पैसा नभएको भन्दै रोकियो काठमाडौं भ्यूटावरको काम, भेटवाललाई बैंकले पनि पत्याएन

  २०७९ साउन १९ गते १४:०१     राजिव न्यौपाने

काठमाडौं । निर्माणाधीन ‘काठमाडौं भ्यूटावर’को काम रोकिएको छ । काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधीन ‘काठमाडौं भ्यूटावर’ निर्माणको काम विगत एक महिनादेखि रोकिएको हो । पैसाको अभाव भएपछि भ्यू्टावर निर्माणको काम रोकिएको बताइएको छ ।

भवन निर्माणको लागि कुनै पनि बैंकले निर्माण कम्पनीलाई कर्जा नदिएपछि निर्माण कार्य रोकिएको बताइएको हो । महानगरका अनुसार भ्यूटावर निर्माणको काम करिब ८० प्रतिशत सकिएको छ ।

काठमाडौं महानगरसँग निर्माण कम्पनीले सम्झौता गरेपछि २०७२ कार्तिकबाट उक्त भ्यूटावर निर्माणको काम सुरु भएको थियो । सो भ्यूटावर निर्माणको अनुमानित लागत ४ अर्ब ७० करोड रुपैयाँ रहेको छ ।

काठमाडौं महानगरपालिकाले २०६८ सालमा पुरानो बसपार्क हटाएर सार्वजनिक– निजी साझेदारी मोडलमा बहुपयोगी व्यावसायिक कम्प्लेक्स बनाउने योजना अघि सारेको थियो । सोही अनुसार टावर निर्माण र सञ्चालनको ठेक्का जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिले पाएको थियो ।

सो कम्पनीले भाडामा लिएको जग्गामा व्यावसायिक कम्प्लेक्स निर्माण गरी ३० वर्षसम्म प्रयोग गर्ने र त्यसपछि काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गर्ने सम्झौता भएको छ । टावरको निर्माण सुरुभए देखिनै भ्यूटावरको कामले गति लिन सकेको छैन ।

कोभिडका कारण पनि भ्यूटावर निर्माणको काम केही ढिला भएको काठमाडौं महानगरपालिकाका निर्देशक नुरनिधि न्यौपानेले बताए । ‘निर्माण कम्पनीले धेरै समय लगायो भने उसैलाई घाटा हो, ३० वर्षपछि त्यो भवन महानगरलाई नै हस्तान्तरण गर्नुपर्छ, निर्माण कम्पनले १५ वर्ष नै भवन निर्माण गर्न लगाए पनि महानगरलाई कुनै समस्या छैन,’ उनले भने । निर्देशक न्यौपानेका अनुसार टावर निर्माणमा महानगरको लगानी छैन ।

‘मान्छेहरूले काठमाडौं महानगरपालिकाले सो टावरमा अर्बाैं रुपैयाँ खर्च गर्यो भन्छन्, तर महानगरले एक रुपैयाँ पनि खर्च गरेको छैन, सम्पूर्ण खर्च निर्माण कम्पनीले नै गरेको छ, उनले भने । काठमाडौं महानगरपालिकालाई घाटा हुने प्रोजेक्ट नभएको र महानगरले रेभिन्यु (राजश्व) मात्र उठाउने प्रोजेक्ट रहेको पनि न्यौपानेले बताए ।

भवन निर्माणको लागि छिटो निर्माण गरे निर्माण कम्पनीलाई नै फाइदा हुने महानगरपालिकाको भनाइ छ । निर्माण कम्पनीले भवन निर्माण सुरु गरेको गरेदेखि नै महानगरपालिकालाई राजश्व बुझाउँदै आएको छ ।

‘भवन निर्माण गर्ने जिम्मा ठेकेदार कम्पनीको हो, राजश्व समयमा कलेक्सन महानगरले गर्छ, हालसम्म समयमा नै रेभिन्यू उठिरहेको छ, उसको कति रकम खर्च भयो, कँहाबाट पैसा ल्याएर महानगरपालिकालाई बुझाउँछ, कति बैंकमा ऋण छ, त्यो हाम्रो विषय हैन,’ उनले भने ।

निर्माण कम्पनीले काठमाडौं महानगरलाई वार्षिक एक करोड ७५ लाख रुपैयाँ वार्षिक रेभिन्यु बुझाउँदै आएको छ । सो भवन निर्माण जति ढिला गर्याे त्यति महानगरपालिकालाई फाइदा छ, यसमा महानगरपालिकाले ताकेता लगाउने जरुरी नरहेको पनि न्यौपानेले बताए ।

सो भवन निर्माण गर्दा करिब ४ अर्ब रुपैयाँ खर्च भइसकेको अनुमान काठमाडौं महानगरपालिकाले गरेको छ । ‘टावर निर्माण ढिला गरे निर्माण कम्पनीलाई नै घाटा हुन्छ, बैंकको ब्याज बढ्छ, छिटो निर्माण गरे निर्माण निर्माण कम्पनीलाई नै फाइदा हुन्छ,’ उनले भने ।

‘लगानी डुबोस् भन्ने महानगरको चाहना होइन, उसको लगानी चाँडो भन्दा चाँडो रिटर्न होस् महानगरपालिकाले पनि कल्पना गरेको छ, तर भवन निर्माण सुरु भएको ७ वर्ष हुन लाग्यो, भवन निर्माणको काम नै अझै सक्न बाँकी छ, निर्माण कम्पनीले पनि लगानी छिटो उठाउनको लागि टावरको निर्माण सुरु गर्नु पर्ने हो, पछिल्लो समय हेर्दा उसैले चासो नदेखाएको देखिन्छ, निर्माणको काम ढिला भएको कारण अप्ठ्यारोमा ठेक्दा कम्पनी परेको छ,’ उनले भने ।

सम्झौतामा ५ वर्ष भित्र भवन निर्माणको काम सक्ने भन्ने उल्लेख छ । तर, ७ वर्ष हुँदा समेत भवन निर्माणले गति लिन सकेको छैन । १२ तलको भवन हो १० तल्लाको काम भइसकेको छ । महानगरका अनुसार सो भवनको ८० प्रतिशत काम भइसकेको छ । भवनको फिनिसिङ गर्ने काम बाँकी रहेका छ । निर्माण कम्पनीले भने महानगरपालिकालाई टावको काम भइ रहेको बताउँदै आएको छ ।

भेटवालले नबनाए सर्ने महानगर सर्ने

महानगर स्रोतका अनुसार काठमाडौं भ्यूटावरको काम ठेकेदार मनोज कुमार भेटवालले बनाउन नसके आफै बनाएर सर्ने तयारीमा महानगर छ । ठेकेदारले बनाउन नसके महानगरले भवनको फिनिसिङ गरेर महानगरको कार्यालय सराउने योजना महानगरको छ ।

‘महानगरको नाममा जग्गा छ, आफ्नो क्षेत्रमा गएर बस्नु महानगरको लागि ठूलो कुरा हैन, ठेकेदार कम्पनीले नै भवन निर्माण गरेर बसेको राम्रो हो, हैन अब भवन निर्माण गरेर हामी बस्न सक्दैनौं भनेर निर्माण कम्पनीले छाड्यो भने महानगरको सम्पत्ति भएकाले महानगरको अफिस त्यहाँ बस्छ,’ महानगर स्रोतले भन्यो ।

महानगरपालिकाको कार्यालय अहिले ९ ठाउँमा छन् । महानगरको आफ्नै भवन नहुँदा करोडौं रूपमा भाडा तिरेर महानगर विभिन्न ठाउँमा बसको छ । उसले छाड्यो भने महानगरको भवन त्यहाँ बस्ने स्रोतको भनाइ छ ।

महानगरपालिकाले यस प्रोजेक्टलाई भाले प्रोजेक्टको रूपमा लिएको छ । भेटवालले सो भवन निर्माण गर्न सक्दिन भने महानगर गएर बस्ने योजना बनाएको हो । निर्माण कम्पनीको टावर निर्माण धेरै लगानी फसेको छ । सो भवन अब नबनाएर त्यतिकै छाडि दिए महानगरपालिकालाई फाइदा हुने महानगरको भनाइ छ ।

भ्यूटावर १२ तलाको हुने

काठमाडौं महानगरपालिका अनुसार काठमाडौं भ्यूटावर १२ तल्लाको मात्र निर्माण हुनेछ । काठमाडौं महानगरपालिकासँगको सम्झौतामा २९ तले भ्यूटावर निर्माण गरिने उल्लेख गरिएको थियो ।

२९ तले टावर निर्माण गर्ने भनिए पनि हाललाई १२ तल्लाको मात्रै नक्सा पास भएको छ । भूकम्पपछि १२ तल्लाभन्दा अग्ला भवन निर्माण गर्न रोक लगाइएको छ । २९ तले भ्यूटावर भनिए पनि सुरुमा १२ तले बनाउने र पछि थप्दै जाने निर्माण कम्पनीको योजना छ । १२ तलामध्ये दुई तले भूमिगत पार्किङ रहनेछन् ।

१२ तलामध्ये हाल ११औं तलाको काम भइरहेको छ । ५ वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरिएको थियो । नेपाली कला र संस्कृति झल्काउने गरी भ्यूटावर बनाउने भनिएको छ ।

६ महिना भित्र टर्मिनल बस सञ्चालनमा आउने

निर्माण कम्पनीले काठमाडौं महानगरपालिकालाई ६ महिनाभित्र बस टर्मिनल सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको छ । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र ठेकेदार भेटवालको बिचको भेट वार्तामा सो कुरा भएको हो ।

मेयर बालेन निर्वाचित भएको केही महिना पश्चात् नै बालेनको भेट भेटवालसँग भएको थियो । अन्डर ग्राउन्डको २ तलामा बस टर्मिनल हुनेछ । बस टर्मिनल सञ्चालनमा आएपछि माथिका तलाको जिम्मा भेटवालको हुन्छ । सो भवन बन्दै गर्दा खुल्ला मञ्चमा बसपार्क बनाइएको थियो । त्यहाँ विरोध भएपछि बासपार्क हटेको थियो । सो ठाउँमा अहिले बसपार्क छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.