बजेटमा नाट्टाको सुझाव : प्रमाणपत्र धितो राखेर २० लाख ऋणदेखि डलर भित्र्याउनेलाई प्रोत्साहनसम्म

  २०७९ वैशाख १४ गते १३:५७     विकासन्युज

काठमाडौं । नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले सरकारलाई आगामी आर्थिक वर्ष २०८९/०८० को बजेट निर्माणमा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न २३ बुँदे सुझाव दिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघमार्फत सरकारलाई पठाएको सुझावमा नाट्टाले टूर ट्रेकिङ, र्‍याफ्टिङ र पर्वतारोहण गाईडहरूलगायत पर्यटन कर्मीहरूलाई नेपाल सरकारले प्रदान गरेको प्रमाणपत्र जमानी राखी १० लाख रुपैयाँसम्म सहुलियत ऋण प्रदान गर्नुपर्ने सुझाव दिएको छ ।

यस्तै, पर्यटन क्षेत्रमा संलग्न साना तथा मझौला व्यवसायीहरूलाई कम्पनी दर्ता प्रमाणपत्र तथा कर चुक्ताको प्रमाणपत्र धितो राखी २० लाख रुपैयाँसम्मको सहुलियत ऋण प्रवाह गर्नुपर्ने, आयकरलाई १ प्रतिशत र पर्यटन क्षेत्रमा भ्याट छुटको व्यवस्थालाई निरन्तरता दिनुपर्ने, वार्षिक एक लाखभन्दा बढी विदेशी मुद्रा (डलर) भित्र्याउने ट्राभल, टूर र ट्रेकिङ कम्पनीहरुलाई कर छुट तथा प्रोत्साहन दिनुपर्ने सुझाव दिएको छ ।

पर्यटन व्यवसायीहरूलाई विद्युतीय पर्यटन सवारी प्रयोगमा प्रोत्साहन गर्न कार्यक्रम ल्याउनुपर्ने, बंगलादेश तथा श्रीलंकाजस्ता देशहरुबाट पर्यटक वृद्धि भइरहेको अवस्थामा बैंकिङ पद्धतिबाट नेपालमा डलर भुक्तानी पठाउन त्यहाको सरकारले नियन्त्रण गरेकाले सरकारी तवरबाट समन्वय गरी समस्याको समाधान गर्नुपर्ने सुझावहरू राखेका छन् ।

कोभिड १९ ले पर्यटन क्षेत्र थला परेको परिस्थितिमा राष्ट्र बैंकले दिएको पुन:कर्जा कम्तीमा ५ वर्षसम्म निरन्तरता दिनुपर्ने सुझाव दिएको छ । नाट्टाले पुन:कर्जा कार्यविधिमा एक पटक पुन:कर्जा सुविधा पाएको व्यवसायले नपाउने र पछिल्लो दुई वर्षको रिटन अन इक्युटी ३ प्रतिशतभन्दा बढी हुनुपर्ने सुझाव दिएको छ ।

यस्तैगरी नाट्टाले कोभिडबाट अति प्रभावित क्षेत्रमा परेकोे पर्यटन व्यवसायीहरूले बैंकबाट लिएको ऋणको किस्ता भुक्तानीमा ढिलाई हुँदा थप शुल्क वा जरिवाना नलाग्ने व्यवस्था गरी भुक्तानीको अवधिलाई रिसेड्युल गर्नसमेत माग राखेको छ ।

पर्यटन क्षेत्रलाई कृषि क्षेत्रमा जस्तै बैंक तथा वित्तीय संस्थाहरूले निश्चित प्रतिशत लगानी गर्नुपर्ने बाध्यात्मक व्यवस्था हुनुपर्ने, अन्य उद्योगले पाए सरहको सुविधा पर्यटन व्यवसायीलाई पनि उपलब्ध गराउनुपर्ने, सरकारले ल्याएको पर्यटन काज तुरुन्त कार्यान्वयन गरी इजाजतप्राप्त टूर एण्ड ट्राभल कम्पनीमार्फत मात्रै जानुपर्ने व्यवस्था मिलाउनसमेत नाट्टाले सरकारलाई सुझाव दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.