गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार परीक्षण उडान

  २०७९ वैशाख १४ गते १७:०५     विकासन्युज

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार परीक्षण उडान हुने भएको छ ।

गत फागुन ६ गते एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई) ले यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाईट) गरेको सो विमानस्थलमा नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले परीक्षण उडान गर्न लागेको हो ।

बिहीबार भने नेपाल वायुसेवा निगमको ३३० एयरबसले परीक्षण उडान गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलका प्रशासन अधिकृत विनोद सिंह रावतले बिहीबार दिउँसो ३ बजे परीक्षण उडान गर्ने जानकारी दिए ।

उनका अनुसार आगामी जेठ २ गते परेको बुद्ध पूर्णिमाको दिन अन्तर्राष्ट्रिय उडानको तयारी गरिएको छ । यसअघि नयाँ वर्षको पहिलो दिन उडान गर्ने भनिए पनि तयारी नपुगेका कारण उडान रोकिएको उनले बताए ।

बिहीबारको परीक्षण उडानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आले पनि आउने कार्यक्रम तय गरिएको उनले जानकारी दिए ।

यान्त्रिक परीक्षण उडान सफल भएपछि सबभन्दा पहिलोपटक कुवेतको जजिरा एयरलायन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि चासो दिएको थियो ।

सोही अनुसार जजिराले जेठ २ गतेदेखि हप्ताको तीन दिन कुवेतबाट गौतमबुद्ध विमानस्थलमा उडान गर्ने गरी अनुमति लिइसकेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले जजिरासँग हप्ताको तीन दिन उडान गर्ने गरी सम्झौता गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.