फिदिम, चौरजहारी, साँफेबगर र डुम्रेमा बन्दै छन् १५ करोड लागतको पार्क

  २०७९ जेठ २७ गते १४:०५     राजिव न्यौपाने

काठमाडौं । शहरी विकास मन्त्रालय अन्तर्गत पर्ने शहरी विकास तथा भवन निर्माण विभाग आगामी आर्थिक वर्ष २०७९/८० मा ४ वटा नयाँ पार्कको निर्माण गर्ने भएको छ । विभागले नयाँ शहर आयोजना अन्तर्गत सुन्दर पार्क निर्माण गर्न लागेको हो ।

पार्क निर्माणको गर्नको लागि आवश्यक तयारी गरी आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) समेत तयार गरिसकेको शहरी विकास तथा भवन निर्माण विभागले जानकारी दिएको छ । यस्ता पार्कहरु पाँचथरको फिदिम, रुकुमको चौरजहारी, अछामको साँफेबगर नगरपालिका र तनहुको डुम्रे भन्सारमा पार्क निर्माण हुनेछ ।

पार्क निर्माणको काम नयाँ शहर आयोजना कार्यालयहरुबाट अगाडि बढ्ने छन् । सो कार्यालयको सामाजिक पूर्वाधार कार्यक्रम अन्तर्गत पार्क निर्माण हुने विभागकी सूचना अधिकारी रमिता तचामोले बताइन् । पार्क नयाँ शहरको कामसँगै अगाडि बढ्ने छ ।

कुन पार्कका लागि कति बजेट ?

चार वटा नयाँ पार्क निर्माण गर्नको आगामी आर्थिक वर्षको लागि १४ करोड ७० लाख रुपैयाँ बजेट छुट्याएको छ । पार्क निर्माणासँगसँगै सो बजेट भित्रनै अन्य काममा पनि गर्नुपर्ने हुन्छ ।

पाँचथरको फिदिम नगरपालिका वडा नं. ४ मा गणेशमान पार्क निर्माण गर्नको लागि ६ करोड रुपैयाँ बजेट छुट्याइएको छ । उक्त बजेटभित्र नै फिदिमको पौवा भन्ज्याङदेखि सुकेपोखरी पार्कसम्मको सडक र सुकेपोखरी पार्कको गुरुयोजना तयार गरी पहिलो चरणको डीपीआर बमोजिम कार्यान्वयन गरी ल्याण्डफिल साईट तथा पहुँचमार्ग निर्माण र फिदिम नगरपालिकाको वडा नं. ५ मा खेल मैदान तथा पहुँचमार्ग निर्माण गर्ने योजना विभाले बनाएको छ ।

यस्तै, रुकुम जिल्लाको चौरजहारी नगरपालिकामा पनि आगामी आर्थिक वर्षबाट हरितपार्क सहितको बसपार्क निर्माण, चौरजहारी पार्क, रामजानकी पार्क, सामुदायिक भवन निर्माण र सोलार सडक बत्ती जडान गर्ने कार्य हुने छ । सो कामको लागि २ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । रुकुम जिल्ला अर्थमन्त्री जनार्दन शर्माको गृह जिल्ला र निर्वाचान क्षेत्र रहेको जिल्ला पनि हो ।

यसै गरी अछाम जिल्लाको साँफेबगर नगरपालिकामा बजैनाथ पार्क निर्माण तथा खेलकुद मैदान निर्माण हुने छ । उक्त ठाउँमा पार्क निर्माण गर्नको लागि ४ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।

डुम्रे भन्सार नयाँ शहर आयोजना समन्वय कार्यालय अन्तर्गत आगामी आर्थिक वर्षबाट तनहुको बन्दिपुर गाउँपालिकामा पार्क निर्माण गर्ने योजना छ । पार्क निर्माण गर्नको लागि २ करोड २० लाख रुपैयाँ बजेट छुट्याएको छ । सो बजेटमा नै बन्दिपुरको शिखरडाँडाबाट बागदले स्टोन पार्कसम्म ढुङ्गा छाप्ने र गाउँपालिका वडा नं. ४ क्लवको खेलमैदान निर्माण गर्ने विभागको योजना छ ।

निर्माण सुरु भएको भएपछि पार्क निर्माणको काम छिटै सक्ने योजना रहेको विभागले जनाएको छ । तनहु जिल्ला नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्ला र निर्वाचन क्षेत्र पनि रहेको जिल्ला हो । अहिले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गरिरहेका छन् भने वरिष्ठ नेता पौडेल र सभापति देउवाबीच सम्बन्ध सुमधुर रहेको बताइन्छ ।

यी हुन् निर्माण सुरु भएका पार्क

विभाग अन्तर्गत ३ वटा पार्क निर्माणाधीन अवस्थामा छन् । उक्त पार्क निर्माणको कामलाई निरन्तरता दिनको बजेट पनि छुट्याएको छ । तीन वटा निर्माणाधीन अवस्थामा रहेका पार्कलाई निरन्तरता दिन आगामी आर्थिक वर्षका लागि १ करोड ८० लाख रुपैयाँ बजेट रहेको छ ।

धादिङ्ग जिल्लामा सघन शहरी तथा भवन निर्माण आयोजनामा अन्तर्गत स्याब्रुबेसी हिमाली शहरको ‘मार्फाेलोजिकल रिटेनमेन्ट एण्ड इन्हान्समेन्ट प्लान’ अनुसार बाहुडाँडामा पार्क निर्माणलाई निरन्तरता दिन ५० लाख रुपैयाँ बजेट छ ।

बैतडीको पाटन नयाँ शहर आयोजना अन्तर्गत निर्माण हुँदै गरेको हीरापुर डाडाबाघ मनोरञ्जन पार्क तथा भ्यु टावर निर्माणको कामलाई निरन्तरताको लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यस्तै, राकम कर्णाली दैलेखमा मनोरञ्जन पार्क पनि निर्माणाधीन अवस्थामा छ । निर्माणाधीन अवस्थामा रहेको सो पार्कको काम अघि बढाउन ८० लाख रुपैयाँ बजेट छुट्याएको छ । सुचारु र नयाँ पार्क गरी जम्मा ७ वटा पार्क छन् । सो पार्कको कुल बजेट १६ करोड ५० लाख रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.