बैंक, अस्पताल र विद्यालय पनि आइतबार खुल्ने, यी हुन् बन्द नहुने संस्था

  २०७९ जेठ ८ गते १३:४७     विकासन्युज

काठमाडौं । सरकारले आइतबार र शनिबार सार्वजनिक विदा दिने निर्णय गरेपनि धेरै संस्थाहरुले पनि आइतबार पनि सेवा दिने बताएका छन् । विभिन्न संस्थाहरूले सूचना तथा विज्ञप्ति नै जारी गरेर आइतबार पनि सेवा दिने बताएका हुन् ।

गत बैशाख १३ गते बसेको मन्त्रिपरिषद बैठकले जेठ १ गतेदेखि आइतबार र शनिबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सरकारले बिदा दिने निर्णय गरेपनि अधिकांश संस्थाले भने आइतबार सार्वजनिक बिदा नदिने निर्णय गरिसकेका छन् ।

अधिकांश बैंक तथा वित्तीय संस्थाहरूले पनि सूचना नै जारी गरेर आतइबार पनि सेवा दिने बताएका छन् । तर, समय र शाखाहरू भने केही निश्चित निर्धारण गरिएका छन् ।

काठमाडौं महानगर ३ घण्टा खुल्ने

राजधानी क्षेत्रमा रहेको काठमाडौं महानगरपालिकाले आइबार पनि आफ्नो कार्यालय खोल्ने जनाएको छ । महानगरपालिकाले सार्वजनिक सूचना नै जारी गरेर आइतबार पनि सेवा दिने जनाएको छ ।

महानगरका विभागीय प्रमुख महेश काफ्लेले सूचना जारी गर्दै राजस्व विभाग र वडा कार्यालयहरु आइतबार बिहान ८ बजेदेखि ११ बजेसम्म खुल्ने सूचनामा उल्लेख छ ।

अस्पतालले पनि सेवा दिने

सरकारले दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेपनि काठमाडौंका अधिकांश अस्पतालहरूले आइतबार पनि सेवा दिने बताएका छन् । अस्पतालमा लगातार दुई दिन विदा हुँदा बिरामीलाई उपचारमा समस्या पर्ने बताउँदै अस्पताल सञ्चालकहरूले आइतबार पनि अस्पताल सञ्चालन गर्ने बताएका छन् ।

उपत्यकाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सहिद गङ्गालाल हृदय रोग केन्द्र, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललगायतका ठूला अस्पतालले बिरामीको उपचारलाई मध्यनजर गर्दै आइतबार अस्पताल सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

बैंकहरूले पनि सेवा दिने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र जारी गर्दै दुई दिन सार्वजनिक विदाको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएपनि अधिकांश बैंकहरूले आइतबार पनि बैंकिङ सेवा दिने बताएका छन् ।

एक दर्जन वाणिज्य बैंकहरूले आइतबार र शनिबार पनि ग्राहकलाई बैंकिङ सेवा दिने भएका छन् । बैंकहरूले काठमाडौं उपत्यका र उपत्यका बाहिरका विभिन्न शाखाहरु खुल्ने सूचना जारी गर्दै आइतबार पनि बैंक बन्द नहुने उल्लेख गरेका छन् ।

सूचना अनुसार नेपाल इन्भेष्टमेन्ट बैंक, एनआइसी एशिया बैंक, हिमालयन बैंक, नबिल बैंक, सिभिल बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, एनसीसी बैंक, सनराइज बैंक, प्राइम कमर्सियल बैंक र राष्ट्रिय सहकारी बैंकले आइतबार पनि सेवा दिनेछन् ।

यी बैंकहरूले उपत्यका र उपत्यका बाहिरका विभिन्न शाखाहरू र शाखा खुल्ने समय सीमा पनि निर्धारण गरेका छन् ।

बीमा कम्पनीले शुक्रबार पूर्ण सेवा दिने

आइतबार सार्वजनिक विदा दिनु परेपछि बीमा कम्पनीहरूले शुक्रबार पूर्ण सेवा दिने भएका छन् । बीमा समितिले आइतबार र शुक्रबार विदा दिन कम्पनीहरूलाई निर्देशन दिएसँगै कम्पनीहरू ती दुई दिन विदा दिनेछन् । तर, हालसम्म आधा दिन सेवा दिँदै आएको शुक्रबार भने पूर्ण सेवा दिने जनाएका छन् ।

कम्पनीहरूले आइतबार विभिन्न बैठक तथा सेमिनार भने गर्ने बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयले विदा नदिने

त्रिभुवन विश्वविद्यालयले सरकारले लागु गरेको दुई दिने विदा नदिने भएको छ । विश्वविद्यालयले आइतबार सूचना जारी गर्दै आइतबार विदा नदिने जानकारी दिएको हो । त्रिविले विद्यार्थीको पठनपाठन, विश्वविद्यालय अन्तर्गतको स्वास्थ्य सेवा लगायत अन्य सेवाहरुलाई नियमित रुपमा संचालन गर्न आवश्यक रहेकाले हाललाई विदा नदिने जानकारी दिएको जनाएको छ । अर्को सूचना जारी नभएसम्मको लागि साविक बमोजिम नै आइतबार समेत विश्वविद्यालयका सबै सेवाहरु संचालन हुने विज्ञप्तिमा उल्लेख छ ।

निजी विद्यालय पनि खुल्ने

एनप्याब्सनले आइतबार आफ्नो संस्था मातहतका विद्यालयहरु सञ्चालन हुने जनाएको छ । काठमाडौं उपत्यका भित्र र बाहिरका विद्यालयहरुलाई पत्र पठाएर आइतबार पनि विद्यालय सञ्चालन गर्न निर्देशन दिएको सो सँस्थाका अध्यक्ष पाण्डव हमालले बताएका छन् ।

यस्तै, प्याब्सन अन्तर्गतका विद्यालयहरु भने सरकारले गरेको निर्णयअनुसार सञ्चालन हुने सो संस्थाका अध्यक्ष डिके ढुंगानाले बताएका छन् । तर, आफुहरूले सरकारको निर्णयलाई पुनरावलोकन गर्न अनुरोध गरिरहेको उनको भनाइ छ ।

सम्बन्धित सामग्री :  यी १२ बैंक आइतबार र शनिबार पनि खुल्ने (सूचीसहित)

One comment on "बैंक, अस्पताल र विद्यालय पनि आइतबार खुल्ने, यी हुन् बन्द नहुने संस्था"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.