निगमले सञ्जय कोष र सिआईटीलाई तिर्यो एक अर्ब ३५ करोड

  २०७९ साउन ५ गते १६:५९     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमले (नेपाल एयरलाइन्स) कर्मचारी सञ्जय कोष र नागरिक लगानी कोषको बक्यौता रकम भुक्तानी गरेको छ । लामो समयसम्म बक्यौता रकम भुक्तानी गर्न नसकेको निगमले असार ३० गते दुई कोषलाई १ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी गरेको हो ।

२०७६ साल पुसको किस्ता भुक्तानी गरेपछि निगमले दुबै कोषलाई रकम भुक्तानी गर्न सकेको थिएन ।

करिब तीन वर्षपछि निगमले कर्मचारी सञ्चय कोषलाई न्यारोवडी जहाज खरिद वापतको ४५ करोड र वाइडबडी जहाज खरिद वापतको ४५ करोड रुपैयाँ गरी जम्मा ९० करोड किस्ता वापतको रकम भुक्तानी गरेको हो ।

यस्तै, नागरिक लगानी कोषलाई बाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ता वापतको ४५ करोड रुपैयाँ भुक्तानी गरिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिईन ।

उनका अनुसार कोभिडका कारण निगमको आम्दानी खुम्चिदा बक्यौता रकम भुक्तानीमा समस्या भएको थियो । विस्तारै अवस्था सहज हुँदै गएपछि बक्यौता रकम भुक्तानी गर्न सुरु गरिएको हो ।

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट दुई न्यारो बडी र दुई वाइड बडी जहाज किन्दा लिएको ऋण मात्रै ३७ अर्ब ५८ करोड रुपैयाँ थियोे । तर समयमा किस्ता रकम भुक्तानी गर्न नसक्दा निगमको अल्पकालीन, मध्यमकालीन तथा दीर्घकालीन ऋणमात्रै करीब ५० अर्ब पुगेको छ।

ऋणको साँवा–ब्याजको किस्ता १५ वर्षसम्म तीन–तीन महिनामा बुझाउने सर्तमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले ऋण लगानी गरेका थिए ।

निगमले दुई थान वाइडबडीको ८० करोड ४२ लाख र दुई न्यारो बडीको ३३ करोड नौ लाख रुपैयाँ गरी एक किस्तामा एक अर्ब १३ करोड रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.