाइसेन्स लिन ईच्छुकले सूचना जारी भएको ३५ दिनसम्म आवेदन तथा प्रस्ताव पठाउन आह्वान गरेको थियो । तर, १३ दिन बढी समय हुँदासम्म पनि कुनै कम्पनीले आवेदन नदिएका हुन । अब आवेदन दिने समय १७ दिन मात्रै बाँकी रहेको छ ।

समितिले ३ वटा जीवन र ४ वटा निर्जीवन लघुबीमा गरी बढीमा ७ वटा कम्पनीलाई लघुबीमा व्यवसाय गर्नको लागि बाटो खुला गरेको छ । जसको चुक्ता पुँजी न्यूनतम ७५ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था गरिएको छ ।

लघुबीमक स्थापना तथा दर्ता सम्बन्धी निर्देशिका अनुसार प्रस्तावित लगानीकर्ताको एकै किसिमको बीमा व्यवसाय गर्ने अन्य कुनै कम्पनीमा सेयर हिस्सा अर्थात क्रस होल्डिङ रहेमा उक्त लगानीकर्ता संस्थापक बन्न पाउने छैनन् । तर, जीवन बीमा व्यवसाय गर्दै आएका कम्पनीले र्जीवन लघुबीमा र निर्जीवन बीमा व्यवसाय गर्दै आएकाले भने जीवन लघुबीमा कम्पनीले खोल्न पाउने समितिको भनाई छ ।

सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को बजेट मार्फत बीमाको विकास तथा विस्तार गर्नको लागि लघुबीमा कम्पनी स्थापना गर्नुपर्ने व्यवस्था गरेको थियो । सोहि व्यवस्था अनुसार बीमा समितिले लाइसेन्सको प्रकृयालाई अघि बढाएको हो ।

लघुबीमा कम्पनी स्थापनाको लागि जारी गरेको निर्देशिका अनुसार लघुबीमा कम्पनीले गर्न पाउने व्यवसाय बारे स्पष्ट नहुँदा अन्यौलता छ । अध्यक्ष सिलवालले भने यस विषयमा समितिले थप गृहकार्य गरिरहेको बताए । लघुबीमा व्यवसाय गर्ने कम्पनीले कति रकम बराबरको बीमा गर्न पाउने भनेर सीमा तोकिने बताउँदै अध्यक्ष सिलवालले काम भइरहेको बताए ।

समितिले जारी गरेको लघु बीमकसम्बन्धी निर्देशिका अनुसार लघुबीमा व्यवसाय गर्ने कम्पनीको कर्पोरेट कार्यालय उपत्यका बाहिर हुनुपर्ने व्यवस्था भएपनि देशभर नै व्यवसाय गर्न पाउने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.