गभर्नर बर्खास्त गर्ने काँग्रेसको दोस्रो प्रयास, दुई अर्थमन्त्री माओवादीका

  २०७८ चैत २६ गते १३:३७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर अधिकारीलाई निलम्बन गरेको हो । मन्त्रिपरिषद् बैठकले बिहीबार नै निलम्बन गर्ने निर्णय गरेपनि सो विषय भने बिहीबार राति मात्रै बाहिरियो ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ मा गरिएको व्यवस्था अनुसार सरकारले गभर्नर अधिकारीलाई निलम्बन गरेकाे हो । नेपाल राष्ट्र बैंक एक स्वायक्त निकाय हो । सरकार वा मातहतका निकायले राष्ट्र बैंकमाथि प्रत्यक्ष रुपमा हस्तक्षेप गर्न मिल्दैन ।

गभर्नरलाई निलम्बन गरेको यो पहिलो घटना भने होइन । नेपालमा नेपाली काँग्रेसकै सरकारले योसहित दुई पटक राष्ट्र बैंकको गभर्नरलाई निलम्बन गरिसकेको छ भने एक पटक माओवादी केन्द्रको सरकारले गभर्नरलाई निलम्बन गरेको छ । माओवादी केन्द्रबाट अर्थमन्त्री बनेका बाबुराम भट्टराईले पनि गभर्नर निलम्बन गरेका थिए । नेपालसम्म नेपाल राष्ट्र बैंकका तीन जना गभर्नर सरकारको निलम्बनमा परिसकेका छन् । राष्ट्र बैंकले अहिलेसम्म १७ जना गभर्नर पाइसकेकाे छ ।

सरकारको निलम्बनमा पर्ने गभर्नरहरुमध्ये डा. तिलक बहादुर रावल, विजयनाथ भट्टराई र हालका महाप्रसाद अधिकारी हुन् । रावल र भट्टराई राष्ट्र बैंकमा आर्थिक अनियमितता गरेको भन्दै निलम्बनमा परेका थिए भने हालका गभर्नर अधिकारी सरकारलाई साथ नदिएको भन्दै निलम्बनमा परे ।

सुरुमा निलम्बनमा परेका गभर्नर हुन् डा.तिलक बहादुर रावल । उनले नेपाल राष्ट्र बैंकमा वि.स २०५६ माघ ४ गतेदेखि २०५७ भदौ १२ गतेसम्म गभर्नरका रुपमा काम गरे । राष्ट्र बैंकका एघारौं गभर्नर रहेका उनीमाथि भ्रष्टाचारको मुद्दा लागेको थियो । त्यसकारण पनि उनी बर्खास्तीमा परे ।

उनी बर्खास्त भएपछि नेपाल राष्ट्र बैंकको गभर्नर बने पूर्वसचिव दिपेन्द्रपुरुष ढकाल । ढकालले ७ महिना गभर्नरको रुपमा काम गरे । त्यसपछि भ्रष्टाचारको मुद्दाबाट सफाइ पाएका रावल पुनः राष्ट्र बैंकमा फर्किए । र, पूर्वसचिव ढकाल बाहिरिए ।

रावलले ५ रुपैँया दरको नोटको छपाइमा साधारण त्रुटि गरेबापत डिलारु कम्पनीलाई करिब ११ करोडको थप व्ययभारमा नोट पुनः मुद्रण गराएका थिए । सोही मुद्दा लागेका उनले पछि सफाइ पाएर निरन्तर ४ वर्ष गभर्नरको रुपमा काम गरे । त्यतिखेर नेपाली काँग्रेसका नेता महेश आचार्य अर्थमन्त्री थिए ।

नेपाल सरकारको निलम्बनमा परेका अर्का गभर्नर हुन् विजयनाथ भट्टराई । भट्टराई नेपाल राष्ट्र बैंकका १३औँ गभर्नर तथा गणतान्त्रिक नेपालका पहिलो गभर्नर पनि हुन् । उनी वि.स २०६१ पुस २१ गतेदेखि २०६५ माघ १६ गतेसम्म गभर्नर बनेका थिए ।

उनी पनि भ्रष्टाचारको आरोप लागेर सरकारको निलम्बनमा परेका हुन् । निलम्बनपछि उनको दोष नदेखाएपछि उनको पनि पुनर्बहाली भयो । निलम्बन हुँदा सरकारले दिपेन्द्र बहादुर श्रेत्रीलाई गभर्नरको जिम्मेवारी दिएको थियो ।

यस्तै, अहिले पनि गभर्नर अधिकारी निलम्बनमा परेका छन् । यतिबेला पनि नेपाली काँग्रेसले नेतृत्व गरेको गठबन्धन सरकार छ । संयोग त केछ भने हालसम्म निलम्बनमा परेका तीन गभर्नरमाध्ये दुई पटक नेपाली काँग्रेसको सरकारले निलम्बन गरेकाे छ भने दुई पटककाे निलम्बनमा माओवादी केन्द्रका अर्थमन्त्री रहेका छन् ।

रावललाई निलम्बन गर्ने तत्कालिन अर्थमन्त्री नेपाली काँग्रेसका नेता महेश आचार्य, विजयनाथ भट्टराईलाई निलम्बन गर्ने माओवादी केन्द्रका तत्कालिन अर्थमन्त्री बाबुराम भट्टराई (हाल जनता समाजवादीका नेता) र महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने माओवादी केन्द्रकै नेता जनार्दन शर्मा रहेका हुन् ।

गभर्नर निलम्बन गर्ने दुई पटक नेपाली काँग्रेस र एक पटक माओवादी केन्द्र देखिएपनि अर्थमन्त्री भने दुई पटक माओवादी केन्द्र र पटक नेपाली काँग्रेस देखिएको छ ।

यो बिचमा विभिन्न राजनीतिक दलको सरकारले गभर्नरलाई निलम्बन गर्न खोजेपनि सफल भने भएको हुन सकेन । गभर्नर अधिकारी २०७६ चैत २४ गते गभर्नरमा नियुक्त भएका थिए । ५ वर्षे गभर्नरको कार्यकालमा उनी २ वर्ष पुरा नहुँदै निलम्बनमा परेका छन् । उनलाई तत्कालिन अर्थमन्त्री युवराज खतिवडाको सिफारिसमा मन्त्रिपरिषद् बैठकले गभर्नरमा नियुक्त गरेको थियो ।

सरकारको निलम्बन र नजिर

सरकारले यसअघि दुई पटक गभर्नरलाई निलम्बन गरिसकेकको छ । निलम्बनमा परेका दुवै गभर्नरको पुर्नबहाली पनि भयो । यसले पनि एक किसिमको नजिर स्थापित गरेको छ ।

नेपाली काँग्रेसबाट तत्कालिन अर्थमन्त्री महेश आचार्यलाई भ्रष्टाचारको मुद्दामा डा. तिलक रावललाई निलम्बन गरे । तर, उनी निर्दोष सावित भए र राष्ट्र बैंकमा पुनः फर्किए । उनी निलम्बन पर्दा सरकारले पूर्वसचिव दीपेन्द्रपुरुष ढकाललाई गभर्नरमा नियुक्त गरेको थियो । पछि सर्वोच्च अदालतले रावलकै पक्षमा फैसला गरेपछि ढकाल राष्ट्र बैंकबाट बाहिरिए ।

माओवादी केन्द्रका सरकारका अर्थमन्त्री डा. बाबुराम भट्टराइले गभर्नर विजयनाथ भट्टराईलाई निलम्बन गरेपनि पछि सर्वोच्च अदालतले भट्टराईकै पक्षमा फैसला सुनायो र उनको पुर्नबहाली भयो ।

यी दुई नजिरले पनि गभर्नर महाप्रसाद अधिकारीको निलम्बन कमजोर बन्न सक्ने कानुनी आधार छ । उनले सरकारलाई असहयोग गरेको तथा आर्थिक अवस्था धरासायी बनाउन भूमिका खेलेको भन्दै सरकारले निलम्बन गरेको छ ।

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री गभर्नर निलम्बन गर्नु राम्रो अभ्यास नभएको र यसले देशमा अस्थिरता निम्तन सहयोग पुग्ने टिप्पणाी गर्छन् ।

‘उसाे त अहिले देशको अर्थतन्त्र सही अवस्थामा छैन, यही अवस्थामा गभर्नरलाई निलम्बन गरेर सरकारले राम्रो गरेन, यसले राम्रो नजिर बसाल्दैन, स्वायक्त निकायमाथि सरकारको प्रत्यक्ष हस्तक्षेप भएको ठहरिन्छ, अस्थिरता बढ्छ,’ उनले भने ।

यस्तै, उनले गभर्नर निलम्बन सम्बन्धि कानुन पहिले र अहिले फरक भएकोले सरकारले आफ्नो अधिकार प्रयोग गरेको बताए ।

‘पहिले पनि सरकारले गभर्नरलाई हटाएको थियो तर, अहिले र पहिलेको कानुनमा धेरै फरक छ, सरकारले आरोप के लगाएको छ र त्यसलाई सरकारले पुष्टि गर्न सक्छ कि सक्दैन भन्ने मुख्य विषय हो, सक्यो भने गभर्नर बाहिरिनु हुन्छ, सरकारले पुष्टि गर्न सक्दैन भने उहाँको पुनर्बहाली हुन्छ,’ उनले भने ।

One comment on "गभर्नर बर्खास्त गर्ने काँग्रेसको दोस्रो प्रयास, दुई अर्थमन्त्री माओवादीका"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.