४५ करोडले घट्यो टेलिकमको नाफा

  २०७९ वैशाख २८ गते १०:५४     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमको नाफा घटेको छ । गत वर्षको तुलनामा टेलिकमको खुद नाफा करिब ४५ करोड रुपैयाँले घटेको हो ।

नेपाल टेलिकमले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार गत चैत मसान्तसम्म ५ अर्ब ४३ करोड ५३ लाख ४७ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्ष (आव) को सोही अवधिमा टेलिकमले ५ अर्ब ८८ करोड ४४ लाख ७२ हजार रुपैयाँ नाफा गरेको थियो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा टेलिकमले गरेको खुद नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ४४ करोड ९१ लाख २५ हजार रुपैयाँले कम हो ।

नाफा घट्नको मूख्य कारण कोभिड–१९ को महामारी तथा ओटीटीको बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय रोमिङ लगायत अन्तरआवद्धता सेवाको प्रयोगमा भएको कमि तथा कोभिड लक्षित संचालन भएको धेरै कम दरका डाटा प्याकेजहरु भएको टेलिकमले जनाएको छ ।

यसका साथै मर्मत सम्भार खर्चमा भएको वृद्धि, स्थिर सम्पत्तिको ह्रासकट्टी रकममा भएको वृद्धि, चिपसेटको अभाव, अन्तर्राष्ट्रिय ढुवानीमा कठिनाई र बढ्दो शुल्कका कारण उपकरण तथा सामान आयातमा ढिलाई जस्ता कारण रहेको टेलिकमले स्पष्टिकरण दिएको छ ।

गत आवको तेस्राे त्रैमाससम्ममा कम्पनीको कुल सञ्चालन आय २७ अर्ब ४५ करोड १३ लाख ५३ हजार रुपैयाँ रहेकोमा चालु आव.को सोही अवधिसम्ममा ७६ करोड ८२ लाख ५९ हजार रुपैयाँ (अर्थात २.८ प्रतिशत) ले वृद्धि भई २८ अर्ब २१ करोड ९६ लाख १२ हजार रुपैयाँ पुगेकाे छ ।

गत आवको तेस्राे त्रैमाससम्मको कुल आय ३१ अर्ब ६७ करोड ३७ लाख ७४ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिसम्ममा कुल आय ८६ करोड २९ लाख ५६ हजार रुपैयाँ (अर्थात २.७२ प्रतिशत) ले वृद्धि भई ३२ अर्ब ५३ करोड ६७ लाख २९ हजार रहेको टेलिकमले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.