नयाँ सवारी किन्दा इम्बोस्ड नम्बर प्लेट दिनु पर्ने नाडाको माग, बढाइएको कर घटाउन आग्रह

  २०७९ जेठ २४ गते १२:४३     विकासन्युज

काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले विद्युतीय सवारी साधनमा सरकारको भनाइ र गराई फरक भएको जनाएको छ ।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेटबाट विद्युतीय सवारी साधनमा वृद्धि गरिएको महसुल सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा नाडाका अध्यक्ष धुब्र थापाले सो कुरा बताएका हुन ।

उनले जुनसुकै देशले पनि विद्युतीय सवारी साधनमा प्राथमिकता दिने भनिएको र नेपालमा पनि सोही नीति लिएको भनिरहँदा भनाइ र गराईमा फरक परेको बताए ।

‘सरकारले आगामी आर्थिक वर्षको बजेटमा सवारी साधनको आयातमा लाग्ने कर बढाउँदा व्यवसाय नै संकटमा पर्ने देखियो’, उनले भने, ’सरकारको नीतिकै कारण दुई पाँग्रे सवारी साधनको बिक्री बन्द गर्नुपर्ने अवस्था आयो ।’

उनले विद्युतीय सवारी अबको भविष्य रहेको भन्दै पुरानै करलाई यथावत राख्नुपर्नेमा जोड दिए । उनले अबको १० वर्षमा नेपालमा पेट्रोलियम पदार्थको वस्तु आयात कम हुने भन्दै सरकारले पहिलो प्राथमिकता विद्युतीय सवारीलाई दिनुपर्नेमा जोड दिए ।

‘विद्युतीय सवारी साधनमा विदेशी मुद्रा बढी गएको भन्दै कर बढाएको जवाफ हामीलाई दिईयो, कर बढाउनभन्दा यसको दीर्घकानीन प्रभावको अध्ययन नै गरिएन’, उनले गुनासो गरे ।

गाडी आयातमा सरकारले रोक लगाउँदा राजश्व संकलनमा कमी आएको उनको भनाई छ ।

‘सरकारले चार पाँग्रे सवारी साधनको आयात बन्द गर्यो, छलफल बिनौ आयात बन्द गर्नभन्दा पनि अर्कै विकल्प खोज्न सकिन्थ्यो, तर सरकारले त्यसतर्फ ध्यान नै नदिई आयातमा रोक लगायो’, उनले भने, ६ महिनाका लागि क्रेडिट फ्यासिलिटीमा कम्पनीले गाडी ल्याउन दिन्छ, यसले विदेशी मुद्रा बाहिरिनबाट जोगिन्थ्यो, उपभोक्ता र व्यवसायीलाई पनि सहज हुन्थ्यो ।’

यस्तै, उनले इम्बोस्ड नम्बर प्लेट नयाँ सवारी खरिद गर्नासाथ राख्नुपर्नेमा जोड दिए । सवारी खरिदपछि सामान्य नम्बर र त्यसपछि इम्बोस्ड नम्बर जडान गर्दा दोब्बर खर्च हुनेगरेको बताए ।

कति बढ्यो कर

सरकारले चार पांग्रे गाडीको अन्तःशुल्क बढाएको छ । आर्थिक वर्ष २०७९/८० को बजेटले १५०० सीसी माथिका कारमा लाग्ने अन्तःशुल्क बढाएको हो ।

अब १५०० देखि २००० सीसीका कारमा अन्तःशुल्क ७५ प्रतिशत पुगेको छ । यसअघि ७० प्रतिशत मात्रै लाग्थ्यो ।

२ हजारदेखि २५ सय सीसी र २५ सयदेखि ३ हजार सीसीसम्मका गाडीमा पनि ५/५ प्रतिशतले अन्तःशुल्क बढेको छ ।

त्यसैगरी ३ हजार सीसी माथिका गाडीमा १०५ प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरिएको छ । यी सबै नयाँ करका दर भोलिबाटै लागु हुनेछन् । १५०० सम्मका कार, जीप/भ्यानमा भने यसअघि कै करको दर निरन्तर कामय रहने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.