९ वटा पोलिसीमध्ये सावधिक जीवन बीमामा आकर्षण बढ्दो, एक महिनामै उठ्यो पौने ३ अर्ब प्रिमियम

  २०७९ भदौ १९ गते १८:११     विकासन्युज

काठमाडौं । जीवन बीमा गर्ने अधिकांश बीमितहरु सावधिक जीवन बीमामा आकर्षित भएका छन् । बीमा समितिका अनुसार कम्पनीहरुले ल्याएका ९ वटा बीमालेखमध्ये सावधिक जीवन बीमामा उनीहरुको आकर्षण बढी रहेको पाइएको हो ।

एक महिनाको अवधिमा मात्रै कम्पनीहरुले विभिन्न बीमालेखमार्फत १५ अर्ब ५ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छन् । जसमध्ये सावधिक जीवन बीमाबाट सबैभन्दा बढी अर्थात ५ अर्ब ४३ करोड रुपैयाँ बराबरको प्रिमियम उठेको छ । विभिन्न ७ वटा प्रदेशबाट संकलन भएको उक्त बीमाशुल्कमध्ये पनि बागमतीबाट सबैभन्दा बढी छ भने कर्णालीबाट सबैभन्दा कम रहेको छ । एक महिनामा मात्रै बागमतीबाट २ अर्ब ७३ करोड रुपैयाँ बराबरको प्रिमियम सावधिक जीवन बीमाबाट उठेको छ । त्यस्तै, सोही बीमालेख अन्तर्गत कर्णालीबाट २१ करोड ०२ लाख रुपैयाँ बराबरको प्रिमियम उठेको छ ।

यससँगै सावधिक जीवन बीमा पश्चात सबैभन्दा बढी बिक्री हुने बीमालेखमा अग्रिम भुक्तानी सावधिक जीवन बीमा रहेको छ । जसबाट ४ अर्ब ६ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । यो बीमालेख बिक्रीबाटै साउन महिनामा मात्रै बागमतीबाट सबैभन्दा बढी र सूदूरपश्चिमबाट सबैभन्दा कम बीमाशुल्क संकलन भएको छ ।

साथै, रुपान्तरित सावधिक जीवन बीमालेख अन्तर्गत एक महिनामै २ अर्ब २४ करोड रुपैयाँ बराबरको प्रिमियम उठेको छ । ७ वटै प्रदेशबाट उठेको उक्त रकममध्ये सबैभन्दा बढी बागमती प्रदेशबाट रहेको छ भने सबैभन्दा कम सूदुरपश्चिमबाट रहेको छ ।

त्यसैगरी, कम्पनीहरुले बालबच्चा सम्बन्धी सावधिक जीवन बीमालेख बिक्रीमार्फत २ अर्ब २२ करोड रुपैयाँ संकलन गरेका छन् । जसमध्ये सबैभन्दा बढी बागमती प्रदेशबाट र कम कर्णालीबाट उठेको छ ।

यता आजीवन जीवन बीमालेखबाट ५५ करोड ८५ लाख, बैदेशिक रोजगार म्यादि जीवन बीमाबाट २४ करोड ५४ लाख, लघु जीवन बीमाबाट १५ करोड २६ लाख, म्यादि जीवन बीमालेखबाट ८ करोड ४४ लाख र एकल बीमाशुल्क जीवन बीमालेखबाट ५ करोड रुपैयाँ उठेको छ ।

समितिका अनुसार कम्पनीहरुले एक महिनामा लघु जीवन बीमा व्यवसायबाट १५ करोड २६ लाख रुपैयाँ संकलन भएको छ । जसमध्ये सबैभन्दा बढी बागमती जीवन बीमाबाट सर्वाधिक उठेको छ । उक्त प्रदेशबाट मात्रै १० करोड ४९ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन भएको छ । सबैभन्दा कम भने मधेश प्रदेशबाट रहेको छ । समीक्षा अवधिमा मधेश प्रदेशबाट २५ लाख ८५ हजार रुपैयाँ मात्रै प्रिमियम उठेको छ ।

जीवन बीमा कम्पनीहरुको साउन महिनाको तथ्यांक हेर्दा लघु जीवन बीमा ग्रामिण भेगमाभन्दा बढी शहरमा केन्द्रित भएको देखिन्छ । अन्य प्रदेशमा भन्दा बागमतीमा ६८ प्रतिशत बढी लघु जीवन बीमालेखबाट प्रिमियम संकलन हुनुले कम्पनीहरु सहर केन्द्रित भएको बुझिन्छ ।

समग्रमा प्रदेश १ बाट २ अर्ब २ करोड, मधेशबाट १ अर्ब ३७ लाख, बागमतीबाट ६ अर्ब ५१ करोड, गण्डकीबाट १ अर्ब ५९ करोड, लुम्बिनीबाट २ अर्ब ११ करोड, कर्णालीबाट ६८ करोड ९२ लाख र सुदुरपश्चिम प्रदेशबाट ७५ करोड ३७ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन भएको समितिले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.