टेलिकमको प्रबन्ध निर्देशकका लागि तीन जनाको नाम सिफारिस

  २०७८ चैत २४ गते १७:०२     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार तीन जनाको नाम मन्त्रीपरिषद् बैठकमा सिफारिस गरेको हो । आज बस्ने मन्त्रिपरिषद् बैठकले मन्त्रालयले पठाएको तीन जनामध्येबाट एक जनालाई टेलिकमको प्रबन्ध निर्देशक छनोट गर्नेछ ।

मन्त्रालयले छनोटमा परेका ९ जनामध्येबाट बुद्धि आचार्य, संगीता पहाडी र सुनिल पौडेलको नाम सिफारिस गरेको हो ।

मन्त्रालयले रिक्त रहेको प्रबन्ध निर्देशकका लागि गत मंसिर २२ गते सूचना सार्वजनिक गरेको थियो ।

यसअघि मन्त्रालयले आवेदन दिएका मध्येबाट गोरखा सिराञ्चोकका अर्जुृनबाबु ढकाल, काठमाडौंका अमलेन्दु नारायण सिंह, गन्यापधुरा डडेल्धुराका दीपक बहादुर शाही, काठमाडौंका नगेन्द्रकुमार दास, सिद्धार्थनगर रुपन्देहीका प्रदीपराज उपाध्याय, काठमाडौं टोखाका बुद्धिप्रसाद अचार्य, खैरेनिटार तनहुँका सुनिल पौडेल, महालक्ष्मी ललितपुरका सुरजसिंह थापा र काठमाडौंकी संगीता पहाडी अर्याललाई छनोट गरी अन्तवार्तामा बोलाएको थियो ।

अन्तवार्तामा सहभागी भएकामध्ये संगीता पहाडी र सुरजसिंह थापा टेलिकमका कर्मचारी, आचार्य टेलिकमका पूर्व प्रबन्ध निर्देशक तथा दास र उपाध्याय पूर्व कर्मचारी हुन ।

यस्तैगरी, राष्ट्रिय सूचना प्रविधि केन्द्रका सुनिल पौडेल, काठमाडौं उपत्यका खानेपानी संस्थानका पूर्व प्रमुख अर्जुनबाबु ढकाल र त्रिभुवन विश्वविद्यालयको सूचना प्रविधि तथा इनोभेसन सेन्टरका पूर्व प्रमुख दीपक बहादुर शाही रहेका छन् ।

टेलिकम गएको पुस २२ देखि नेतृत्वविहीन अवस्थामा छ । तत्कालीन प्रबन्ध निर्देशक डिल्लीराम अघिकारीको कार्यकाल सकिन लाग्दै गर्दा नयाँ नियुक्तिको प्रक्रिया अघि बढाएको भएतापनि अदालतमा रिट दायर भएसँगै रोकिएको थियो ।

टेलिकम प्रबन्ध निर्देशक नियुक्ति निर्देशिका संशोधन गर्दै सीमित व्यक्तिलाई नियुक्त गर्न लागेको भन्दै सर्वोच्चमा रिट परेको थियो । सर्वाेच्चले रिट खारेज गरेसँगै मन्त्रालयले तीन जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.