प्रमोटरको निराशा र नियामकको दवावले मर्जमा जाँदै बीमा कम्पनी

  २०७९ जेठ २३ गते १७:०२     विकासन्युज

काठमाडौं । बीमा क्षेत्रमा पछिल्लो समय ५ वटा कम्पनीले मर्जको लागि समझदारी गरेका छन् । हिमालयन र एभरेष्ट इन्स्योरेन्सबीच मर्जको लागि सैद्धान्तिक समझदारी भएको छ । त्यस्तै प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र यूनियन लाइफ इन्स्योरेन्सबीच मर्जको लागि समझदारी भएको छ ।

बीमा समितिले अरु कम्पनीहरुलाई पनि मर्ज गर्न दवाव दिँदै आएको छ । तर अधिकांश कम्पनीहरु मर्जर प्रक्रियामा रहेका कम्पनीहरुले अन्तिम निर्णय कुरिरहेका छन् । बैकिङ क्षेत्रमा धेरै मर्ज हेरेपछि बीमा कम्पनीहरुबीचको मर्जको नजिर पर्खने र आवश्यकता अनुसार थप प्रक्रियामा जाने मनस्थितिमा अरु कम्पनी रहेका छन् ।

ज्यादै निराश प्रमोटर सेयरधनी
यूनियन लाइफ इन्स्योरेन्स सञ्चालनमा आएको पाँच वर्ष भयो । अहिलेसम्म कम्पनीले सेयरधनीलाई कत्ति पनि लाभांश वितरण गर्न सकेको छैन । २ अर्ब १५ करोड रुपैयाँ सेयर पुँजी छ । चालु आर्थिक वर्षको प्रथम ९ महिनामा २ करोड ७२ लाख रुपैयाँ खुद नाफा गरेको छ । निकट भविष्यमा पनि कम्पनीले सेयरधनीलाई उच्चदरको लाभांश दिने आधार देखिदैन ।

मर्ज हुँदै गरेको गुराँस लाइफ इन्स्योरेन्स स्थापना भएको पनि १५ वर्ष भयो । यस अवधिमा कम्पनीले सेयरधनीलाई एक पटक पनि नगद लाभांश दिन सकेको छैन । बीमा समितिले पुँजी वृद्धि गर्न दिएको निर्देशनको पालना गर्ने क्रममा कम्पनीले नाफाबाट ६ पटक गरी कुल ४३.२५ प्रतिशत बोनस सेयर वितरण गरेको छ ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी स्थापना भएको १५ वर्ष भयो । यस अवधिका कम्पनीले एक पटक मात्र नगद लाभांश दियो । आर्थिक वर्ष २०७५/७६ को नाफाबाट कम्पनीले सेयरधनीलाई ८ प्रतिशत नगद लाभांश दियो ।

त्यसो त यस कम्पनीले नाफा नै नगरेको होइन । प्राइम लाइफले पुँजी वृद्धिको क्रममा ८ पटक गरी १०५ प्रतिशत बोनस सेयर दिएको छ । मर्ज हुँदै गरेको निर्जीवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्सले पनि विगत पाँच वर्षको सेयरधनीलाई एक रुपैयाँ पनि लाभांश दिन सकेको छैन । तर पुँजी वृद्धिको लागि पटक पटक गरेर ६२ प्रतिशत बोनस सेयर दिएको छ ।

त्यस्तै, मर्ज हुँदै गरेको हिमालयन जनरल इन्स्योरेन्सका सेयरधनीले पनि विगत ७ वर्षमा जम्मा २८ प्रतिशत नगद लाभांश पाएका छन् । जुन वार्षिक सरदर ४ प्रतिशत मात्र हुन्छ । तर कम्पनीले नाफाबाट ७ वर्षमा पटक पटक गरी ६० प्रतिशत बोनस सेयर वितरण गरेको छ ।

बोनस सेयर पाउँदा खुशी हुने साधारण सेयरधनी उत्साहित नै भेटिन्छन् । तर नगद लाभांश पाउँदा सन्तुष्टि हुने संस्थापक सेयरधनी भने सधैं निराश छन् । प्रमोटर सेयर बेच्न पनि नपाउने, बैंकमा धितो राखेर पनि कम कर्जा हुने, बजारमा मूल्य पनि आधा मात्र हुने भएकोले उनीहरु नगद लाभांशको अपेक्षा गर्दछन्, जुन अपेक्षा बीमा कम्पनीहरुले पुरा गर्न सकिरहेका छैनन् ।

‘बीमा कम्पनीमा पैसा हालेर मात्र भएन, प्रतिफल छैन’ यूनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण भन्छन्- बीमा कम्पनीहरुले मर्जमा जाने जुन निर्णय गरेका छन्, त्यो प्रशंसायोग्य छ ।’

मर्जपछि कम्पनी ठूलो हुने, बिजनेश पनि बढ्ने, नाफा पनि बढ्ने, बीमा समितिको निर्देशनको पनि पालना हुने उनको विश्लेषण छ । कम्पनी ठूलो बन्दा कर्मचारीलाई पनि राम्रो हुने र लगानीकर्तालाई पनि फाइदा उनले बताए । ‘३ करोड भन्दा कम जनसंख्या भएको देशमा १९ वटा जीवन बीमा कम्पनी चल्दैन, मर्जमा जानुको विकल्प छैन’ – कर्णले भने ।

बीमा कम्पनीहरुले पटक पटक पुँजी वृद्धि गर्दै आएका हुन् । यसअघि पनि जीवन कम्पनीहरुको लागि ५० करोडबाट २ अर्ब, निर्जीवन बीमा कम्पनीको लागि २५ करोडबाट एक अर्ब बनाइएको थियो । त्यतिबेला पनि लगानीकर्तालाई प्रतिफलको अपेक्षामा भन्दा नियामकको नियमलाई पालना गर्न भन्दै पुँजी बढाएको थिए । १ र २ अर्बको न्यूनतम पुँजी पुर्याएको दुई वर्ष नबित्दै बीमा समितिले फेरी न्यूनतम पुँजीको सीमालाई बढाएर निर्जीवनको लागि २ अर्ब र जीवन बीमाको लागि ५ अर्ब रुपैयाँ तोकेको छ ।

३ वटा कम्पनी मर्ज भएपछि बन्ने जीवन बीमा कम्पनीको सेयर पुँजी ७ अर्ब रुपैयाँ हुनेछ । जीवन बीमा कोष ४० अर्ब रुपैयाँभन्दा बढी हुन्छ । तीन वटा कम्पनी मर्ज हुँदा पनि बजारमा तेस्रो ठूलो कम्पनी बन्नेछ ।

मर्जमा प्रमोटर सक्रिय
हरेक व्यवसायिक घरानालाई आ-आफ्नै बीमा कम्पनी खोल्ने लहरकाबीच सबै व्यवसायिक घरानासँग एउटा न एउटा जीवन र निर्जीवन बीमा कम्पनी रहेका छन् । कम्पनी मात्र हुने प्रतिफल भने नहुने भएपछि गोल्छा ग्रुप, शंकर ग्रुप, मुरार्रका ग्रुप, खेतान र दुगड ग्रुप जस्ता ठूला घराना प्रवद्र्धक भएका बीमा कम्पनीहरु पनि मर्ज हुन लागेका हुन् ।

बीमा कम्पनी मर्ज गराउन बीमा समिति जति तातेको छ, बीमा कम्पनीका प्रमोटरहरु पनि त्यत्तिकै तातेका छन् । मर्जर प्रक्रियामा रहेका कम्पनीको प्रारम्भिक गतिविधि हेर्दा अहिलेको प्रक्रियामा मात्र प्रवर्द्धक होमिएका छन्, व्यवस्थापन समूहको भूमिका पनि नगन्य छ ।

पाँच वटै कम्पनीका लगानीकर्ता (सञ्चालक समिति) ले मर्ज सम्बन्धी एमओयूको ड्राफ्ट पनि आफैले तयार गरेका थिए । एमओयूमा हस्ताक्षर गर्ने ठाउँ, समय सबै लगानीकर्ताले नै तय गरेका थिए । एमओयूमा सहिछाप गर्नुभन्दा १/२ घण्टा अघि मात्र कम्पनीको प्रमुख कार्यकारी अधिकृतलाई जानकारी गराइएको थियो ।

कम्पनीका उच्च व्यवस्थापकहरु मर्ज प्रक्रियामा साक्षी मात्र बनेका छन् । मर्जमा उनीहरुको व्यवसायिक दक्षताको कुनै संलग्नता देखिदैन । मर्जर कमिटिको सक्रियता पछि मात्र व्यवस्थापन समूहले काम पाउने अपेक्षा गरेको छ ।

मर्जको क्रममा लगानीकर्ताको फोकस पनि फरक फरक छ । एक जना जानकारले भने- ‘एकथरी लगानीकर्तालाई नाफासँग मात्र चासो छ, नाफालाई बढोत्तरी गराउने उदेश्यले उनीहरु मर्ज चाहान्छन्, अर्कोथरीलाई लगानीको सुरक्षा प्राथमिकता बनेको छ, अन्जानमै बीमा कम्पनी खोलियो, यसमा नाफा कमाउने कठिन रहेछ, पहिला लगानी सुरक्षित राखि राख्न पाए कुनै बेला कमाउन सकिन्छ’ भन्ने उनीहरुको चाहाना छ ।’

अर्कोथरी लगानीकर्ता मर्ज गरेपछि संस्था ठूलो हुन्छ, संस्था ठूलो भएपछि कारोबार पनि बढ्छ, नाफा पनि पनि स्वतः बढ्छ भन्ने मनस्थिति लिएर मर्जको लागि तयार भएका छन् । अर्काथरी लगानीकर्तालाई नाफा भन्दा पनि पहिचाहन महत्वपूर्ण लाग्छ । नाफा नभए पनि ‘म फलानो बीमा कम्पनीको अध्यक्ष वा सञ्चालक हुँ’ भनेर पहिचाहन उनीहरुको लागि महत्वपूर्ण भएको छ ।

बैंकहरुमा जस्तै बीमा कम्पनीबीच मर्जरमा नियामकले नीतिगत दवाव सिर्जना गरेको छ । लगानीकर्ताको चाहानामा नियामकले ब्याक सपोर्ट गरेको देखिन्छ । कतिपय अवस्थामा स्वार्थ नमिल्दा पनि मर्जमा नगए नियामकले कारवाही गर्छ भनेर मर्जको तारतम्य मिलाउँदै गरेको पाइएको छ ।

जीवन बीमाको मर्ज जटिल
जीवन बीमा कम्पनीहरुले दीर्घकालिन दाहित्व बोकेका हुन्छन् । त्यसले लिएको जोखिम दीर्घकालिन प्रकृतिको छ । तसर्थ जीवन बीमा कम्पनीहरुको मर्जर प्रक्रिया जटिल र लामो हुने बताउँछन् प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज भट्टराई । ‘जीवन बीमा कम्पनीहरुले २०/३० वर्ष अवधिका, ५०औं वर्ष अवधिका दाहित्व लिने खालको बीमा पोलिसी बिक्री गरेका हुन्छन् । त्यसमा पनि सर्त र जोखिमहरु फरक फरक हुन्छ । त्यसैले मर्जपूर्व जीवन बीमा कम्पनीहरुको वित्तीय विश्लेषण, व्यवसायिक विश्लेषण, बिमाङ्कीय मूल्याङकन एवं विस्तृत लेखापरिक्षण प्रतिवदनको महत्व धेरै छ’ उनले भने ।

हरेक बीमा कम्पनीको हरेक बीमा पोलिसीको बोनस दर फरक फरक छ । बीमितले पाउने बोनस दरमा भएको फरकलाई कसरी मर्ज गरिन्छ ? बीमितले पाउने बीमा पोलिसीको बोनसदर भिन्नतालाई कसरी मर्ज गरिन्छ ? बीमितको लाभहानीलाई बीमा कम्पनीका सञ्चालक, व्यवस्थापक, नियामकले कसरी सम्बोधन गर्छ ? यस्ता गम्भीर प्रश्नहरु रहेको उनले बताए ।

बैंक तथा वित्तीय संस्थाहरुमा जस्तै कर्मचारीको समायोजन, सञ्चालक समितिको समायोजन, सीईओको समायोजन, बिजनेश समायोजन, शाखाको समायोजन, कम्पनीको नामको समायोजन, ख्यातीको समायोजन लगायत धेरै विषयमा आफ्नै जटिलताहरु छन् । भलै बैकिङ क्षेत्रमा भएको मर्जको क्रममा भएको कर्मचारीलाई गरिएको बेवास्था, ग्राहकलाई दिने सेवा सुविधामा गरिएको बेवास्ताले बीमा क्षेत्रमा पनि निरन्तता पाउने जोखिम पनि छ ।

जोखिमबारे भ्रम
पुँजी ठूलो भएपछि कम्पनी बलियो हुन्छ, जोखिम बहन क्षमता बढ्छ भन्ने मान्यता एउटा छ । तर यसमा पूर्ण सत्यता नभएको प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज भट्टराई बताउँछन् । ‘बीमा समितिको पुर्नबीमा निर्देशनमा बीमा कम्पनीहरुले आफ्नो नेटवर्थको ०.०३ प्रतिशत जोखिम आफैले लिन सक्ने भनिएको छ । २ अर्ब पुँजी भएको कम्पनीले ६० लाख रुपैयाँसम्म रिटेन्सन राख्न सक्छन् । तर कम्पनीले ५/७ लाख रुपैयाँ मात्र रिटेन्सन राख्ने गरेका छन् । १० लाखभन्दा बढी कसैले पनि रिटेन्सन राखेका छैनन्’ उनले भने- ‘रिटेन्सन क्यापासिटी बढाउनको लागि पुँजी वृद्धि आवश्यक नै होइन ।’

जोखिममा आधारित पुँजी हुनुपर्छ भन्ने पनि बीमा समितिको निर्देशन छ । यो धेरै व्यवहारिक कुरा हो । यस हिसावले २ अर्ब पुँजी भएको कम्पनीले ५० अर्ब रुपैयाँको जीवन बीमा कोष धान्न सक्छ । २ अर्ब पुँजीले धान्ने जोखिमको बिजनेश पनि बीमा कम्पनीहरुले गर्न सकिरहेका छैनन् । यस अवस्थामा न्युनतम पुँजी ५ अर्ब पुर्याउन दवाव दिनुलाई पनि उचित नभएको जानकारहरु बताउँछन् ।

सँगै आशंका पनि,
एकातिर बीमा कम्पनीको संख्या घटाउनको लागि मर्ज गर्ने भनिएको छ भने अर्कोतिर नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिने सम्भावनाप्रति बजार चिन्तित छ । राज्यसत्ताको शक्ति प्रयोग गरिरहेका प्रभावशाली व्यक्तिहरु संस्थापक भएका बीमा कम्पनीहरु दर्ता हुनु र लाइसेन्सको प्रतिक्षामा बस्नुले पनि बजारमा संसय पैदा गरेको देखिन्छ ।

‘मर्ज गरेर कम्पनीको संख्या १५ वटा बनाउने फेरी ५ वटा नयाँ कम्पनीले लाइसेन्स पाउने हो भने मर्जको औचित्य के ?’ एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.