१३ वटा बीमा कम्पनीले पाँच वर्षसम्म दिन सकेनन् नगद लाभांश, दिनेले पनि ज्यादै न्यून मात्र

  २०७९ जेठ २९ गते १५:१५     मञ्जरी पौडेल

 

काठमाडौं । नियामकको निर्देशनमा पुँजी वृद्धि गर्नु पर्ने दवावमा रहेका बीमा कम्पनीका लगानीकर्ताले विगत पाँच वर्षमा निराशाजनक प्रतिफल पाएका छन् । विगतमा पनि पुँजी वृद्धि गर्दै आएका कम्पनीहरुले बोनस सेयर वितरण त गरेका छन् तर नगद लाभांशको आधारमा उनीहरुको हालत निकै खराब देखिएको छ ।

यूनाईटेड, अजोड, जनरल, सानिमा जनरल, नेशनल, ओरियन्टल र राष्ट्रिय बीमा कम्पनीले विगत पाँच वर्षका सेयरधनीलाई कुनै पनि प्रकारको लाभांश दिएका छैनन् भने भने पुराना र स्थापित कम्पनीहरु शिखर, सगरमाथा, एभरेष्ट, आईएमई जनरल, एनएलजी, प्रुडेन्सियलले समेत विगत पाँच वर्षमा सेयरधनीलाई नगद लाभांश दिन सकेका छैनन् ।

नगद लाभांश दिनेले पनि न्यून दिएका छन् । जसमा नेकोले १०.९२, प्रिमियरले ११.८, नेपाल इन्स्योरेन्सले ५.४७, प्रभुले १३.४४, सिद्धार्थले ५.६३, लुम्बिनी जनरलले ६.५५ प्रतिशत नगद लाभांश (५ वर्षमा) वितरण गरेका छन् ।

पुँजी वृद्धि गर्नै पर्ने वाध्यताका कारण पाँच वर्षमा अधिकांश बीमा कम्पनीले नगदभन्दा बढी बोनस सेयर वितरण गरेका छन् । तर हिमालयन जनरल इन्स्योरेन्सले भने बोनसभन्दा बढी नगद लाभांश वितरण गरेको छ । समीक्षा अवधिमा १३.६५ प्रतिशत बोनस सेयर वितरण गरेको हिमालयन जनरलले २२.८५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । जसले गर्दा इन्स्योरेन्सका सर्वसाधारण सेयरधनीभन्दा संस्थापक सेयरधनीलाई बढी फाइदा भएको देखिन्छ ।

विगत पाँच वर्षमा निर्जीवन बीमा कम्पनीहरुमध्ये प्रिमियर इन्स्योरेन्सले सबैभन्दा बढी लाभांश वितरण गरेको छ । प्रिमियरले आर्थिक वर्ष २०७३/७४ देखि आर्थिक वर्ष २०७७/७८ सम्ममा कूल १२३.५७ प्रतिशत लाभांश सेयरधनीलाई वितरण गरिसकेको छ । जुन बोनस र नगद लाभांश सहित हो । प्रिमियरका सेयरधनीले ५ वर्षमा कूल १११.७७ प्रतिशत बोनस र ११.८ प्रतिशत नगद लाभांश पाएका छन् ।

सेयरधनीलाई बढी लाभांश दिनेमा सगरमाथा इन्स्योरेन्स दोश्रो स्थानमा रहेको छ । तर सगरमाथा इन्स्योरेन्सले सबैभन्दा बढी बोनस सेयर वितरण गरेको छ । पब्लिक सेयरधनी रोजाइमा बोनस सेयर दिने कम्पनी अगाडि पर्दछन् । समीक्षा अवधिमा सगरमाथाले ११७ प्रतिशत बोनस सेयर वितरण गरेको छ । जुन प्रिमियर इन्स्योरेन्सको तुलनामा बढी हो । प्रिमियरको तुलनामा सगरमाथाको नगद लाभांश कम भएकाले कूल लाभांशदर घट्न पुगेको हो । सगरमाथाले ५ वर्षमा कर प्रयोजनको लागि भनेर १.६३१७ प्रतिशत नगद लाभांश वितरण गरेको देखिन्छ ।

हाल बजारमा २० वटा निर्जीवन बीमा कम्पनीहरु सञ्चालनमा छन् । जसमध्ये अजोड, जनरल, सानिमा जनरल, यूनाईटेड, नेशनल, ओरियन्टल र राष्ट्रिय बीमा कम्पनी गरी कूल ७ वटाले विगत ५ वर्षमा एक पटक पनि लाभांश वितरण गरेका छैनन् । जसमध्ये नेशनल र ओरियन्टल इन्स्योरेन्स भारत सरकारको पूर्ण स्वामित्वमा रहेका कम्पनीहरु हुन्, जसले नेपालमा शाखाको रुपमा निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

त्यस्तै, सरकारको स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको भने वर्षौंदेखिको लेखापरीक्षण प्रतिवेदन नै स्वीकृत नै गराएको छैन । जसले गर्दा कम्पनीले वार्षिक साधारण सभा समेत गर्न पाएको छैन । र, बाँकी रहेका अजोड, जनरल, सानिमा जनरल र यूनाईटेड इन्स्योरेन्सले भने आर्थिक वर्ष २०७३/७४ देखि आर्थिक वर्ष २०७७/७८ सम्ममा एक पटक पनि आफ्ना सेयरधनीलाई लाभांश खुवाउन सकेका छैनन् ।

लाभांश वितरण गरेकामध्ये एभरेष्ट इन्स्योरेन्सको सबैभन्दा कम छ । इन्स्योरेन्सले ५ वर्षमा जम्मा २४.७३५८ प्रतिशत लाभांश वितरण गरेको छ । जसमा २४ प्रतिशत बोनस र बाँकी नगद लाभांश रहेको छ ।

त्यस्तै, सिद्धार्थले ६७, नेकोले ६३, शिखरले ६०, प्रभुले ५८, एनएलजीले ५४, लुम्बिनी जनरलले ४२, नेपाल इन्स्योरेन्सले ४१, प्रुडेन्सियलले ३६ र आईएमई जनरलले २६ प्रतिशत लाभांश वितरण गरेका छन् ।

यस्तो छ इन्स्योरेन्सको लाभांश इतिहास, कसको कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.