अब सातामा २ दिन सार्वजनिक बिदा, आर्थिक संकट टार्ने रणनीति

  २०७८ चैत २४ गते २३:००     विकासन्युज

काठमाडौं । सरकारले अब सातामा दुई दिन बिदा दिने भएको छ । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकले दिएको सुझाव अनुसार हप्तामा दुई दिन बिदा दिने सैद्धान्तिक निर्णय गरेको हो ।

सरकारले देशलाई आर्थिक संकटबाट बचाउन भन्दै हप्ताको दुई दिन सरकारी बिदा दिने सैद्धान्तिक निर्णय गरेको बताइएको छ । कुन-कुन दिन बिदा दिने भन्ने विषयमा भने छलफल भइरहेकाे छ ।

अर्थमन्त्रालय स्रोतका अनुसार कुन–कुन दिन बिदा दिने भन्ने बारे भने अब केही दिनभित्रै यकिन हुनेछ । ‘बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ तर, दिन यकिन भएको छैन, बुधबार र शनिबार सार्वजनिक बिदा दिने कि भन्ने विषयमा पनि छलफल भइरहेको छ,’ अर्थमन्त्रालय स्रोतले भन्यो ।

मन्त्रिपरिषद् बैठकमा आइतबार र शनिबार सार्वजनिक बिदा दिने विषयमा छलफल भएको थियो । तर, शुक्रबार आधा दिन बिदा, शनिबार र आइतबार पनि सार्वजनिक बिदा दिँदा मानिसहरु टाढा घुम्न निस्केपछि इन्धनको प्रयोग झन बढ्न सक्ने भन्ने तर्कहरु आएपछि सो विषयको छलफल पछिको लागि सारेको बुझिएको छ ।

बुधबार र शनिबार सार्वजनिक बिदा दिने विषयमा लगभग सरकार तयार बनेको स्रोतको भनाइ छ । स्राेतका अनुसार सम्भवत: सरकारकाे याे निर्णय आगामी बैशाखदेखि लागु हुनेछ । राष्ट्र बैंकले हप्ताको दुई दिन सरकारी कार्यालय बन्द गरेर आर्थिक संकटको सामना गर्न सरकारलाई सुझाव दिएको थियो ।

सातामा एक दिन बिदा थप्दा इन्धनमा हुने करोडौँ रुपैयाँ घाटा कम हुनुका साथै महँगीमा इन्धन आयातसमेत घट्ने भन्दै आयल निगमले पनि उक्त प्रस्ताव अघि सारेको थियो । प्रतिनिधि सभाको ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति’ले समेत इन्धन खपत कम गर्न जोरबिजोर प्रणालीमा यातायात सञ्चालन गर्न सकिने विषयमा छलफल गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.