गभर्नरले सूचना चुहाएको भन्दै अर्थमन्त्रीले जनाए आपत्ति, पछिल्लो दुई सातामा खोलेको एलसीको रेकर्ड मागे

  २०७८ चैत २५ गते ११:३०     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सूचना चुहाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । शुक्रबार काठमाडौंमा भएको नेपालको वित्त र अर्थ व्यवस्थाबारे राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले अर्थमन्त्रालयलाई राष्ट्र बैंकबाट आउने सुझाव मन्त्रालयमा पुग्नुभन्दा अगाडि सञ्चार माध्यममा पुग्ने भन्दै असन्तुष्टि वयक्त गरेका हुन् ।

गत मंगलबार गभर्नर अधिकारीले मुलुकको बिग्रँदो अर्थव्यवस्थालाई सुधार गरी अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई १५ बुँदे लिखित सुझाव दिएका थिए । सो सुझाव आफूकहाँ पुग्नुभन्दा अगाडि सञ्चार माध्यममा आएको भन्दै उनले गभर्नरप्रति असन्तुष्टि जनाएका हुन् ।

उनले शुक्रबार कार्यक्रममा आफ्नो धारणा राख्दै भने, ‘मलाई आउनुपर्ने सुझावहरू मभन्दा अगाडि सञ्चार माध्यमकमा पुग्छन्, सञ्चार माध्यमबाटै मैले जानकारी पाइरहेको हुन्छ, यस्तो हुनु हुँदैन, कतिपय विषयहरु बाहिर जानकारी दिन नहुने पनि हुन्छन्, त्यसले अर्थतन्त्रलाई नै समस्या पार्न सक्छ, यसमा हामी सजक बन्नुपर्छ,’ उनले गभर्नर अधिकारीलाई संकेत गर्दै भने ।

यस्तै, उनले  अनावश्यक वस्तुको एलसी रोक्ने विषयमा छलफल भएको भन्दै पछिल्लो १०/१५ दिनमा खाेलेकाे एलसीको रेकर्ड आफूलाई चाँडो दिन उनले गभर्नर अधिकारीलाई निर्देशन दिएका छन् ।

उनले क्रिप्टोकरेन्सीको विषयमा विभिन्न छलफल गरेको भए पनि राष्ट्र बैंकले यसको तथ्यांक दिन नसकेको बताए । तर, आफू पनि यसको जिम्मेवार बन्नुपर्ने उनको धारणा छ ।

अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र श्रीलंकासँग तुलना गर्दै जनतालाई आतंकित गर्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बताए । उनले अर्थतन्त्रबारे दुई तरिकाबाट टिप्पणी भइरहेको र एकाथरीले श्रीलंकाकै हालतमा पुर्‍याउनुपर्छ भनिरहेकोमा त्यसको विरोध गर्नुपर्ने बताए ।

‘सुधार्नुपर्छ भनेर चिन्ता व्यक्त भएका पनि छन् यो चिन्ता गर्नेलाई सलाम गर्नुपर्छ, त्यसकारण यहाँ श्रीलंका हुनसक्दैन, नेपाललाई श्रीलंकासँग तुलना गर्दै जनतालाई आतंकित गर्ने प्रवृत्तिलाई अन्त्य गरौं,’ उनले भने ।

मंगलबार अर्थमन्त्रीलाई पत्र लेख्दै गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्र सुधार्न अत्यावश्यक बाहेकका सम्पूर्ण बिलासी वस्तुको आयात प्रतितपत्र (एलसी) पूर्णरूपमा बन्द गर्नदेखि पेट्रोलियम पदार्थको खपत कमका लागि सातामा दुई दिन विदा दिनसम्म सुझाव दिएका थिए ।

उक्त १५ वुँदे सुझावपत्रमा गभर्नर अधिकारीले आन्तरिक उद्योगलाई प्रवर्द्धन गर्न कर नीतिमा परिवर्तन गर्नुपर्ने, विलासी वस्तुको आयात केही समयका लागि पूर्णरुपमा बन्द गर्नुपर्ने, रेमिट्यान्स बढाउन नीतिगत निर्णय लिनुपर्ने, पेट्रोलियम पदार्थको खपत घटाउन जोरबिजोर लागू गर्ने, शनिबार र आइतबार सार्वजनिक विदा दिनुपर्ने लगायत सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.