प्रविधिमा फड्को : ओपन वायर म्याग्नेटोदेखि फाइभजीसम्म

  २०७९ जेठ ३ गते १०:११     विकासन्युज

काठमाडौं । नेपालमा दूरसञ्चार प्रविधिको सुरुवात भएको धेरै भएको छैन । नेपालमा करिब १०८ वर्षको अन्तरालमा तारसहितको फोन, ताररहितको फोन, सिम मोबाइल, टुजी हुँदै फोरजीसम्म विकास भइसकेको छ भने फाइभजी पनि परीक्षणको क्रममा छ । नेपाल टेलिकमका अनुसार नेपालमा रहेका ७५३ स्थानीय तहमध्ये हालसम्म ६५४ स्थानीयमा फोरजी विस्‍तार भइसकेको छ ।

नेपालको इतिहासमा दूरसञ्चारको विकास विसं १९७० बाट सुरुवात भएको मानिन्छ । वीरगञ्जबाट काठमाडौंसम्म नाङ्गो तार टाँगेर टेलिफोन भित्र्याइएको थियो । काठमाडौंबाट वीरगञ्जसम्म तार टाँग्नका लागि थानकोट, चिसापानीगढी, भीमफेदी, भैँसे, हेटौँडा, अमलेखगञ्जको बाटो रोजिएको थियो । नाङ्गो तारमा सञ्चालन हुने उक्त पुरानो प्रविधिलाई ‘ओपन वायर म्याग्नेटो’ भन्ने गरिन्थ्यो।

त्यो बेला टेलिफोन सेवा सुरु गरिए पनि राजा र राणाहरूले मात्र प्रयोग गर्न पाउँथे । विसं १९७४ जेठ १ गतेदेखि भने सर्वसाधारणका लागि टेलिफोन सेवा प्रयोग गर्न पाउने व्यवस्था गरिएको थियो ।

विसं २०१३ मा नेपालमा ३५० वटा स्थानीय टेलिफोन सेवा, २८ वटा आकाशवाणी केन्द्र, सात स्थानमा ट्रंक टेलिफोन सेवा सञ्चालनमा आएको थियो ।

उक्त अवधिमा सर्वसाधारणलाई निजी टेलिफोन सुविधा उपलब्ध थिएन । दूरसञ्चार सेवाको विकास र विस्तार गर्ने उद्देश्यले २०१६ सालमा दूरसञ्चार विभागको स्थापना भएको थियो । विस‌ं २०२१ सालमा एचएफ रेडियो सर्भिसद्वारा भारत र पाकिस्तानसँग अन्तराष्ट्रिय दूरसञ्चार सेवाको प्रारम्भ भएको थियो । सोही अवधिमा ५८ जिल्लामा टेलिफोन सेवा विस्तार भयो ।

२०४६ सालको जनआन्दोलनपश्चात २०४९ सालमा जारी भएको राष्ट्रिय दूरसञ्चार नीतिले दूरसञ्चार सेवामा निजी क्षेत्रलाईसमेत सहभागी गराउने नीति लियो । त्यसैअनुसार २०५३ सालमा दूरसञ्चार ऐन बनेपछि मात्र नेपालको दूरसञ्चार क्षेत्रमा निजी क्षेत्रले प्रवेश पाएको हो ।

नेपालमा मोबाइल जीएसएमको सुरुवात २०५६ वैशाख १ गतेबाट भएको मानिन्छ । औपचारिकरुपमा ५६ वैशाख ३० बाट पोस्पेड मोबाइलको वितरण प्रारम्भ भएको थियो ।

पहिलो चरणमा नेपालमा भित्रिएका मोबाइल नर्टेल कम्पनीको पहिलो पुस्ता अर्थात् १जी थियो । त्यो निकै महँगो थियो जुन मध्यम वर्गको पहुँचभन्दा बाहिर थियो ।
२०६० साल भदौ ६ गतेदेखि तत्कालीन नेपाल दूरसंचार संस्थान (हालको नेपाल टेलिकम) ले प्रिपेड मोबाइलको सुरुवात गरेको थियो । त्यसपछि भने मध्यम परिवारका लागि मोबाइल फोनमा पहुँच विस्तार भयो । सर्वसाधारणले प्रयोग गर्न थाले । २०६२ पछि एनसेल (तत्कालिन मेरो मोबाइल)ले टेलिकमसँग प्रतिस्पर्धा गर्दै मोबाइल सेवा सुरु गर्यो। त्यसपछि सर्वसाधारणको पहुँच अझ सहज हुँदै गयो । २०६२ साल जेठ २३ गतेसम्म नेपालमा आगमन कलको समेत शुल्क लाग्थ्यो भने २०६१ साल वैशाख १ गतेसम्म मोबाइल नम्बर अहिलेको जस्तो १० वटा थिएन । यसअघि ९ वटा नम्बर थियो ।

२०६४ साल जेठ ३ गतेबाट नेपाल टेलिकमले तेस्रो पुस्ता थ्रीजी सेवा परीक्षण सुरु गरेको थियो । नेपालमा २०६५ सालदेखि सबै जिल्लामा मोबाइलको पहुँच पुगेको थियो ।

चौथो पुस्ता अर्थात् फोरजी भने नेपालमा २०७३ सालबाट सुरु भएको हो । २०७३ पुस महिनामा पोस्टपेडमा मात्र सुरु गरेको फोरजी सेवा करिब एक महिनापछि मात्र प्रिपेडमा दिएको थियो । फोरजी थ्रीजीको विकसित रूपको नेटवर्कअन्तर्गतको मोबाइल टेलिकम्युनिकेसन प्रविधि हो ।

पछिल्लो समय बिहान उठेदेखि राति नसुतुन्जेलसम्म हरेक व्यक्तिका लागि मोबाइल साथी बनेको छ । हिजो वानजीबाट सुरु भएको भ्वाइसकल आज भोल्ट कलसम्म चल्न थालेको छ भने । इन्टरनेट पनि त्यतिकै रफ्तारमा विकास भएको छ । नेपालमा हिजो सूचनाका लागि हुलाक प्रयोग गर्नेहरू आजकल भिडियो र अडियो कलमा रम्न थालेका छन् ।

नेपालमा भोल्ट कल सुरु भएको आज ठ्याक्कै एक वर्ष पूरा भएको छ । भोल्ट कलमा बिनाइन्टरनेट नम्बरबाट नम्बरमा भिडियो कल गर्न पाइन्छ । साथै मोबाइलमै वेब एक्सेस, आईपी टेलिफोनी, गेमिङ सर्भिस, हाई डेफिनेसन मोबाइल टिभी, भिडियो कन्फेरेन्सिङ, थ्रीडी टेलिभिजन र क्लाउड कम्प्युटिङ लगायतका चल्ने फोरजी सञ्चालनमा आइसकेको छ ।

हिजो परदेशमा बसेकाले आफ्नो बारेमा जानकारी गराउन चिठी लेख्नेहरू पलपलमा कुनै न कुनै माध्यमबाट चाहेको बेलानै परिवार र आफन्तसँग बोल्न पाउने भएका छन् ।

दूरसञ्चार प्रधिकरणका सूचना अधिकारी सूर्यप्रसाद लामिछानेका अनुसार नेपालमा हाल ५७ इन्टरनेट प्रदायकले देशभर सेवा प्रदान गरिरहेका छन् । देशमा हालसम्म ५ कम्पनीले मोबाइल सेवा दिइरहेको छ । ३जी प्रयोगकर्ता एक करोड २० लाख र फोरजी प्रयोगकर्ता एक करोड ६० लाख छन् ।

साथै ५४ प्रतिशत नेपाल टेलिकम तथा ४० प्रतिशत एनसेल प्रयोगकर्ता छन् । हाल नेपालमा ल्याण्डलाइन टेलिफोन प्रयोगकर्ताको संख्या दुई प्रतिशतमा खुम्चिएको प्राधिकरणको तथ्यंकले देखाउँछ ।

नेपालमा सञ्चार सेवाको विकास :-
१९७०- म्याग्नेटो प्रविधिको टेलिफोन सेवाको सुरुवात
विसं २०१६- दूरसञ्चार विभागको स्थापना
विसं २०२१- एचएफ रेडियो सर्भिसद्वारा अन्तर्राष्ट्रिय (भारत तथा पाकिस्तान) दूरसञ्चार सेवाको प्रारम्भ
विसं २०३२- दूरसंचार संस्थानको स्थापना
विसं २०४१- दूरसञ्चार संस्थानद्वारा अन्तरदेशीय ट्रंक सेवा (एसटीडी) को प्रारम्भ, नेपालमा ग्रामीण दूरसञ्चार सेवाको शुरुवात
विसं २०४४- दूरसञ्चार संस्थानमार्फत अन्तर्राष्ट्रिय ट्रंक सेवा (आईएसडी) को सुरुवात
विसं २०४९- राष्ट्रिय सञ्चार नीति तर्जुमा
विसं २०५३- दूरसञ्चार ऐन विसं २०५३ को तर्जुमा । नेपालमा इन्टरनेट/ईमेल सेवाको सुरुवात
विसं २०५४- नेपाल दूरसञ्चार प्राधिकरणको स्थापना । दूरसञ्चार नियमावली २०५४ को तर्जुमा ।
विसं २०५५ – प्राधिकरणबाट पहिलो पटक निजी क्षेत्रको सेवा प्रदायकलाई इन्टरनेट तथा इमेल सेवा सञ्चालनको अनुमतिपत्र जारी
विसं २०५६- दूरसञ्चार नीति तर्जुमा । नेपालमा मोबाइल सेवाको सुरुवात ।
विसं २०५९- भ्वाइस सेवा संचालनका लागि निजी क्षेत्रको सेवा प्रदायकताई अनुमतिपत्र प्रदान
विसं २०६०- दूरसञ्चार नीति, ०६० तर्जुमा । ग्रामीण दूरसञ्चार सेवा संचालनका लागि निजि क्षेत्रको सेवा प्रदायकलाई अनुमतिपत्र प्रदान
विसं २०६१- निजी क्षेत्रलाई मोबाइल सेवा संचालनका लागि अनुमतिपत्र प्रदान
विसं २०६४- थ्रीजी सेवाको सुरुवात (सार्क मुलुकमध्ये थ्रीजी सेवा सुरु गर्ने पहिलो मुलुक)
विसं २०६९- दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँड तथा मूल्य सम्बन्धी) नीति जारी
विसं २०७०- आधारभूत टेलिफोन सेवा सञ्चालनको अनुमतिपत्र
विसं २०७१- ब्रोडब्याण्ड नीति तर्जुमा
विसं २०७२- सूचना तथा सञ्चार प्रविधि नीति तर्जुमा
विसं २०७३- दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँड तथा मूल्य निर्धारण) नीति (पहिलो संसोधन)
विसं २०७४- फोरजी सेवाको सुरुवात
विसं २०७६- पहिलो पटक लिलाम बढाबढको माध्यमबाट दूरसञ्चार सेवा सञ्चालनको फ्रिक्वेन्सी प्रदान
विसं २०७८ फागुन – फाइभजी प्रविधिको विस्तारसम्बन्धी अध्ययन पूरा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.