२०७९ साउन २६ गते १८:०४ विकासन्युज
काठमाडौं । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले वाणिज्य बैंकहरुले विदेशबाट ५५० अर्ब रुपैयाँ ल्याउन सक्ने बताएका छन् । नेपाल राष्ट्र बैंकले शतप्रतिशत कोर क्यापिटलको अनुमति दिएमा २६ वटा वाणिज्य बैंकले ५५० अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा भित्र्याउन सक्ने उनले बताएका हुन् ।
नेपाल राष्ट्र बैंकले विदेशबाट ल्याउने ऋणको सीमा हटाएमा सो बराबरको रकम नेपालमा भित्रिने उनको भनाइ छ ।
‘केन्द्रिय बैंकले कोर क्यापिटलको शतप्रतिशत अनुमति दिने हो भने २६ वटा बैंकले ५५० अर्ब रुपैयाँ विदेशी मुद्रा ल्याउन सक्ने क्षमता राख्छन्, अहिले बैंकहरुले जम्मा ३८ अर्ब रुपैयाँ बराबरको रकम मात्रै ल्याउन सकेका छन्,’ उनले भने, ‘यसमा ठूलो ग्याप छ, बैंकर एसोसियसनले राष्ट्र बैंकसँग कुरा गरिरहेको, त्यो रकम ल्याउन सक्यौ भने अहिलेको समस्या समाधान हन्छ ।’
उनले एनएमबी बैंकले विदेशबाट ल्याएको ऋणलाई नेपाली बैंकिङ्ग क्षेत्रका लागि ऐतिहासिक क्षण भएको बताए । सन् २०१८ देखि लगातार ३ वटा सम्झौता गरेर ६५ मिलियन डलर अर्थात् ८ अर्ब रुपैयाँ भन्दा बढी रकम भित्र्याउन सफल भएको उनले जानकारी दिए ।
‘८ अर्ब रुपैयाँ नेपालका लागि ठूलो नभएपनि पहिलो पटक आईएफसीले विश्वास गरेकाले ऐतिहासिक हो, नेपालको बैंकिङ्ग क्षेत्रका लागि २-३ सय अर्बको आवश्यकता छ, विश्वमा नै पैसाको आवश्यकता छ,’ उनले भने ।
आयात बढिरहँदा श्रीलङ्का जस्तो हुने होकी भन्ने चिन्ता कायम रहेका बेला एनएमबीले विदेशबाट रकम ल्याउन सफल भएको उनले बताए । ‘पहिलो पटक हामीले ल्यायौं, यसले नेपालको बैंकलाई विश्वमा चिनाउन सफल भएका छौं, नेपालको बैंकमा क्रेडिट ट्रेडिङ नभएका बेलामा क्रेडिट इतिहास बन्न सफल भएको छ,’ उनले भने, ‘एनएमबीले नेपाली बैंक पैसा तिर्न सक्छन्, काम गर्न सक्छन् भन्ने उदाहरण दिएको छ, अब बाँकी रहेको बैंकलाई पनि बाटो खुलेको छ ।’
५ वर्ष अघि नेपालमा कुनै पनि बैंकले विदेशबाट पैसा ल्याउन सक्ने अवस्था नरहेको उनले बताए । तरलताको समस्या, बढ्दो आयात, ब्यालेन्स अफ पेमेन्ट नघट्नु, डेफिसिट नघट्नु र रेमिटेन्समा निर्भर रहनु अहिलेको मूख्य समस्या रहेको उनले बताए ।
हाल नेपाल राष्ट्र बैंकले ४.५ प्रतिशत व्याजको सीमाभित्र रहेर विदेशी ऋण ल्याउँछन् । एनएमबि बैंकले आईएफसीबाट तेश्रो अवधिमा २ करोड ५० लाख अमेरिकी डलरको कर्जा लगानी भित्र्याएको हो ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.