गौतमश्री सहकारी : २२ प्रतिशतसम्म ब्याज दिने आश्वासनले बचत तान्यो, घरजग्गामा लगानी !

  २०७९ साउन १७ गते १४:०१     विकासन्युज

काठमाडौं । काठमाडौंको कुलेश्वरमा रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाले चर्को ब्याजदरको आशवासन देखाइ बचत गर्न लगाएको बुझिएको छ । सहकारी विभागका अनुसार बचतकर्ताकाे उजुरीकाे आधारमा सहकारीले बचतकर्तालाई २२ प्रतिशतसम्म पनि ब्याजकाे आश्वासन देखाएकाे थियाे । २५ हजारभन्दा बढी बचतकर्तालाई सहकारीमा पैसा बचत गर्न लगाइ ब्याजको आश्वासन देखाएर अन्तिममा बचत फिर्ता माग्दा फिर्ता नगरेपछि सहकारीको बचत फिर्ता पाउनु पर्ने माग राख्दै बचतकर्ताहरु अहिले सडकमा छन् ।

गत शुक्रबार मात्रै सो सहकारीका बचतकर्ता उजुरी लिएर सहकारी विभाग पुगेका थिए । बचतकर्ताले पैसा फिर्ता मागे लगत्तै सहकारीका अध्यक्ष रामबहादुर गौतम सम्पर्कविहिन बनेका छन् । उनीसँगै संस्थाका अन्य सञ्चालक, म्यानेजर सदस्यहरु सम्पर्कविहिन छन् । अहिले सदस्यहरु दिनहुँ कार्यालय परिसरमा गएर धर्ना दिइरहेका छन् । सहकारीका महाप्रबन्धक रवीन्द्र बिष्ट हुन् ।

उता सहकारी संस्थाहरुको नियामक सहकारी विभागले बचतकर्ताले बचत रकम फिर्ता दिलाउने प्रयास गरिहरेको बताइएको छ । विभागले बचतकर्ताको उजुरीको आधारमा विभिन्न कागजात अध्ययन गरेर बचतकर्ताको रकम फिर्ता गर्ने तयारीका साथ काम गरिरहेको बुझिएको छ ।

विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डितले बचतकर्ताको रकम फिर्ता गर्न र सहकारीलाई कारवाहीको प्रक्रिया अगाडि बढाइसकेको बताए । उनले त्यसका लागि प्रहरी प्रधान कार्यालयलाई सम्बन्धि व्यक्रिलाई उपस्थित गराउन पत्रचार गरेको र राष्ट्र बैंकमार्फत् बैंक तथा वित्तीय संस्थालाई सञ्चालकहरुको बैंक खाता रोक्का गर्नका लागि आग्रह गरिसकेको बताए ।

‘एक हजारभन्दा बढी बचतकर्ताको उजुरी प्राप्त भएको छ, सो निवेदन अनुरुप उक्त संस्थाका सञ्चालक तथा व्यवस्थापकहरुको बैंक खाता रोक्का राख्न नेपाल राष्ट्र बैंक मार्फत् सबै बैंक तथा वित्तिय संस्थाहरुलाई अनुरोध गरी पठाएका छौं, सो सहकारीको विभिन्न स्थानमा रहेका सेवा केन्द्रहरु, डिपार्टमेन्टल स्टोर्स तथा गोदामहरुमा रहेका सम्पूर्ण चल, अचल सम्पत्ति यस विभागको अनुमति विना खोल्न, चलाउन र सरसामान बिक्री वितरण गर्न नपाउने गरी आवश्यक सुरक्षा प्रदान गर्न तथा शिलबन्दी लाहाछाप गरी सो को जानकारी सहकारी विभागमा पठाईदिन र संचालक एवं कर्मचारीहरुलाई बिभागमा उपस्थित गराइदिन पनि प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग नक्सालमा पत्र पठाएका छौं,’ उनले भने ।

यता नेपाल राष्ट्र बैंकले भने गौमश्री सहकारीका सञ्चालकहरुको खाता रोक्का गरेको छ । राष्ट्र बैंकका अनुसार सो सहकारीका अध्यक्षसहित १५ जनाको खाता रोक्का भएको हो ।

राष्ट्र बैंकका अनुसार सहकारीका अध्यक्ष रामबहादुर गौतम, उपाध्यक्ष गौतमकी श्रीमती निर्मला खत्री, सचिव राम गौतम, सदस्यहरू होमकुमारी खत्री, अर्जुन गौतम, शन्तोषी केसी, भगवती थापा र सुभास भुसालको खाता रोक्का भएको हो ।

यस्तै, सहकारीको लेखा समिति संयोजक सुनिता तिमिल्सिना, लेखा समिति सदस्यद्वय पंकजकुमार झा, र विकास चौधरी सहकारीको व्यवस्थापक रविन विष्ट, ऋण व्यवस्थापक अनिल गौतम र लेखापाल सुनिता सिंहको खाता रोक्का भएको बताइएको छ ।

सहकारीका अध्यक्षसहित सञ्चालहरु सम्पर्कविहीन भएकोले संस्था बन्द हुने र संस्थाको सम्पत्तिको सुरक्षा पाउँ भन्दै सहकारीका व्यवस्थापक रविन विष्टले प्रहरी प्रधान कार्यालयसमक्ष निवेदन पनि दिएका छन् । उनले १३ असारमै यस्तो निवेदन दिएको फेला परेको छ ।

उनका अनुसार बचतकर्ताले २२ प्रतिशतसम्म ब्याज दिने भनेपछि बचतकर्ताले सो सहकारीमा धमाधम बचत राखेका थिए । सहकारीहरुले ऋण लगानीमा १६ प्रतिशतभन्दा बढी ब्याज लिन पाइँदैन । बचत र ऋणबीच ब्याजदर अन्तर ६ प्रतिशत कायम गर्नुपर्ने कानुनी व्यवस्था छ ।

गौगमश्रीको अध्यक्ष नै सम्पर्कविहिन भएपछि सहकारी रहेको भवनमा एभरेस्ट बैंकले शिल गरेको सूचना टाँसेको छ । संस्थाका अध्यक्ष गौतमको अन्य व्यवसायमा बैंकले लगानी गरेको र सोही भवनमा पनि बैंकले लगानी गरेको व्यवसायको गोदाम तथा कार्यालय रहेका कारण भवन सिल गरेको एभरेष्ट बैंकले जनाएको छ ।

को हुन् रामबहादुर गौतम ?

काभ्रेको सामान्य परिवारमा जन्मेका रामबहादुर गौतम काठमाडौंमा आएर सामान्य व्यपार सुरु गरेका थिए । सुरुमा उनले सानो सटर राखेर ओभरसिज ब्यापार गर्थे । पछि विस्तारै चीनबाट सामान ल्याएर ब्यापार गर्दै गए ।

उनले कृषि सामग्री बढाउँदै लगे । ब्यापार बढेपछि उनले गौतम समूहका नाममा सहकारी, मार्ट र गाई फार्म पनि सञ्चालन गरे ।

सहकारीमा बचतकर्ताको रकम बढेपछि उनको सहकारीको कारोबार बैंक सरह नै हुने गरेको जानकार।हरु बताउँछन् । बचतकर्ताको रकमलाई नै उनले घरजग्गामा लगानी गरेको हुन सक्ने अनुमान विभागले पनि गरेका छ । तर, अहिलेसम्म खुल्न सकेको छैन ।

गौमश्री सहकारीमा एक बचतकर्ताले न्यूनतम एक लाखदेखि ३५ करोड रुपैयाँसम्म बचत गरेको बुझिएको छ । पछिल्लो समय एकपछि अर्को गर्दै सहकारीहरु समस्यामा पर्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.