बन्दाबन्दी नभए कोभिड-१९ संक्रमण दैनिक ११ हजार नाघ्ने

  २०७९ साउन ३ गते १७:३६     विकासन्युज

काठमाडौं । कोभिड-१९ को संक्रमण दैनिक ११ हजार ६०० को हाराहारीमा पुग्न सक्ने अनुमान गरिएको छ । कोरोना संक्रमण बढ्दै जाँदा बन्दाबन्दी नभएमा, सरकारले तोकेका स्वास्थ्य मापदण्डहरुको पालना पूर्ण रुपमा नभए यस्तो अवस्था आउन सक्ने अनुमान गरिएको छ ।

कोरोना महामारीको पहिलो र दोस्रो लहरको तथ्याङ्क विश्लेषण र पछिल्लो समयमा देखिएको संक्रमणको ट्रेनका आधारमा यस्तो अनुमान गरिएको नीति अनुसन्धान प्रतिष्ठानले जनाएको छ । यो पूर्ण सरकारी स्वामित्वको सरकारी थिङ ट्याङ्क हो ।

विभिन्न मुलुकमा कोभिड-१९ महामारीको अवस्था, व्यवस्थापनको अनुभव र सिकाइहरूबारे गरिएको अनुसन्धान प्रतिवेदनमा आगामी डिसेम्बरसम्म खराव, मध्यम र राम्रो हुँदा कस्तो असरपर्ला भनेर व्याख्या गरिएको छ । यसअघिको महामारीमा दैनिक ८ हजार भन्दा बढी नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोभिड-१९ सङ्क्रमणको विगत १८ महिनाभन्दा बढी अवधिको शृङ्खलाबद्ध तथ्याङ्क हेर्दा सङ्क्रमण बिस्तारै सुरु भएर निश्चित बिन्दुमा पुगेपछि ह्वात्तै बढ्न थाल्ने र करिब ४५ देखि ५० दिनको अवधिमा सङ्क्रमणदर उच्च रहने प्रवृत्ति देखिएको प्रतिष्ठानले जनाएको छ ।

‘कोभिड-१९ को सङ्क्रमण दर कम गर्न आवागमन, बन्दाबन्दी तथा अन्य कार्यमा गरिएको कडाइ, बढ्दो सङ्क्रमण र मृत्युदरको सूचना प्रसारणसँगै मानिसहरूले अपनाउने संयम र सतर्कताले कोभिड-१९ को सङ्क्रमण फैलावटको साङ्लो तोडिने भएको हुँदा सङ्क्रमण दर मत्थर हुँदै जाने प्रवृत्ति देखिएको छ । कोभिड-१९ को सङ्क्रमणको सम्बन्धमा हामीले ध्यान दिनुपर्ने पक्ष भनेको पहिलो लहरमा सङ्क्रमण बढ्ने र घट्ने दर उस्तैउस्तै रहे पनि दोस्रो लहरमा भने सङ्क्रमणको वृद्धिदर तीव्र भयो र घट्ने दर बढ्ने दरभन्दा ढिलो देखियो । यस प्रवृत्तिको विश्लेषण गर्दा एक पटक कोभिड-१९ सङ्क्रमणमा ह्रास आएपछि पुनः अर्को लहर आउन केही समय लाग्ने देखिन्छ’ प्रतिस्ठानको प्रतिवेदनमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.