‘घर-घरमा मात्रै होइन बेशीका सबै गोठहरुमा पनि बिजुली पुर्याउँछु’

  २०७९ जेठ २६ गते १०:०८     विकासन्युज

गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट भोजपुरको षडानन्द नगरपालिकाको मेयरमा सुरेन्द्र कुमार उदास विजयी भए । पदभार ग्रहणसँगै उनले नगरपालिकामा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरिसकेका छन् ।

लामो समय शिक्षण पेशामा रहेका उदासले अब शिक्षासँगै हरेक क्षेत्रको सुधार र परिवर्तनको अपेक्षा नगरवासीले लिएका छन् । नगरलाई सुन्दर, पूर्वाधार विकासमा उच्चतम फड्को मार्ने सोच राखेका उदासले ५ वर्षे योजना बनाई अगाडि बढ्ने सोच बनाएको बताउँछन् । उनै नवनिर्वाचित मेयर उदाससँग आगामी गर्ने काम कारवाही, समग्र नगरेको पूर्वाधार विकास र आगामी योजना लगायतका विषयमा विकासन्युजका राजिव न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

षडानन्द नगरपालिकाको नगर प्रमुख पदमा निर्वाचित हुनुभएको छ, के कस्ता कामलाई प्राथमिकता दिने सोच बनाउनु भएको छ ?

हामीले पदभार ग्रहणसँगै नगरपालिकामा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भनिसकेका छौं । नगरपालिका ३ वटा एम्बुलेन्स सेवाको उपलब्ध गराई ४ वर्गको लागि निःशुल्क सेवा उपलब्ध गराउने भएको छौं । जेष्ठ नागरिक, अपाङ्ग, गर्भवती तथा सुत्केरीहरू, दुर्घटनामा परेर घाइते भएकाहरू र आपत् विपदमा परेकाहरूलाई सो सेवा लिन सक्ने छन् । यस्तै, हरेक क्षेत्रको क्रमागत विकास गर्ने सोच बनाएको छु ।

नगरपालिकामा देख्नुभएको प्रमुख समस्या के हो ?

नगरमा समस्या धेरै छन् । योजना विहीन तरिकाबाट विकासका कामहरू अगाडि बढेका छन् । पैसा गएको देखिन्छ तर त्यसको उपलब्धि भने छैन । करोडौं लगानी गरेर बनेका परियोजनाहरू अलपत्र अवस्थामा छन् । नगरमा सुशासनको प्रत्याभूत मैले देखिनँ । कामको ढिलासुस्ती भएको महसुस गरिरहेको छु । नगरपालिकाबाट प्रदान गरिने सेवामा निष्पक्षता र पारदर्शिता कायम भएको पाइनँ ।

२०७४ साल निर्वाचित हुन भएका वडा अध्यक्ष सदस्य तथा कार्यपालिका सदस्यहरूलाई एउटा बैठकको कार्यविधिसम्म उपलब्ध गराइएन । उहाँहरूले कसरी बन्यो, कसरी चल्यो भन्ने थाहा नै पाउनु भएन । अस्तव्यस्त तरिकाबाट योजना विहीन ढङ्गले नगरपालिका चलिरहेको हुनाले यहाँ समस्याहरू धेरै छन् ।

यी समस्याको समाधान गर्न तथा सुलभ तरिकाबाट जनतालाई सेवा उपलब्ध गराउन प्रणालीको विकास गर्छु । सो प्रणाली आधुनिक प्रविधि र जनमैत्री पनि हुन्छ । खासगरी निमुखा जनताहरूले सहज रूपमा सेवा प्राप्त गरुन् र आवश्यकताको आधारमा हामीले महत्वपूर्ण योजना अगाडि बढाउन सकियोस भन्ने गरी आफ्नो कदम अगाडि बढाउने छु ।

अघिल्ला निर्वाचित नगरप्रमुखले पालिकामा कस्तो काम गरेको पाउनुभयो ?

उहाँहरूले कति पनि काम गर्नु भएन भन्दिनँ । नगरभित्रका सानादेखि ठूला कामसम्म नगरप्रमुखसँग जोडिएको हुन्छ । नगरप्रमुख एक अधिकार सम्पन्न पद पनि हो । पहिलाको नेतृत्वले सबैलाई समेटेर एकताबद्ध गरेर पारदर्शी हिसाबले जवाफदेहिता ख्याल गरी जिम्मेवारीबोध हुनेगरी काम गरेको भने देखिएन ।

हामीले गरेको काम पारदर्शी तथा जवाफदेही होस भन्ने जनभावना अनुसार हामी चल्ने हो । कुनै पनि राजनीति पूर्वाग्रह नराखी नितान्त नगरबासीको उन्नति र समृद्धिको लागि नगरको विकासको लागि सबै जनप्रतिनिधिहरूलाई एक साथ अगाडि बढ्ने भन्ने लक्ष्य राखेको छु । हामी एक भएर अगाडि बढ्न सक्यौं भनेमात्र नगरेका ठोस योजना बनाउन सक्छौं । नगरको आवश्यकता बुझी योजना बनाई कार्यान्वयन गर्न सक्यौं भने सबैलाई सहज हुन्छ । यसरी नै मैले अगाडि बढ्ने योजना बनाएको छु ।

पूर्वाधारको विकासमा नगरपालिका निकैपछि छ भन्दा फरक नपर्ला, सडक निर्माण भएका छन्, तर त्यसको कालोपत्रे, स्तारोन्नति भने अहिलेसम्म हुन नसक्दा स्थानीहरू बर्सेनि सास्ती खेप्दै आएका छन्, अब तपाईको कार्यकालमा नगरभित्र सडकको क्षेत्रमा के काम गर्ने सोच बनाउनु भएको छ ?

सडक पिच गर्नको लागि नगरको बजेटले मात्र सम्भव हुँदैन । त्यसैले हरेक निकायसँग समन्वय गरेर स्रोत जुटाई पिच गर्ने योजना अगाडि बढाउने छौं । प्रदेश र संघ सरकारसँग समन्वय गरेर विभिन्न राजनैतिक दलका साथीहरूसँग पनि सहकार्य गरी सडक पिच गर्ने सोच बनाएको छु । भोलि जुनसुकै पार्टीको सरकार बने पनि सबैसँग मिलेर अगाडि बढ्ने वातावरण मैले बनाउनु पर्छ । जुन वातावरण हिजोको दिनमा बनाइएको थिएन ।

सतिघाटदेखि दिङ्लासम्म पिच गर्ने छौं । त्यस्तै दिङ्लादेखि भोजपुर सदरमुकामसम्म पिच गर्ने हाम्रो योजना हो । सो सडकको पिच गर्नको लागि अहिलेदेखि नै सम्बन्धित निकायसँग पहल गरिरहेको छु । तुर्के घाटसम्म प्रदेश र संघ सरकारको सहयोगमा भइरहेको सडक पनि सम्पन्न गर्ने तरिकाले अगाडि बढाइने छ ।

नगरको उत्तर साइडको वडाको केन्द्रसम्म जोड्ने सडकको विकास तथा विस्तार गर्ने सोचमा छु । यही आर्थिक वर्षबाट नगरभित्र सडकहरूलाई बाह्रै महिना सञ्चालन गर्न सक्ने सुरुवात गर्ने छु । मेरो कार्यकालभित्र ५० किलोमिटर सडक पिच हुन्छ भन्ने आशा छ ।

यहाँ आरसीआईटी कार्यक्रमको लन्च भएको छ । सो कार्यक्रमले सडक पिच गर्न सहयोग पुर्याउदो रहेछ । सो कार्यक्रम एसीयाली विकास बैंकको सञ्चालन भएको भन्ने मलाई सामान्य जानकारी आएको छ । यस विषयमा म कुरा बुझ्दैछु । यो प्रोजेक्ट ल्याउन सकियो भने नगरभित्र बढी नै सडक पिच गर्न सकिन्छ ।

यस्तै, अरुण नदीमा पक्की पुल निर्माण गर्न नसक्दा चुनौंतिको विषय देखिरहेका छौं । सो खोलामा पुल नहुँदा यातायात आवत जावतदेखि मानिसलाई पनि समस्या परेको छ । अहिले अरुण नदीमा नै बालुवाबेशी कात्तिके र उता संखुवासभाको च्याबेशीमा पक्की पुल निर्माणाधीन अवस्थामा छ । सो पुलको काम पनि द्रुत गतिमा हुन सकेको छैन । यसको कामलाई तीव्रता कसरी दिन सकिन्छ भन्ने विषयमा पनि छलफल गरिरहेका छौं । उक्त पक्की पुल निर्माणको कामलाई तीव्रता दिने मेरो पहल रहने छ ।

अरुण नदीमा एउटा पक्की पुल भए पनि नगरवासीको ठूलो उपलब्धी र हाम्रो आस्थाको किरण त्यहाँबाट सुरु हुन्थ्यो । कात्तिकेको पुल निर्माणमा ठेक्दारले नै बिस्तारै काम गरिरहेको छ । यस विषयमा सडक विभागसँग गएर पनि कुरा गर्ने योजना बनाएको छु ।

शैक्षिक संरचनाहरू नगरभित्र धेरै निर्माण भएका छन्, तर शैक्षिक गुणस्तर भने विद्यालयमा देखिँदैन, आगामी पाँच वर्षसम्म तपाईंले नगरको नेतृत्व गर्दा यहाँको शिक्षाको स्तर कस्तो हुन्छ ?

म आफै प्रधानाध्यापक भएर पनि लामो समयसम्म काम गरेको छु । कतिपय शिक्षा क्षेत्रको समस्या म आफैलाई पनि थाहा छ । कस्तो किसिमको योजना बनाएर अगाडि बढ्यो भने यसको गुणस्तर उकास्न र सिकाइ उपलब्धि अझै वृद्धि गर्न सकिन्छ भन्ने बारे मलाई पनि जानकारी छ । यस विषयमा विज्ञहरूसँग पनि बसेर यस्तो किन भइरहेको छ भने विषयमा छलफल गर्ने नै छौं । भौतिक पूर्वाधारको हिसाबले पनि करिब सम्पन्न भइसक्यौं ।

शिक्षकहरूको व्यवस्थापन पनि त्यस्तो दयनीय छैन । अधिकांश विद्यालयमा पर्याप्त शिक्षक साथीहरू हुनुहुन्छ । युवा साथीहरू पनि शिक्षण पेसामा आबद्ध हुनुहुन्छ । यस्तो हुँदा पनि हाम्रो शिक्षा सिकाई उपलब्धि किन घटिरहेको छ, किन गुणस्तर वृद्धि हुन सकेन, यसको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने बारेमा हामी सबैसँग छलफल गर्ने नै छौं । शिक्षा क्षेत्रमा छलफल गर्नको लागि यस क्षेत्रका विज्ञ, प्रधानाध्यापक, समितिसँग अन्तरक्रिया गरेर षडानन्द शिक्षा सुधार योजना बनाउने भन्ने मेरो लक्ष्य छ । सो योजना बनाई कार्यान्वयन गर्ने उद्देश्य मेरो छ ।

पदभार ग्रहणसँगै नगरपालिकामा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भनिसक्नु भएको छ, अझै पनि नगरका स्वास्थ्यचौकीमा बिरामीहरूको आवश्यकता अनुसारको औषधी समेत पाउन मुस्किल छ, अब स्वास्थ्य सेवालाई कसरी व्यवस्थित बनाउनुहुन्छ ?

स्वास्थ्य क्षेत्रमा व्यवस्थापनको कमजोरी हो जस्तो लाग्छ । किनभने औषधीको व्यवस्थापन गर्ने जिम्मा नगरको पनि हो । यसमा हामीलाई केन्द्र सरकारको सहयोग प्राप्त हुन्छ । स्वास्थ्यचौकीमा पर्याप्त स्वास्थ्य जनशक्ति छैन । भएको जनशक्ति पनि नगरको कारणले गर्दा निराशजनक देखिन्छन् । नगरभित्रका स्वास्थ्यचौकी र स्वास्थ्यकर्मीहरूका समस्याहरूको सुनुवाइ नभएको कारण ठूलो गुनासो छ । अब म त्यो कुरा हुन दिन्नँ । उनीहरूको गुनासो म सुन्छु, भौतिक पूर्वाधार बनाउने कुरामा पनि जोड दिन्छु । टिमवर्क राम्रो भयो भनेमात्र जनशक्ति वा कर्मचारीहरू काममा उच्च मनोबलको साथ लाग्छन् । त्यो वातावरणको सिर्जना म गर्छु । कर्मचारी नियुक्ति गर्दा पनि निष्पक्ष तरिकाबाट हुने व्यवस्था मिलाउने छु ।

पाँच वर्षभित्रमा षडानन्द नगरपालिकाको नगर अस्पताल बनाउने सोचमा छु । गौचरणमा भएको अस्पतालमा नै भवन बनाउनको लागि जग्गा उपलब्ध गराउनु पर्ने देखिन्छ । सो ठाउँमा जग्गा धेरै छ । तर ऐलानी जग्गा छ । त्यहाँ जग्गाको व्यवस्थापन गरी भवनको माग गर्ने भनेर माथिल्लो निकायबाट प्रस्ताव पनि आएको रहेछ । तर नगरपालिको एउटा पनि डीपीआर बनाएर पठाएको रहेनछ ।

नगरभित्र भएकै भवनहरू पनि सञ्चालनमा आउन सकेको छैन । विगत लामो समयदेखि महात्मागान्धी अस्पताल भनेर भारतीय दूतावासले बनाइदिएको अस्पतालको भवन खाली छ । त्यो भवनलाई पनि कसरी सञ्चालन गर्न सकिन्छ भन्नेतर्फ यहाँका विभिन्न निकायसँग छलफल गरिरहेका छौं । दूतावासले उद्घाटन गरेर गयो । तर, रित्तो घरमा मात्र उद्घाटन भयो । त्यो भवन पनि प्रयोग गर्नेछौं । मेरो कार्यकाल भित्र नै षडानन्द नगरपालिकाको एउटा नगर अस्पताल हुन्छ ।

तपाईंको ५ वर्षको कार्यकालपछि षडानन्द नगरपालिका कस्तो बन्छ ?

हाम्रो ५ वर्षीय योजना बनिसकेपछि मात्र यस्तो बन्छ भन्न सक्छौं । पाँच वर्षमा सुन्दर षडानन्द बनेको सबैले देख्नुहुन्छ । कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई अंग्रेजी भाषामा सक्षम बनाउने उद्देश्य पनि राखेको छु । शिक्षा सिकाई उपलब्धि वृद्धि हुन्छ । नगरभित्र नै एउटा कृषि क्याम्पस हुनेछ । प्राविधिक शिक्षालय पनि सञ्चालन हुनेछ । नगरपालिको कार्यालयदेखि वडा केन्द्रसम्म बाह्रै महिना यातायात सञ्चालन हुने अवस्थाको सिर्जना गर्नेछौं ।

कृषिमा व्यवसायीकरणको उभार आउँने छ । कृषिमा आत्मनिर्भरता मात्र नभई अन्य ठाउँमा निर्यात गरी अन्य ठाउँमा पठाउन सक्षम हुने छौं । जनजीवनको सुधार अवश्य हुने छ । दुर्घटना परी मृत्यु भएकाहरूको लागि एउटा शव वाहनको पनि व्यवस्था मिलाउने छौं । हरेक क्षेत्रमा सुधार र परिवर्तन ५ वर्षभित्रमा देख्नु हुनेछ । हरेक ठाउँमा बिजुली पुर्याउने छु । गाउँका घर र बेशीका गोठहरुमा पनि बिजुली पुर्याउने छु ।

पाँच वर्षपछि षडान्नद नगरपालिकालाई नमुना नगरको रूपमा देख्न सकिन्छ ?

नमुना नगर हुन्छ भनेर भन्न सकिँदैन । तर, नमुना नगर बनाउने आधारसिला चाहिँ म तयार पार्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.