विद्युतीय कार उत्पादन गर्न उद्योग खोले घिमिरेले, साझेदारीका लागि तीन देशका कम्पनीसँग छलफल

  २०७९ जेठ २६ गते ९:२२     विकासन्युज

काठमाडौं । एलपी ग्यास तथा पेट्रोलियम व्यवसायीका रुपमा परिचित व्यवसायी शिवप्रसाद घिमिरेले नेपालमै विद्युतीय सवारी साधान एसेम्बल गर्ने उद्योग खोल्ने भएका छन् ।

घिमिरेले एकल लगानीमा गत जेठ १७ गते उद्योग विभागमा एसजी अटोक्राफ्ट नामक उद्योग दर्ता गरेका हुन । उनले देशभित्रै दुई पांग्रेदेखि ६ पांग्रेसम्मका विद्युतीय र पेट्रोलियम पदार्थबाट सञ्चालन हुने गाडी एसेम्बल गर्नका लागि नयाँ उद्योग दर्ता गरेका हुन् ।

घिमिरेले ३ अर्ब रुपैयाँ लगानीमा बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ११ मा उद्योग रहने जानकारी दिए । उनले उद्योग दर्ता गरेर आवश्यक तयारी थालिएको बताए ।

‘अहिले उद्योग दर्ता मात्रै भएको हो, आवश्यक तयारीमा नै छौँ, उत्पादन नै सुरु भएको होइन, उद्योग विभागमा दर्ता गरेर आवश्यक तयारी थालेको हो’, उनले भने ।

उनले उद्योगका लागि आवश्यक पर्ने कानुनीदेखि लागत, साझेदार भित्र्याउने विषयमा विदेशी कम्पनीहरुसँग परामर्श भैरहेको बताए ।

‘भारत, चीन र कोरियामा रहेका विद्युतीय गाडी उत्पादन गर्ने कम्पनीहरुसँग साझेदारीको कुराहरु भैरहेको छ, कुन देशको कुन कम्पनीसँग साझेदारी गर्ने भन्ने विषय टुङगिसकेको छैन, हामीसँग अटो उत्पादनको अनुभन छैन, विद्युतीय गाडी उत्पादन गरेका मल्टी नेशनल कम्पनीसँग जोइन्ट भेन्चरमा उद्योग सञ्चालन गर्ने योजनाका साथ कुरा हुँदैछ,’ उनले भने ।

उनले राम्रो कम्पनीसँग साझेदारी गर्न सकिए नेपालसँगै छिमेकी देशमा गाडी निर्यात गर्न सकिन्छ कि भन्ने योजना सहित तयारीका कामहरु भैरहेको बताए ।

‘विद्युतीयसँगै डिजेट तथा पेट्रोलियम पदार्थका गाडीहरु समेत उत्पादन गर्ने गरी उद्योग दर्ता गरिएको छ, तर हाम्रो टार्गेट डिजेल पेट्रोलका गाडीभन्दा पछि विद्युतीय गाडी उत्पादन गर्ने हो, विश्वका विकसित देशले २०३० भित्रमा पेट्रोलियम पदार्थबाट सञ्चालन हुने गाडी विस्थापन गरी विद्युतीय बनाउने उद्घोष नै गरिसकेका छन्, सोही अनुसार हाम्रो टार्गेट पनि विद्युतीय गाडी नै हो’, उनले भने ।

आफू विगत ३० वर्षदेखि उर्जा क्षेत्रमा नै आवद्ध भएको र सोही क्षेत्रमा आफ्नो अनुभव भएकोले अनुभव अनुसार नै नेपालमा विद्युतीय गाडी उत्पादन गर्ने गरी उद्योग दर्ता गरेको घिमिरेले बताए ।

उनले एकै उद्योगबाट विद्युतीय, चार पाङग्रे सवारीदेखि मोटसाइकल तथा आइसी इन्जिनयुक्त सवारी उत्पादन गर्ने गरी उद्योग दर्ता गरेका छन् ।

उनले उद्योगका लागि बारामा ३२ बिघा जग्गा खरिद गरिसकेको बताए । घिमिरेले हाल तारो र मोटरहेड ब्रान्डका मोटरसाइकलको व्यापार गर्दै आएका छन् । उनले एलपी ग्यास, अक्सिजन ग्यास तथा जलविद्युत क्षेत्रमा लगानी गरेका छन् ।

उनले उद्योग विभागमा दर्ता गराएको विवरण अनुसार एसजी अटोक्राफ्टले वार्षिक विद्युतीय मोटरसाइकल तथा स्कुटर २१ सय थान, विद्युतीय तीनपांग्रे १२ सय थान, विद्युतीय कार–जिप ६ सय र इ–बस १२० युनिट उत्पादन गर्नेछ ।

यस्तै, इन्टरनल कम्बसन इन्जिन (आइसिई) मोटरसाइकल तथा स्कुटर १० हजार पाँच सय युनिट, आइसिई तीनपांग्रे रिक्सा १५ सय युनिट, आइसिई फोर ह्विलर्स (कार, एसयुभी, जिप) ६ सय युनिट र आइसिई सिक्स ह्विलर्स गाडी सात सय ५० युनिट उत्पादन गर्नेछ ।

उद्योग सञ्चालनमा आउँदा चार सय ३१ जनाले रोजगारी पाउनेछन् भने उद्योग सञ्चालन गर्न २५ सय केभिएको विद्युत् आवश्यक पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.