‘पहुँच र पावरमार्फत कर्जा लिई बजारमा चलखेल गर्नेलाई कारबाही गर्नुपर्छ’

  २०७९ असार २२ गते १४:२४     विकासन्युज

काठमाडौं । स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीले पहुँच र पावरको दुरुपयोग गरेर कर्जा लिएर सेयर बजारमा चलखेल गर्नेलाई कारबाही गर्नुपर्ने बताएका छन् । आगामी मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकले आयोजना गरेको सुझाव संकलन कार्यक्रममा बोल्दै अध्यक्ष मैनालीले यस्तो बताएका हुन् ।

उनले सेयर कर्जामा सीमा लगाउने भन्दापनि गलत कार्य गर्नेलाई नियन्त्रण गर्नुपर्ने बताए । साथै, सबैलाई एकै ठाउँमा राखेर नीति ल्याउनु नहुने उनको भनाई छ ।

मैनालीले मौद्रिक नीतिमार्फत सेयर कर्जा नियन्त्रण नगर्न सुझाव दिएका छन् । उनले सेयर बजारमा लगानी गर्नको लागि बैंकबाट लिने कर्जाले आर्थिक गतिविधिलाई चलायमान बनाउने भएकाले राष्ट्र बैंकले सेयर कर्जामा धेरै नियन्त्रण गर्न नहुने बताएका हुन् । अध्यक्ष मैनालीले राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सेयर कर्जामा ४/१२ को क्याप लगाएकाले बजारमा समस्या आएको बताए । उनले आगामी मौद्रिक नीतिमा सेयर कर्जामा ४/१२ को क्यापलाई हटाउनुपर्ने बताए ।

अध्यक्ष मैनालीले सेयर कर्जामा सीमा लगाउने भन्दापनि पहुँच र पावरको दुरुपयोग गरेर कर्जा लिएर बजारमा चलखेल गर्नेलाई कारबाही नियन्त्रण गर्नुपर्नेमा सबैलाई एकै ठाउँमा राखेर नीति ल्याउनु नहुने बताए । उनले कमजोर र बलियो संस्थाको सेयरमा एकै प्रकारको मार्जिन नियम वैज्ञानिक नभएको भन्दै त्यस्तो व्यवस्थालाई मौद्रिक नीतिमार्फत संशोधन गर्नुपर्ने बताए । अध्यक्ष मैनालीले राष्ट्र बैंकको घुमाउरो नीतिले बैंक तथा वित्तीय संस्थालाई सेयर खरिद गर्न रोक लगाएको कारण पनि सेयर बजार जोखिममा पुगेको बताए । उनले अहिले कुनैपनि बैंक तथा वित्तीय संस्थाहरु सेयरमा लगानी गर्न छाडेको भन्दै वित्तीय संस्थाहरुलाई सेयर खरिद गर्न दिए जोखिममा रहेको बजार सुधार हुनसक्ने बताए । अध्यक्ष मैलानीले उत्पादनमुलक क्षेत्रका कम्पनीहरुलाई बुक बिल्डिङमार्फत सेयर बजारमा ल्याउने तयारी भएपनि सेयर किन्ने बायर नै नभएको गुनासो गरे ।

‘हामीले विदेशी लगानीलाई सेयर बजारमा प्रवेश नदिएको कारण सेयर बजारमा धक्का लाग्छ जस्तो लाग्दैन, सेयरमा जाने कर्जालाई राष्ट्र बैंकले सीमा राखेर कडाई गर्नुपर्छ भन्ने छैन, हामीले जहिले पनि बाइन साइडबाट मात्रै हेरका छौं, सेयर बजार यस्तो ठाउँ हो जसमा बायरले पैसा तिर्छ भने सेलरले आज नै पाउँछ, पैसा कही पनि अड्किँदैन, बायरले ऋण लिएर सेयर किन्यो भने शेयर किनेको पैसा सेलरले पाउने हो, केही सरकारले करको रुपमा पाउने हो, कसैले ऋण लिएर सरकारलाई कर तिर्छ भने त्यसले बिगार्छ जस्तो लाग्दैन । कसैले ऋण दिएर सेयर किन्दा बेच्ने मान्छेले शेयर बेचेर उद्योगमा लगानी गर्छ भने त्यसलाई नियन्त्रण गर्नुपर्छ जस्तो लाग्दैन, ‘ उनले भने ।

अध्यक्ष मैनालीले मर्जर तथा प्राप्तिका कारण सेयर कारोबार रोक्का हुन नहुने व्यवस्था गर्न राष्ट्र बैंकलाई सुझाव दिए । उनले मौद्रिक नीतिमा ब्रोकरमार्फत मार्जिन लेण्डिङको व्यवस्था सहज बनाउनुपर्ने समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.