४ करोड सकिएपछि अरुण नदीमा बन्दै गरेको पुलको ठेक्का रद्द

  २०७९ साउन २२ गते १५:५३     विकासन्युज

सांकेतिक तस्विर

भोजपुर । झण्डै चार करोड खर्च गरेपछि भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीमा बन्दै गरेको लम्सुवाघाटको पुलको ठेक्का रद्द गरिएको छ । बाह्र वर्षसम्म पनि पुल निर्माण नभएपछि ठेक्का प्रक्रिया रद्द गरिएको हो ।

पुल निर्माणमा हालसम्म तीन करोड ८५ लाख खर्च भइसकेको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ । पुल निर्माणको कामलाई चाँडो सम्पन्न गर्न पटक/पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले ढिलाइ गरेपछि ठेक्काको सम्झौता नै रद्द गरिएको सडक डिभिजन कार्यालय तुम्लिङटारका प्रमुख राजेन्द्रप्रसाद शाहले जानकारी दिए ।

स्वच्छन्द निर्माण कम्पनीले २०६७ सालमा पुल निर्माण सुरु गरेको थियो । सम्झौता अनुसार पुल २०७० सालमा निर्माण सम्पन्न गर्नुपर्ने थियो । निर्माणमा ढिलाइ भएको विषयमा जानकारी माग्दा निर्माण कम्पनीका प्रमुख दयाराम लामिछानेले पुल बनाउन नसक्ने लिखित जवाफ दिएपछि ठेक्का रद्द गरिएको शाहले बताए ।

‘हामीले कार्यालयको तर्फबाट गर्न सक्ने काम गरेका हौँ । निर्माण कम्पनीलाई पटक÷पटक काम चाँडो गर्न आग्रह गर्दा गर्न नसक्ने जानकारी दिएको छ,’ उनले भने । पुल निर्माणका क्रममा जग खन्ने ठाउँमा ठूलो चट्टान भेटिएको भन्दै कम्पनीले कामलाई अघि बढाउन नसेकेको बताउँदै आएको थियो । ठेक्का रद्द गरेर अहिले कम्पनीको धरौटीबापतको ७७ लाख रोकेर कालोसूचीमा राख्नका लागि पत्र पठाएको शाहको भनाइ छ । धरौटी नरोक्न तथा कालोसूचीमा नहाल्न कम्पनीले पाटन अदालतमा मुद्दा हालेको शाहले बताए ।

मुद्दा परेपछि काम नगर्न अदालतले आदेश दिएकाले थप प्रक्रिया अघि बढ्न नसकेको शाहले जानकारी दिए । ‘हामीले बैंकमा रहेको धरौटी बापतको रकम रोक्का गरेर कालो सूचीमा हाल्ने प्रक्रिया थालेका छौँ,’ उनले भने ।

पुल निर्माणका लागि छ पिलर उठाइएको भए पनि काम अघि बढ्न सकेको छैन । पुल नबन्दा स्थानीयवासी जोखिम मोलेर काठको डुङ्गाबाट यात्रा गर्न बाध्य छन् । तत्कालीन समयमा सडक डिभिजन कार्यालय धनकुटा र निर्माण कम्पनीबीच सम्झौता भएको भए पनि पछि उक्त पुल सडक डिभिजन कार्यालय तुम्लिङटार मातहात आएको बताइएको छ ।

पुलको डिजाइनमा समेत त्रुटी रहेको पाइएको छ । यहाँ सुरुमा १६० मिटर लामो पुल बनाउने सम्झौता गरिएको थियो । पछि १२ मिटर बढाएर १७२ मिटर निर्माण गर्ने गरी काम थालिएको थियो । प्राविधिकले डिजाइन गरे भन्दा करिब ७२ मिटर छोटो रहेको पाइएको छ । ‘घाटको जम्मा लम्बाइ २३४ मिटर छ । सम्झौता १७२ मिटर लामो बनाउन भएको छ,’ उनले भने ।

पुलले भोजपुरको षडानन्द नगरपालिका–६ सतिघाट र सङ्खुवासभाको मनकामनालाई जोड्ने छ । पुल बनाउन सङ्घीय सरकारले २४ करोड उपलब्ध गराएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.