बिएससीएजी पास भएका सयौं विद्यार्थी इजरायल जाँदै, तालिमसँगै दशौं लाख कमाई हुने

  २०७९ साउन ११ गते १०:२१     विकासन्युज

काठमाडौं । बिएससीएजी उत्तीर्ण भएका सयौं विद्यार्थी तालिमको लागि इजरायल जान पाउने भएका छन् । इजरायलमा गरिने खेती प्रविधिको अध्ययन एवं सिकाइका लागि कृषि र पशु विज्ञान अध्ययन संस्थानले एक सय विद्यार्थीहरुलाई इजरायल पठाउन लागेको हो ।

इजरायल कृषिका लागि विश्वकै नमूनामध्येको मुलुकको रुपमा मानिन्छ । संस्थानका सहायक डिन किशोर दाहालका अनुसार इजरायलमा कृषि क्षेत्रमा उत्कृष्ट प्रविधिको प्रयोग गरेर कृषि फार्महरु निर्माण गरिएको छ । इजरायलमा कृषि सम्बन्धी सिकाइको लागि भारत, इन्डोनेसिया, थाइल्यान्ड, कम्बोडिया लगायतका मुलुकबाट पनि विद्यार्थीहरु जाने गर्दछन् । सोही क्रममा नेपालबाट पनि भर्खरै बिएस्सीएजी पास भएका १ सय जना विद्यार्थीहरुलाई इजरायल पठाउन खोजिएको सहायक डिन दाहालले बताए ।

‘यो एक प्रकारले विद्यार्थीहरुलाई काम सहितको तालिम हो,’ उनले भने, ‘यसलाई कामबाट सिक्ने तालिम भनेर भनिन्छ ।’ सो तालिममा एक दिन सैद्धान्तिक प्रकारको तालिम हुने र बाँकी ५ दिन सो अनुसार फिल्डमा गएर सो अनुसार काम गर्नुपर्ने उनले बताए । सो काम गरेवापत उनीहरुले कामको ज्याला समेत प्राप्त गर्ने उनको भनाइ छ । ‘त्यही भएर यसलाई सिक्ने र कमाउने तालिम पनि भनिन्छ,’ उनले भने ।

अहिले संस्थानले भर्खरै बिएससीएजी पास गरेका सय जना विद्यार्थीलाई छनोट गरेर पठाउने तयारी गरेको छ । त्यसको लागि विद्यार्थी छनोट गर्ने कार्यक्रम भइरहेको दाहालले विकासन्युजलाई बताए । विद्यार्थी छनोट गर्ने प्रकृयामा इजरायलका राजदुत नै सहभागी भएका थिए । यसरी छनोट भएका विद्यार्थीहरु आगामी सेप्टेम्बरको पहिलो साता इजरायल जान पाउनेछन् ।

तालिमसँगै कमाइको लागि इजरायल विद्यार्थी पठाउनको लागि संस्थानले आवेदन आह्वान गरेको र सो आवेदनमा १ सय ४८ जना विद्यार्थीले निवेदन दिएका थिए । आवेदन दिएका विद्यार्थीमध्ये संस्थानले उत्कृष्ट नम्बर ल्याउने विद्यार्थीहरुलाई क्रमश अन्तवार्तामा सहभागी हुने अवसर दियो । अन्तवार्ता नेपालका लागि इजरायली राजदुतको सहभागीतामा नै भएको दाहालको भनाइ छ । यसरी भएको अन्तवार्तामा ९० जना विद्यार्थी मात्रै छनोट भएकाले बाँकी विद्यार्थी दोस्रोपटकको छनोट विधीबाट छनोट गरिएको उनले बताए ।

गतवर्ष अध्ययन संस्थानबाट ३ सय ५० जना विद्यार्थीले बिएस्सीएजी पास गरेका थिए । तालिमको लागि छनोट भएर इजरायल जाने विद्यार्थीहरुले त्यहाँ गएर ११ महिनासम्म ‘अन द जब ट्रेनिङ’ गर्नेछन् ।

राजदुतको संलग्नतामा भएको अन्तवार्ता तथा छनोट कार्यक्रम भएकाले लैजाने विधि सरल हुने दाहालको भनाइ छ । उनका अनुसार अहिले विद्यार्थीहरुको पासपोर्ट, मेडिकल र पुलिस रिपोर्ट बनाउने काम भइरहेको छ । सो काम सकिएपछि भिसा आवेदनको लागि राजदुतावासमा पठाइने र भिसा निःशुल्क हुने उनले बताए ।

कृषि तालिमको लागि इजरायल जाने विद्यार्थीहरुको भिसा निःशुल्क लाग्ने भएतापनि मेडिकल रिपोर्ट बनाउने काम र हवाइजहाज भाडा भने उनीहरुले नै व्यहोर्नुपर्नेछ । ‘मेडिकल आँफै गर्नपर्यो, पुलिस रिपोर्ट आँफै गर्नपर्यो, अनि हामीले प्रोसेसिङ लागत भनेर १ हजार रुपैयाँ लिएर डकुमेन्टेसको काम गरिदिएका छौं,’ दाहालले भने ।

उनका अनुसार इजरायलमा ५० जना मानिसहरु मिलेर एउटा फार्म सञ्चालन गर्ने गर्छन्, ती फार्महरुको क्षमताअनुसार सञ्चालकले प्रशिक्षार्थी कामदार राख्छन् । नेपालबाट गएका विद्यार्थीहरु तिनै फार्महाउसमा बाँडिएर बस्ने, तालिम लिने र काम गर्ने गर्दछन् । त्यहाँ एउटा मात्रै नभएर धेरै प्रकारका तरकारी तथा फलफुलका फार्म हुने उनको भनाई छ ।

विद्यार्थीहरुले फार्ममा बसेर सिक्दै काम गर्दा उनीहरुको खाने बस्ने सुविधा पनि फार्ममा नै हुन्छ । यो विषयमा सम्झौतामा नै व्यवस्था गरिएको दाहालको भनाइ छ । उनका अनुसार विद्यार्थीहरुले सिक्दै काम गर्दा निश्चित रकम तलब बापत प्राप्त गर्छन् । खाना खाने र बस्ने व्यवस्था फार्म हाउसले नै गर्ने र त्यो बापत निश्चित रकम पनि लाग्ने गर्दछ ।

विद्यार्थीहरुले फार्म हाउसमा फरक-फरक ढंगले काम गर्ने अवसर प्राप्त गर्ने र सो अनुसार नै धेरै काम गर्न पाउनेले धेरै कमाई गर्ने र थोरै काम गर्न पाउनेले थोरै कमाई गर्ने दाहालको भनाई छ । समग्रमा काम गर्ने अवधिभर सम्पूर्ण खर्च कटाएर झण्डै १० लाख रुपैयाँ बचत गर्न सकिने कुरा पुरानो अनुभवले देखाएको उनी बताउँछन् ।

इजरायलमा सिक्दै कमाउँदै गरेर फर्केपछि विद्यार्थीहरुले आँफैले फार्म हाउस चलाउन वा सो सम्बन्धी काम गर्न व्यवहारिक रुपमा दक्ष हुन्छन् । ‘यो नन एकेडेमिक डिग्री हो, एक प्रकारको तालिम हो, यसले उनीहरुको वृद्धि विकास गरेको हुन्छ, उनीहरुले सिकेको सिपको आधारमा यहाँ फर्किसकेपछि आँफै केही गर्न सक्छन्,’ दाहालले भने ।

त्रिभुवन विश्वविद्यालयको कृषि र पशु विज्ञान अध्ययन संस्थान अन्तर्गत वार्षिक रुपमा ३ सय ५० भन्दा धेरै विद्यार्थीले बिएससीएजी पास गर्ने र ती विद्यार्थीहरुलाई व्यवहारिक रुपमा थप ज्ञान हासिल गर्न र सोही क्रममा पैसा आर्जन गर्नको लागि इजरायलले उपलब्ध गराएको तालिम एउटा अवसर भएको सहायक डिन दाहालको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.