४ सय ३८ उद्योगमा ३ खर्ब २६ अर्ब लगानी थपियो, ३० हजारलाई रोजगारी

  २०७९ वैशाख २९ गते १६:०१     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको १० महिना उद्योग क्षेत्रमा लगानी र रोजगारी सिर्जनाको आधारमा उत्साहजनक देखिएको छ । साउनदेखि बैशाख १५ गतेसम्मको अवधिमा ४ सय ३८ उद्योग दर्ता भएका छन् ।

उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको १० महिनामा स्वदेशी लगानीका २ सय ४७ र विदेशी लगानीका १ सय ६३ उद्योग थपिएका हुन् । यी उद्योगमा तीन खर्ब २६ अर्ब ७६ करोड २१ लाख ६८ हजार रुपैयाँभन्दा बढीको लगानी स्वीकृत भएको छ ।

लगानी स्वीकृत भएका स्वदेशी तथा विदेशी लगानीका उद्योगमा ३० हजार २७ जनाको लागि रोजगारी सिर्जना भएका छन् ।

सिर्जना भएको नयाँ रोजगारीमा स्वदेशी लगानीका ठूला, साना र मझौला उद्योगमा २३ हजार २७८ जना र विदेशी लगानीका उद्योगमा ९ हजार ७४८ जनालाई रोजगारी सिर्जना भएको उद्योग विभागले जानकारी दिएको छ ।

विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन महिनामा मात्र साना, ठूला र मझौला गरी ४१ वटा स्वदेशी लगानीका उद्योगहरु दर्ता भएका थिए । उक्त संङख्यामा उद्योग दर्ता भएसँगै ३ हजार ६ सय ३२ जनालाई रोजगारी दिइने उल्लेख गरिएको छ ।

त्यसैगरी भदौ महिनामा २१ वटा उद्योग दर्ता हुँदा १ हजार ८९५ जनाले रोजगारी दिईने उल्लेख गरिएको थियो ।

असोज महिनामा साना ठुला र मझौला गरी २७ वटा उद्योगहरु दर्ता भएका थिए । उक्त सङख्यामा उद्योग दर्ता भएकासँगै २ हजार ६६७ जनाले रोजगारी र कात्तिक महिनामा २८ वटा उद्योग दर्ता हुँदा २ हजार १३४ जनाले रोजगारी पाउने उल्लेख थियो ।

यस्तैगरी, विभागको तथ्याङक अनुसार मंसिर महिनामा साना ठुला र मझौला गरी २० वटा दर्ता भएका छन् । जसबाट २ हजार ५३ जनालाई रोजगारी दिईने उल्लेख थियो ।

पुस महिनामा २१ उद्योगमा २ हजार १७, माघ महिनामा २४ उद्योगमा ३ हजार १७६, फागुन महिनामा २२ उद्योगमा १ हजार ६ सय २७, चैत महिनामा ३१ उद्योगमा २ हजार ५ सय ६८ र बैशाख १५ गतेसम्म १५ उद्योगमा १ हजार ६ सय ५६ जनाले रोजगारी पाउने उल्लेख छ ।

२७४ उद्योगमा तीन खर्ब लगानी

विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा करिब ती खर्ब बराबरको स्वदेशी लगानीका उद्योग दर्ता भएको छ ।
उक्त अवधिमा २७४ स्वदेशी उद्योगमा २ खर्ब ८८ अर्ब २० करोड ९१ लाख ५८ हजार रुपैयाँ लगानी स्वीकृत भएको हो ।

यस्तैगरी दश महिनाको अवधिमा विदेशी लगानीका १६३ वटा विदेशी लगानीका उद्योग दर्ता भएका छन् । उक्त उद्योगका लागि विभागले ३८ अर्ब ५५ लाख ३० करोड रुपैयाँ बढी लगानी स्वीकृत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.