इन्जिनियरिङ बीमादर स्थगन, पौडेलको संयोजकत्वमा सुझाव समिति

  २०७९ वैशाख १२ गते १५:२१     विकासन्युज

काठमाडौं । बीमा समितिले इन्जिनियरिङ बीमा दर सम्बन्धी निर्देशिका स्थगत गरेको छ । सरोकारवालासँग परामर्श नगरी ल्याइएको भनेर आलोचना भइरहेको निर्देशिका समिति आफैले स्थगन गर्ने निर्णय गरेको हो ।

समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिबाट जारी इन्जिनियरिङ बीमा दरसम्बन्धी निर्देशिका, २०७८ हाललाई स्थगन गर्ने जानकारी दिए ।

बीमा समितिको आयोजनामा काठमाडौंमा निर्माण व्यवसायी महासङ्घ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल लगायत विभिन्न सरोकारवालाहरूसँग भएको इन्जिनियरिङ बीमा दरसम्बन्धी छलफल कार्यक्रममा अध्यक्ष सिलवालले त्यस्तो जानकारी दिएका हुन् ।

अध्यक्ष सिलवालको सभापतित्वमा भएको उक्त छलफल कार्यक्रममा बीमा समितिबाट मिति २०७८ साल असोज ६ गते जारी भएको इन्जिनियरिङ बीमा सम्बन्धी मिनिमम रेट फर ननट्यारिफ इन्स्योरेन्स विजनेस निर्देशिका हाललाई स्थगन गरी यस सम्बन्धमा सुझाव सहितको प्रतिवेदन बुझाउन बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको संयोजकत्वमा एक उपसमिति गठन गर्ने निर्णय भएको छ ।

कार्यकारी निर्देशक पौडेल संयोजक रहेका सो उपसमितिमा निर्माण व्यवसायी महासङ्घ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान), नेपाल बीमक सङ्घ र पुनर्बीमा कम्पनीका दुई दुईजना प्रतिनिधि तथा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल हेभिइक्युपमेन्ट व्यवसायी महासङ्घ, शहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सार्वजनिक खरिद अनुगमन कार्यालय, सर्भेयर एसोसिएसन र पुनर्बीमा कम्पनीका एक एकजना प्रतिनिधि सदस्य तथा बीमा समितिका प्रतिनिधि सदस्य–सचिव रहेका छन् ।

उपसमितिले सात दिनभित्र प्रतिवेदन बुझाउने गरी समयावधि तोकिएको छ ।

इन्जिनियरिङ बीमा दरसम्बन्धी निर्देशिका विरूद्ध आन्दोलनरत निर्माण व्यवसायी महासङ्घ, इप्पान लगायतले गर्दै आएका धर्ना लगायतका विरोधका सम्पूर्ण कार्यक्रमहरू स्थगन गर्ने निर्णय भएको छ ।

कार्यक्रममा अध्यक्ष सिलवालले राष्ट्रिय सम्पत्तिको अन्तर्राष्ट्रिय क्षेत्रका उत्कृष्ट कम्पनीमा पुनर्बीमा हुन सकोस्, राष्ट्रिय सम्पत्तीको सुरक्षा होस, कुनै कारणले केही भएमा तुरून्तै बीमा दाबी रकम भुक्तानी पाइयोस् र इन्जिनियरिङ बीमा गर्दा कार्टेलिङ हुन नपाओस् भन्ने नै समितिको चासोको विषय भएको उल्लेख बताए ।

उनले इन्जिनियरिङ बीमादर निर्देशिकाका सम्बन्धमा सरोकारवाला सबैको राय, सुझावका आधारमा अगाडि बढ्न समिति तयार रहेको बताए ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले इन्जिनियरिङ बीमा दरका सम्बन्धमा सरोकारवालाहरूसँगको छलफलबाट निष्कर्ष निकालेर सहमतिका साथ अगाडि बढ्न समिति प्रतिवद्ध रहेको धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.