विदेशी लगानी भित्र्याउने विषयमा बोर्डद्वारा पहिलो पटक बैंकिङ क्षेत्रसँग सम्झौता, रोजाइमा नबिल

  २०७९ जेठ ४ गते १६:४४     विकासन्युज

काठमाडौं । लगानी बोर्ड र नबिल बैंकबीच विदेशी लगानी भित्र्याउने विषयमा सम्झौता भएको छ । बुधबार लगानी बोर्डको कार्यालयमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्ट र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाहले विदेशी लगानी ल्याउने विषयमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
लगानी बोर्डले विदेशी लगानी भित्र्याउने विषयमा बैंकिङ क्षेत्रसँग गरेको सम्भवत: यो पहिलो सम्झौता हो । नेपालमा लगानी गर्न खोजिरहेका विदेशी लगानीकर्तालाई सहजीकरण तथा प्रवद्र्धनका लागि भन्दै नबिल बैंक र बोर्डबीच सम्झौता भएको हो ।
सम्झौतापछि लगानी बोर्डका सीइओ सुशिल भट्टले विदेशी लगानी भित्र्याउनका लागि बैंकको भूमिका महत्वपूर्ण हुने धारणा राखे । उनले लगानी बोर्ड स्थापना भएको १० वर्षपछि लगानी भित्र्याउनका लागि पहिलो पटक बैंकलाई साझेदार बनाएर काम गरेको बताउँदै नबिल बैंकसँगको सम्झौताले विदेशी लगानी भित्र्याउनमा धेरै सहयोग पुग्ने अपेक्षा रहेको बताए ।
‘देशको आर्थिक विकासका लागि सोच्न आवश्यक छ, यसमा निजि क्षेत्रलाई कसरी समाहित गर्ने, उनीहरुको मनोबल बढाउने भन्ने विषयमा हामी पनि सोच्दै आएका छौं, बैंकिङ क्षेत्र पनि एक महत्वपूर्ण क्षेत्र हो, त्यसैले पनि हामीले नबिल बैंकसँग सम्झौता गरेका छौं,’ उनले भने ।
यस्तै, सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले पनि नबिल बैंकले नाफा मात्रै नहेरेर सस्टेनेवल बैंकिङसँगै सस्टेनेवल देश बनाउनमा पनि ध्यान दिएको बताए । बैंकिङ क्षेत्र लगानी प्रवद्र्धनको महत्वपूर्ण क्षेत्र भएकोले विदेशी लगानी भित्र्याउनका लागि बैंकहरूसँग सम्झौता गर्नु महत्वपूर्ण कार्य भएको उनकाे भनाइ छ ।
नबिल बैंकका सीईओ अनिल केशरी शाहले यसअघि पनि नबिल बैंकले विदेशी लगानी भित्र्याउनका लागि महत्वपूर्ण काम गरेको बताउँदै अझै पनि काम गर्ने धारणा राखे ।
उनले हालसम्म नेपालमा सञ्चालित ठूलो परियोजना तथा कम्पनीहरूमा विदेशी लगानी ल्याउनका लागि नबिल बैंकले भूमीका खेलेको बताउँदै उनले नबिल बैंकले देशमा अझै पनि विदेशी लगानी भ्त्रियाउनका लागि तत्पर नै रहने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.