तीन वर्षमा विभूषणमा साढे २४ करोड खर्च, महालेखाले उठायो प्रश्न

  २०७९ असार २९ गते १८:०८     विकासन्युज

काठमाडौं । सरकारले हरेक वर्ष दिने मानपदवी, अलंकार तथा विभिन्न पदकमा करोडौ रकम खर्च हुने गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५९ औं प्रतिवेदन अनुसार उक्त विभूषणमा सरकारले ठूलो रकम खर्च गर्दै आएको पाइएको हो ।

विभूषण ऐन, २०६४ मा ४ प्रकारका १२ श्रेणी मानपदवी, ९ प्रकारका अलंकार र १३ प्रकारका पदकबाट राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउनेलाई विभूषण समितिले स्वीकृत गरेको मापदण्ड, २०७५ बमोजिम सिफारिस गर्ने र नेपाल सरकारले निर्णय गर्ने व्यवस्था छ । उक्त व्यवस्था अनुसार नेपाल सरकार मन्त्रिपरिषद्बाट २०७५/०७६ मा ५१८, २०७६/०७७ मा ६३३ जना, २०७७/०७८ मा ५९३ र २०७८/०७९ मा ८८७ जनालाई विभूषित गर्ने निर्णय भएको छ ।

घोषणा गरेका विभूषण तयार गर्न गृह मन्त्रालयले २०७५/०७६ मा ५ करोड ६९ लाख ७७ हजार रुपैयाँ, २०७६/०७७ मा ८ करोड ५० लाख रुपैयाँ र २०७७/०७८ मा १० करोड २२ लाख १६ हजार रुपैयाँ खर्च गरेको छ । तीन आर्थिक वर्षमा सरकारले विभूषणको नाममा २४ करोड ४१ लाख ९३ हजार रुपैयाँ खर्च गरेको हो ।

विगतमा घोषणा भएमध्येको १७६ मानपदवी, ३६ अलकार र ६२ पदकसमेत गरी २७४ विभूषण वितरण नभई मौज्दात रहेको छ । महालेखाले विभूषण तयार गर्न लाग्ने लागत वर्षेनी बढ्दैे गएको भन्दै लागतमा कमी ल्याउन तथा विभूषित हुने संख्या निश्चित गरी खर्चमा नियन्त्रण गर्नुपर्ने उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.