सहकारीको समस्याले बैंकहरुमा झट्का, प्रभाव बुझ्न राष्ट्र बैंकले सुरु गर्यो अध्ययन

  २०७९ भदौ १९ गते १६:५०     विकासन्युज

काठमाडौं । सहकारी संस्थामा देखिएको समस्याको असर बैंक तथा वित्तीय क्षेत्रमा पनि देखिन थालेपछि राष्ट्र बैंकले अध्ययन थालेको छ । पछिल्लो समय सहकारी संस्थाहरुमा बढी नै समस्या देखिन थालेपछि सहकारीहरुले बैंकबाट धमाधम पैसा झिकिरहेको समाचार बाहिरिन थालेका छन् । बैंकहरुले पनि सहकारीको समस्याको प्रभाव बैंकहरुमा पनि देखिन थालेको बताउन थालेपछि त्यसको यकिन प्रभाव बुझ्न राष्ट्र बैंकको बैंक सुपरभिजन विभागले अध्ययन सुरु गरेको हो ।

नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता नारायण पोखरेलले सहकारीमा देखिएको समस्याले बैंक तथा वित्तीय संस्थामा के कस्तो प्रभाव परेको छ भन्ने विषयमा अध्ययन सुरु गरेको बताए । उनका अनुसार अहिलेसम्म खासै नकारात्मक अवस्था नदेखिएको भएपनि आगामी दिनमा पर्न सक्ने असरको विषयमा अध्ययन सुरु गर्न लागेको हो ।

‘अहिलेसम्म सबै बैंक तथा वित्तीय क्षेत्रका सबै सूचकहरु ठीकै छन्, खराब कर्जा (एनपीएल) बढेको छैन, क्यापिटल एड्युकेसीमा खासै समस्या छैन, तरलता अनुपात पनि सन्तोषजनक नै छ, सहकारीमा देखिएको समस्याका कारण बैंक तथा वित्तीय क्षेत्रमा समस्या नै देखियो भन्ने अवस्था अहिले छैन तर हामीले सतर्कता अपनाउनु पर्छ, त्यो अवस्था बुझ्नका लागि बैंक सुपरभिजन विभागले आन्तरिक रुपमा अध्ययन गर्न लागेको हो,’ पोखरेलले विकासन्युजसँग भने ।

उनका अनुसार यस्ता खालका अध्ययन राष्ट्र बैंकले नियमित रुपमा गर्दै पनि आइरहेको छ । उनले बैंकहरुमा सहकारी संस्थाहरुको निक्षेप ५/६ मात्रै रहेकोले त्यसले खासै ठूलो समस्या सिर्जना नगर्ने बताए ।

बैंक तथा वित्तीय क्षेत्रहरुले सहकारी संस्थाहरुले राखेको निक्षेप धमाधम झिक्न थालेपछि चिन्ता व्यक्त गरेका छन् । कतिपयले सहकारी र लघुवित्तमा देखिएको समस्याले अर्थतन्त्र नै दबाबमा परेको र त्यसको प्रभाव ‘ग्रासरुट’ (सर्वसाधारण)मा परेको तर्क पनि राखिरहेका छन् ।

साउन महिनामा मात्रै बैंक तथा वित्तीय क्षेत्रहरुबाट करिब सबा अर्ब रुपैयाँ निक्षेप बाहिरिएको थियो । सो रकम हालसम्म बैंकिङ प्रणालीमा आउन सकेको छैन ।

अहिले देशभर करिब ३४ हजार बचत तथा ऋण सहकारी संस्थाहरु छन् । केही सहकारीहरुले भने गैर कानुनी रुपमा अनुत्पादक क्षेत्रमा लगानी गरेर सहकारीमै समस्या सिर्जना गरेको धाभरणा सहकारी अभियानकर्मीहरुको छ । अहिले बैंकिङ प्रणालीमै तरलताको अभाव भइरहेको बेला सहकारीहरुले पनि बैंकबाट धमाधम पैसा झिक्न थालेपछि बैंकहरुमा पनि एक किसिसमको दबाब सिर्जना भएको बैंकरहरु पनि बताउँछन् ।

सहकारी विभाग भने यो समस्या समाधानका लागि काम गरिरहेको विभागका रजिष्टार रुद्रप्रसाद पण्डित बताउँछन् । उनका अनुसार सहकारी संस्थाहरुमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवा संयोजक रहेको राष्ट्रिय समस्या समाधान समितिमा समेत पुगिसकेको छ । उक्त समितिले पनि यो समस्या समाधानका लागि केही कदम चाल्न सक्ने विश्वास पण्डितको छ ।

सम्बन्धि सामग्री : सकसमा सहकारी : बैंकबाट धमाधम निकाल्न थाले पैसा, बचतकर्ताले अत्याउन लागेपछि सुरक्षाको माग

One comment on "सहकारीको समस्याले बैंकहरुमा झट्का, प्रभाव बुझ्न राष्ट्र बैंकले सुरु गर्यो अध्ययन"

  • कृष्ण मान डंगोल says:

    येदि आफ्नो कर्तब्य सुरुदेखिनै ईमान्दारि पुर्बक सम्बन्धित सहकारी बिभाग र सम्बन्धित मन्त्रालय हरूले कुनैपनि व्यक्तिगत स्वार्थ नराखेर आज गरिरहेको भए सायद आज देखिएको सहकारीहरू भित्रको येस्तो दयनीय अबस्था कदापि हुने थिएन र देशभरका पिडित सहकारी सदस्य हरू पनि आज रोएर बस्नु पर्दैन थियो होला.आफ्नो जिन्दगीभर पेट काटेर भबिस्य को लागि जनताहरुले जम्मा गरेर राखेको अरबौ रकम आज फटाहाहरूको लोभि पापी कर्मले लुटिएको छ. तेसैले येदि मैले निसाफ गर्ने मौका पाउने हो भने, अब सरकारले नै सबै पिडित हरू लाई छ्यतिपूर्ति दिनु पर्छ र सो गर्न जो जो व्यक्ति र सहकारी का संचालक तथा कर्मचारी हरू जिम्मेबार देखिञ्छन तिनीहरु बाट तुरुन्तै गराउन पर्ने हो. येदि यो काममा अब बिलम्ब गरेमा, यो क्षेत्रमा अझै अरुपनि धेरै थपहानि हुने देखिन्छ. अब आगे सम्बन्धित कानुनि सरोकारवाला हरू नै जानुन!!जय जनता!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.