चलायमान हुन थाल्यो होटल व्यवसाय, एक वर्षमा ४६ अर्बको लगानी, साढे १९ अर्ब विदेशीको

  २०७९ साउन १२ गते ११:४३     विकासन्युज

काठमाडौं । विश्व महामारीका रूपमा फैलिएको कोरोना महामारीको कारण सबैभन्दा बढी प्रभावित भएको क्षेत्र हो पर्यटन । पर्यटनमा पनि होटल व्यवसाय ठप्प प्राय: नै थियो ।

कोरोनाकै कारण लामो समय देशमा लकडाउन भयो । होटलका बन्द नै रहे । ग्राहकहरु आउन छाेडेपछि होटलका कामदारहरू कामविहिन भए । परिणाम स्वरूप हजारौंले रोजगारी पनि गुमाए । विश्वभर नै यस्तै हाल भएपछि पर्यटन व्यवसायीले पनि चित्त बुझाए ।

एकदिन अवश्य यो संकट टारिन्छ भन्ने मनोवलका साथ उनीहरु अडिग रहे । उनीहरू धर्मराएनन् । फलस्वरूप अहिले कोरोनाको संकट कम भएपछि पुनः होटल व्यवसाय चलायमान हुन थालेको छ । होटलमा ग्राहकको आगमन पनि बढ्दै गएकाे व्यवसायीहरू बताउँछन् ।

ताल्चा लागेका रेस्टुराँ अहिले खुल्न थालेका छन् । काठमाडौंमा पनि मानिसहरुको आवागमन बढेर ट्राफिक जाम पनि बढ्न थालेकाे छ। विदेशी पर्यटकहरू आउने क्रम पनि बढ्दाे । पर्यटकसँगै विदेशी लगानी पनि होटल व्यवसायमा बढ्न थालेकाे तथ्यांकले देखाउँछ ।

नेपाली लगानीकर्ताहरुले पनि होटल क्षेत्रमा लगानी बढाउन थालेका छन् । उद्योग विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/०७९ को तथ्यांक अनुसार होटलमा लगानी थपिन थालेको हो । एक वर्षको अवधिमा होटल क्षेत्रमा मात्रै स्वदेशी तथा विदेशी लगानी गरी ४६ अर्ब बढी लगानीको प्रतिवद्धता आएको छ ।

१८२ होटलका लागि ४६ अर्ब ११ करोेड ६४ लाख ७६ हजार रूपैयाँ बढीको लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ । एक वर्षको अवधिमा विभागमा विदेशी लगानीको होटलको संख्या धेरै भएतापनि स्वदेशी लगानीका होटलमा धेरै लगानी रहने उल्लेख गरिएको छ । ५८ वटा स्वदेशी लगानीमा २६ अर्ब ५१ करोड ४९ लाख ७६ हजार रुपैयाँ लगानी रहने गरी होटलमा लगानी थपिएको हो ।

विदेशी लगानीमा १२४ वटा होटलमा लगानी प्रतिवद्धता आएतापनि लगानी रकम भने स्वदेशी नै धेरै रहेको पाइएको छ । गत आर्थिक वर्षमात्रै विदेशी लगानीका १२४ होटलमा १९ अर्ब ६० करोड १५ लाख रुपैयाँ बराबर लगानी प्रतिवद्धता आएको हो ।

पर्यटन व्यवसायी पछिल्लो समय होटलमा लगानी बढेसँगै कोरोनाले थपिएको पर्यटन क्षेत्रमा आशा थपिएको बताउँछन् । विश्वभर फैलिएको कोरोना भाइरसका कारण तीन वर्षदेखि नेपालको पर्यटन क्षेत्र सुस्त बनेको थियो ।

कोरोना महामारी कम भएसँगै नेपाल भित्रने विदेशी पर्यटकको संख्यासँगै होटलमा लगानी थपिँदा आशा थपिएको होटल एसोसिएसन अफ नेपाल (हान) का महासचिव साजन शाक्य बताउँछन् । उनले कोरोना महामारीमा कमी आएसँगै होटल क्षेत्र चलायमान हुन थालेको बताए ।

‘कोरोना महामारी कम भएसँगै नेपालको पर्यटन क्षेत्रले पुरानौ स्वरुप लिनेमा हामी आशावादी छौँ, पर्यटकको संख्या थपिएसँगै लगानी बढ्नु स्वभाविक हो’, उनले भने, ‘अहिले हामीले दैनिक १ लाखभन्दा बढी पर्यटक राख्नसक्ने गरी पूर्वाधार तयार बनाइसकेका छौँ, कोरोना महामारीपछि होटलमा लगानी थपिएका छन्, लगानी थपिएपनि संरचना तयार हुन समय लाग्छ ।’

उनले होटलमा लगानी थपिनु पर्यटक क्षेत्रका लागि ठूलो उपलब्धी भएको भन्दै पर्यटन क्षेत्र विस्तारै पुरानै लयमा फर्कने बताए । उनले होटलमा लगानीसँगै भैरहवामा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र पोखरामा समेत सञ्चालनको क्रममा रहेको भन्दै हवाई मागबाट नेपाल आउने विदेशी पर्यटकलाई सहज हुने अपेक्षा व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.