आजदेखि सामाजिक सुरक्षा कोषले ७५ लाखसम्म ऋण दिने, सेवा एपबाटै, यस्तो छ प्रक्रिया

  २०७९ भदौ १ गते १६:३०     विकासन्युज

काठमाडौं । सामाजिक सुरक्षा कोष (एसएसएफ) ले सापटी सेवा सुरु गरेको छ । कोषले बुधबार काठमाडौंमा एक कार्यक्रम गर्दै सेवाग्राहीलाई योगदानको आधारमा ऋण लिने सुविधा सुरु गरेको जानकारी दिएको हो ।

यस योजना ३६ महिनासम्म कोषमा योगदान गरेको हकमा लागु हुने र सेवाग्राहीले जम्मा गरेको ८० प्रतिशत रकम ऋण लिन पाउने कोषले जनाएको छ । कोषले घर सापटी, शिक्षा सापटी र सामाजिक सापटी दिनेछ । सेवाग्राहीले घर सापटीमा ७५ लाख रुपैयाँसम्म ऋण पाउने कोषले जानकारी दिएको छ । याे सुविधा एपबाट पनि पाउन सकिनेछ । काेषले आज एप पनि सार्वजनिक गरेकाे छ ।

‘योगदानकर्ता सापटी निर्देशिका २०७९’  मा योगदानकर्ता घर सापटी’अन्तर्गत नयाँ घर निर्माण, आफ्नो स्वामित्वमा रहेको घरको तला थप्न, घर मर्मत गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न र घर खरिद गर्ने कार्यमा कोषले सापटी दिने व्यवस्था छ । निर्देशिका अनुसार कोषमा कम्तीमा तीन वर्ष अर्थात ३६ महिना योगदान गरेका योगदानकर्ताले कोषबाट सापटी लिन पाउनेछन् ।

यस्तै, कोषमा रकम जम्मा गरेका, उमेर र सेवा अवधिका आधारमा अवकाश हुन कम्तीमा दुई वर्ष बाँकी रहेका योगदानकर्तालाई सापटी प्रदान गर्न सकिने व्यवस्था कोषमा गरिएको छ । घर सापटी स्वीकृत गर्दा धितो मूल्याङ्कनबाट कायम भएको रकममा नबढ्ने गरी रकम स्वीकृत हुनेछ । त्यसका लागि तीन प्रकारका विधिमध्ये जुन विधिमा रकम कम हुन्छ, त्यसअनुसार सापटी प्रदान गर्न सकिने व्यवस्था निर्देशिकामा छ ।

निर्देशिकाले ती तीन विधामध्ये पहिलो विधिअनुसार धितोका आधारमा ७५ लाख रुपैयाँ, दोस्रोमा योगदानकर्ताको १५ वर्षको तलब र तेस्रोमा योगदानकर्ता ६० वर्ष उमेर पुग्न बाँकी अवधिको तलबका आधारमा सापटी दिन सकिने व्यवस्था गरेको छ । कोषले योगदानकर्ताको शैक्षिक तथा सामाजिक कार्य सापटीमा ९.७५ प्रतिशत ब्याजदर तोकेको छ ।

यस्तै, धितो राखेरसँगै धितो बिना पनि कोषले योगदानकर्तालाई ऋण दिने जनाएको छ । योगदानकर्ताले जम्मा गरेको रकमको ८० प्रतिशत रकम कोषले ऋणका रुपमा दिनेछ । जसको ब्याजदर ९.१ तोकेको छ । योगदानकर्ताको रकमको ऋणमा भने कोषले ८ प्रतिशत मात्रै ब्याज लिने जनाएको छ ।

निर्देशिकाका अनुसार घर निर्माण गर्ने प्रयोजनका लागि घर सापटी प्रदान गर्दा कम्तीमा दुई किस्ता र अधिकतम चार किस्ता कायम गरिनेछ । पहिलो किस्ता भुक्तानी गर्दा स्वीकृत सापटीको बढीमा पच्चीस प्रतिशत र बाँकी किस्ता भुक्तानी गर्दा मूल्याङ्कनकर्ताले सिफारिस गरेको प्रगति विवरणको आधारमा कायम गरिने निर्देशिकामा उल्लेख छ । तर, घर खरिद गर्दा स्वीकृत रकम एकमुष्ट प्रदान गरिनेछ ।

शैक्षिक सापटी लिई सो सापटीको ब्याज नियमित रुपमा चुक्ता नगर्ने योगदानकर्तालाई घर सापटी नगरिने निर्देशिकामा उल्लेख छ । घर मर्मत सापटी लिएका योगदानकर्ताले सो सापटी चुक्ता गरिसकेपछि मात्र निजलाई थप घर सापटी प्रदान गर्न सकिने व्यवस्थ छ । घर सापटी चुक्ता गर्नुपर्ने अवधिः योगदानकर्ताले अनिवार्य अवकाश हुने अवधि ननाघ्ने गरी दफा २६ बमोजिमको सहुलियत अवधि सहित घर सापटीको पहिलो किस्ता लिएको बढीमा बीस वर्ष भित्र सापटी चुक्ता गर्नु पर्छ ।

तर, योगदानकर्ताले जुनसुकै कारणले कोषमा नियमित योगदान गर्न छाडेमा त्यसरी योगदान गर्न छोडेको छ वर्ष भित्र त्यस्तो सापटी चुक्ता गरिसक्नु पर्नेछ । योगदानकर्ताले लिएको घर सापटी चुक्ता गरेमा पुनः घर सापटी दिन सकिने व्यवस्था पनि निर्देशकिामा छ ।

निर्देशिकाले योगदानमा आधारित सामाजिक सुरक्षामा योगदान गर्नेले शैक्षिक सापटी सेवा लिन सक्ने व्यवस्था पनि गरेको छ । कोषमा कम्तीमा ३६ महिना योगदान रकम जम्मा गरेका र उमेर वा सेवा अवधिका आधारमा अनिवार्य अवकाश हुन कम्तीमा दुई वर्ष बाँकी रहेका योगदानकर्ताको हकमा शैक्षिक सापटीको व्यवस्था गरिएको हो ।

उक्त निर्देशिकाअनुसार यस प्रकारको सापटी योगदानकर्ता वा निजका पति, पत्नी, छोरा, छोरीलाई स्वदेश वा विदेशका शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययन प्रयोजनका लािग सापटी प्रदान गर्न सकिने उल्लेख छ । उक्त रकम ३५ लाख रुपियाँ वा सम्बन्धित शिक्षण संस्थामा लाग्ने वास्तविक खर्चमध्ये कम हुने रकम दिइने व्यवस्था निर्देशिकामा गरिएको छ ।

सो निर्देशिकाअनुसार विद्यार्थीको भर्ना शुल्क, मासिक, परीक्षा, छात्रावास खर्च वा आवास खर्च, सम्बन्धित शिक्षण संस्थाले तोकेको अन्य शुल्क, शैक्षिक सामग्री खर्च, भ्रमण तथा बीमा खर्च उक्त सापटीमा रहने व्यवस्था गरिएको छ । एक पटक लिएको सापटी चुक्ता गरिसकेका योगदानकर्ताले शैक्षिक सापटीबापत पुनः अर्को सापटी पनि लिन सक्ने व्यवस्था कोषले गरेको छ । कोषले हाल निजी क्षेत्रको औपचारिक क्षेत्रमा कार्यरत श्रमिकका लागि मात्रै योगदानमा आधारित सामाजिक सुरक्षा कोषमार्फत सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गरिरहेको छ ।

यस्तो छ प्रक्रिया

कोषबाट सापटी लिन चाहने योगदानकर्ताले सापटी माग फारामको विवरण भरी आफू कार्यरत कार्यालयको सिफारिसका साथ कार्यालयको छाप लगाई कोषको कार्यालयमा पेश गर्नुपर्ने ।

आवश्यक कागजात पेश गरी सापटी माग फारामका साथ यी कागजात पेश गर्नु पर्नेछ ।

१. निवेदकको नागरिकता र कोषले प्रदान गरेको परिचय पत्रको प्रतिलिपि, २. धितो राखिने जग्गाको जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि (नयाँ नापी भएको भए श्रेस्ता अद्यावधिक भएको हुनुपर्ने) ।

३. घर जग्गा प्राप्तिको स्वामित्व सम्बन्धी लिखत (राजीनामा, अंशवण्डा,वकसपत्र, छोडपत्र, दर्ताफारी आदि) को प्रतिलिपि, तर नामसारीको हकमा जग्गाधनी पूर्जामा नामसारी भएको व्यहोरा जनाइएको हुनुपर्ने ।

४. धितो राखिने जग्गाको नापी नक्साको सम्बन्धित निकायबाट प्रमाणित ब्लू प्रिन्ट र चार किल्ला खुलेको ट्रेस पेपरको सक्कल प्रति ।

५. धितो राखिने जग्गाको जग्गाधनी र निवेदक फरक व्यक्ति भएमा जग्गाधनीको नागरिकताको प्रतिलिपि ।

६. चालू आर्थिक वर्षको मालपोत बुझाएको रसिदको प्रतिलिपि ।

७. धितो राखिने जग्गाको जग्गा धनी र निवेदक फरक व्यक्ति भएमा निजहरू नाता खुल्ने प्रतिलिपी ।

८. घर खरिद गर्दा खरिदकर्ता र बिक्रिकर्ताबीच हुने सम्झौता ।

९. सम्बन्धित स्थानीय तहबाट प्रमाणित चारकिल्ला खुलेको सक्कल पत्र ।

१०. सम्बन्धित कार्यालयबाट प्रमाणित योगदानकर्ताको अवकाश हुने मिति तथा तलवमान खुलेको सक्कल पत्र ।

११. घर र जग्गा दुबै धितो राख्नु परेमा घर निर्माण सम्पन्न प्रमाणपत्र, तर जग्गाको मूल्याङ्कनले मात्रै सापटी रकमलाई खाम्ने भएमा जग्गाको मूल्याङ्कनबाट मात्र पनि सापटी गर्न सकिनेछ ।

१२. धितो राखिने घरको सम्पत्ति बिमाका कागजातकहरू ।

१३. कोषले आवश्यक ठानेका अन्य थप कागजातहरू ।

4 comments on "आजदेखि सामाजिक सुरक्षा कोषले ७५ लाखसम्म ऋण दिने, सेवा एपबाटै, यस्तो छ प्रक्रिया"

  • Debaki neupane says:

    ब्याज दर कति हो? र यो कोष मा सबै राष्ट्र सेवक कर्मचारी पर्ने हो र बुझ्न सकिन्छ कि

  • जिबन बलकोटि says:

    धेरै राम्रो।

  • हेमराज रिमाल says:

    सबै रास्ट्र सेवक कर्मचारीले पिउने सुबिधाहाेर

  • Hemraj rimal says:

    कुन एपहाे जनकारी पाउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.